नबराज पन्थी “पाल्पाली” (कुवेत)
महिला बिनाको संसार अधुरो छ । महिला-पुरुष बराबर, महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन, आदी-आदी कुरामा वकालत हुन्छ दैनिक सभा र सेमिनारको बिषय बन्छ । मन्त्री होस् या नेता महिला सम्बन्धी सँघ-संस्थाका प्रतिनिधि सबैको मुखमा महिला हक-हित र अवसर चुनौतिको बिषयमा भाषण गरिरहेका हुन्छन । सुन्तली धामी जस्ता महिलाहरुको ब्यथा पनि ज्युकोत्यु छ, विश्व २१ औ सताब्दिमा पुगिसकेकोछ । हामी नेपालीको सोंचाइ अझै पनि उही पुरानै महिलाले गर्ने काम भनेको घरको, महिलाले घर समल्नु पर्छ, सन्तान पैदा गर्ने, हुर्काउने आदी । कतै कही केही कुरामा अघी सरि कुरा गरे पोथी बासेको राम्रो हुँदैन भन्न पनि पछी पर्दैन हाम्रो समाज ! यही रुढीग्रस्त सोचमा अल्झी रहेकोछ आखिर किन भ्इरहेको छ यस्तो ? बिज्ञान र प्रविधीको बिकास कम्पुटर आधुनिकताले सुसज्जित यो युगमा आइपुग्दा पनि हाम्रो सोच कहाँ छ ? महिला हिंसा र अत्याचारको बिषयमा चर्चा गरेर सकिंदैन सिङ्गो पुस्तक नै तयार हुन्छ । दुई चारजना महिला मन्त्री भए, केही उच्च पदमा पुगे, कसैले जागिर खाए भन्दैमा शहर बजारलाई हेरेर नेपालको गाउँघर अनी कुनाकाप्चालाई बिर्सनु हुँदैन ।
महिला र पुरुषको स-अस्तित्वबाट निर्माण भएको हाम्रो समाजमा पैत्रिक सोंच भएका पुरातनवादी ब्यक्तिहरु खास गरेर आफ्नो बड्प्पन देखाउनको लागि हिंसाको आगो बालिरहेका हुन्छन । त्यही आगोमा आफ्ना आमा, दिदी, बहिनी, छोरी, बुहारी सबैलाई हालेर सेकाइरहेका हुन्छन । उनिहरुले दु:ख, पिडा, यातना अरुकै आमा, दिदि, बहिनी, छोरी, बुहारीलाई दिएको हो भन्ने सोच्लान तर आखिरमा ति सबै महिला नै हुन । जसले जसलाई पिडा, यातना दिएपनी आखिर हिंसा एउटी महिला माथि भएको हुन्छ । त्यसैले महिला माथि हुने हिंसा एउटा परिवारको मात्र समस्या होइन यो त समाजको अनी देशको नै मुलभुत समस्या हुन आउछ ।
नेपालमा खास गरेर महिला माथि शारीरिक, मानशिक, धार्मिक, आर्थिक तथा राजनीतिक हिंसा हुने गरेको छ । महिलाको इच्छा बिपरित शारिरिक सम्बन्ध राख्नु, बलत्कार गर्नु, उनिहरुलाई पिट्नु-कुट्नु आदी शारीरिक हिंसा हुन भनें विभिन्न डर त्रास देखाएर धम्काउनु, दबाब दिनु मानसिक हिंसा अन्तर्गत पर्दछन । नेपाली समाजमा अझै पनि बोक्सी प्रथा, दाइजो प्रथा कायमै रहेको छ । यिनै प्रथाको नाममा महिलाहरुलाई बोक्सीको आरोप लगाएर दिसा पिसाब खुवाइन्छ, मरणासन्न हुनेगरी पिटिन्छ, गाउँ निकाला गरिन्छ । त्यसैगरी दाइजो प्रथाको नाममा घरमा बुहारीलाई परिवारका सदस्यहरुले अनेक यातना शोषण गर्ने गरेको पाईन्छ । बुहारीलाइ धम्क्याउने, आगो लगाइ जलाएर मार्ने जस्ता निन्दनिय काम हुने गरेको बारम्बार सुन्नमा, पढ्नमा पाईन्छ । महिलाहरु आर्थिक तथा राजनीतिक हिंसाको शिकार पनि हुने गरेका छन । कानुनमा बराबर हैसियत दिईएपनी, व्यावहारमा छोरा र छोरीको बराबर हक नहुनु, महिलाले आफ्नो नामको सम्पति घरजग्गा आफु खुशीले बेचबिखन गर्न नपाउनु आदी पनि एक किसिमको हिंसा अन्तर्गत पर्दछन ।
साथै नेत्रित्व तहमा पुगेका महिलाहरुको अवस्थालाई हेर्दा उनिहरु जति नै योग्य र सक्षम हुँदाहुँदै पनि उनिहरुको आवाज कसैले नसुनी दिने महत्वपूर्ण पदमा राख्न् नमान्नु वा उनिहरुलाई त्यती भरोसा नगर्नुले पनि महिला शोषण भएको बुझिन्छ । राजनीतिक रिसईविको कारणबाट पनि धेरै महिलाहरुले ज्यान गुमाएका छन । हुन त कानुनमा महिला अधिकार संरक्षण नगरेको होइन, नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तवनामा नै देशमा बिधमान जातिय, लैंगिकयिय, क्षेत्रिय र वर्गिय समस्या समाधान गर्न राज्यको अग्रगामी पुनसंरचना गर्न संकल्प गरिएको छ । यसैगरी धारा १३ ले लिङ्गको आधारमा भेदभाब नगरिने ब्यवस्था गरिएको छ, साथै सशक्तीकरण तथा बिकासको लागी कानुनद्वारा विशेष ब्यवस्था गर्न सकिने कुरा उल्लेख छ ।
यसैगरी, यसै संविधानको भाग ४ को धारा ३५ को उपधारा (८) मा महिला वर्गको शिक्षा, स्वास्थ र रोजगारीको बिशेष ब्यवस्था गरी राष्ट्रिय बिकासमा अधिकाधिक सहभागि बनाउने निती राज्यले लिएको छ । तर यि सबै कानुनका पानाहरुमा मात्र सिमित छन ब्यवहारमा लागु हुन सकेका छैनन । महिला सम्बन्धी समस्यामा कुनै परिवर्तन हुनसकेको छैन । कानुन मात्र बनाएर हुँदैन त्यसको कार्यान्वयन प्रभावकारी हुनु जरुरी हुन्छ । कानुनी सचेतता प्रत्येक मान्छेमा हुनु पर्दछ । नेपालमा सबै कुरा झेल्दै र सहदै आएका महिलाहरु बिदेशमा समेत बिभिन्न तवरले अत्याचारमा परिरहेका हुन्छन रोजगारिको निम्ती खाडी मुलुक जाने महिलाहरुले भोग्नु परेको समस्याको त चर्चा गरेर साध्य छैन । यसमा पनि घरेलु काममा जाने महिलाहरुको समस्या झनै कष्टकर पिडादायी छ । कतीले घर मालिकबाट हुने शारीरिक मानशिक शोषण खेप्नु परेको छ, यातना सहन परेको छ, त कतिलाइ दलालले झुक्यार कोठि-कोठिमा पुर्याएका छन त कतिले बिना गल्ती जेलको चिसो हावा खानु परेको छ । कसैले दु:ख, पिडा, यातना र अत्याचार सहन नसकेर ज्यान नै फाल्ने गरेका छन यस्ता कयौं महिलाको समस्या छन । नेपालमा नयाँ संबिधान बन्दैछ, यसमा महिलाको हक-हितको ग्यारेन्टी हुनुपर्दछ । बैदेशिक रोजगारिमा जाने महिलाहरुको लागि पनि सजिलै नेपालबाट जाने आउने सुबिधा, काम र दामको पक्का अनी सम्बन्धित देशमा गएर बिचलित हुन नपरोस । नेपाल सरकार बिभिन्न मुलुकमा खुलेका राजदूताबास अनी सरकारले खटाएका राजदूतबाट पनि ध्यान पुग्नु जरुरी छ ।
An appeal against women violence,,at santibatitika Ratnapark. On Saturday (26th Jan.).be there to listen us crying!