कुमार कार्की (कतार)
नेपाली जनसम्पर्क समिति कतारको प्रथम महाधिवेशनको वर्षगाँठको उपलक्ष्यमा वनभोज तथा रक्तदान कार्यक्रमको आयोजना आगामी २२ जनवरीका दिन गर्ने भएको छ । नेपाली काँग्रेसको भातृसंस्थाको रुपमा नेपाल बाहिर विशाल संजाल बनाएको नेपाली जनसम्पर्क समिति कतारले गत साल नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा तथा युवा नेता गगन थापाको उपस्थितीमा पहिलो महाधिवेशन सम्पन्न गरेको थियो ।
कतारको अलखोर गार्डेनमा आयोजना हुने सो वनभोज कार्यक्रममा कतारमा कार्यरत राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र प्रति झुकाव राख्ने सम्पूर्णलाई उपस्थिति हुनका लागि अनुरोध गरेको छ । समितिले जारी गरेको सूचनामा जनाईए अनुसार वनभोज कार्यक्रमसँगै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ । सो अवसरमा रक्तदान गर्न चाहनेहरुले भुपती भट्टराई, युवराज पाठक र बिमल सुवेदीलाई सम्पर्क गर्नुपर्ने जनाएको छ ।
नेपाली जनसम्पर्क समिति कतार आम नेपाली श्रमिकहरुको हितका लागि विभिन्न च्यारिटी कार्यक्रमहरु गर्दै आईरहेको छ । कतारमा दुख परेका श्रमिकहरुको समस्या समाधान तथा आपतमा परेका नेपालीहरुलाई सहयोग तथा उद्धार गर्न नेपाली जनसम्पर्क समितिले कतारमा नै अग्रणि भूमिका निर्वाह गर्दै आईरहेको छ ।