टिन सुन्दरीले राष्ट्रपतिलाई भेटे


रिद्धि-सिद्धि मिस टिन— २०६६ का प्रतियोगी युवतीले राष्ट्रपति डा. रामवरण यादवलाई भेटेका छन् । प्रतियोगिता आयोजक संस्था मुभी हाउसले प्रतिस्पर्धी २९ युवती र राष्ट्रपतिबीच बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रमको सुरुवातमा आयोजक संस्थाका प्रमुख सन्तोष सापकोटाले राष्ट्रपति यादवलाई आफ्नो संस्थाका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । उनले आफ्नो प्रतियोगिताको उद्देश्य खुलाउँदै आफूहरूलाई राष्ट्रपतिले भेट्ने समय दिएकामा आभार प्रकट गरेका थिए । राष्ट्रपति यादवले पनि आफूलाई भेट्न आएकामा उनीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

समयको पाबन्दीका कारण प्रतियोगिताका पाँचजना प्रतिस्पर्धीलाई मात्र राष्ट्रपतिसामु जिज्ञासा राख्ने मौका दिइएको थियो । प्रतियोगी नम्बर एक सोनी अधिकारीले राष्ट्रपति यादवलाई देश विकासमा टिनएजरबाट कस्तो अपेक्षा राख्नुभएको छ भन्ने जिज्ञासा राखेकी थिइन् । उनको जिज्ञासामा राष्ट्रपति यादवले युवावर्गले आफ्नो शिक्षा र प्रतिभाको बलले देश निर्माणमा योगदान पुर्‍याउनुपर्ने बताउँदै भने, प्रतिस्पर्धाको जमाना छ । युवा पुस्ताले आफूलाई असल मान्छे बनाउन प्रयत्न गर्नुपर्छ । तपाईं जुन क्षेत्रमा हुनुहुन्छ, त्यहीँबाट मुलुक निर्माणका लागि कदम चाल्नुपर्छ । सबै युवावर्ग राष्ट्रिय एकता, आपसी सद्भाव कायम गर्दै राष्ट्रिय हितका खातिर सिन्सियर भएर लाग्नुपर्छ ।
 
अर्की प्रतियोगी प्रियंका श्रेष्ठले डाक्टर, इन्जिनियरजस्ता दक्ष जनशक्ति स्वदेशमा काम नगरी विदेश पलायन भएका छन्, उनीहरूलाई मुलुकमै राख्नका लागि कस्तो योजना छ ? भन्ने जिज्ञासा राखेकी थिइन् । उनको जिज्ञासामा राष्ट्रपति यादवले आफ्नो अनुभव बताउँदै, त्यो युद्धको असर भएको बताए । उनले भने, मुलुकमा चलेको १०-१२ वर्षे युद्धका कारण ज्यान, अर्थ तथा रोजगारीको सुरक्षा नभएपछि दक्ष जनशक्ति बाहिरियो । अहिलेसम्म पनि मुलुकमा राजनीतिक स्थिरता छैन । राजनीतिक स्थिरता कायम भएपछि सबै समस्या समाधान हुन्छ । राष्ट्र र राष्ट्रियताप्रति एकीकृत हुन युवाको भूमिका के हुनुपर्छ भन्ने जिज्ञासा बाजुराबाट मिस टिनमा प्रतिनिधित्व गरेकी शैलेश्वरी मल्लले राखेकी थिइन् । उनको जिज्ञासामा राष्ट्रपति यादवले राष्ट्रमा अहिले धेरै तरल अवस्था रहेकाले संविधान निर्माणका लागि युवावर्गका सुझाब, सल्लाह र सहयोग अपरिहार्य हुने बताए । उनले भने, मधेसी, पहाडिया, जनजाति, आदिवासीभन्दा पहिला हामी नेपाली हौं भन्ने भुल्नु हुँदैन । राष्ट्र र राष्ट्रियताका लागि सम्पूर्ण नेपाली एक हुनुपर्छ । प्रतियोगिताकी अर्की प्रतिस्पर्धी अनु पाठकले राष्ट्रपतिसामु कहिले बन्छ नयाँ नेपाल ? यसका लागि हामी युवाले के गर्नुपर्छ भन्ने जिज्ञासा राखेकी थिइन् ।

उनको सो जिज्ञासामा राष्ट्रपति यादवले नेपाल त सधैँ पुरानै रहने, तर आफूहरूले सिस्टम नयाँ बनाउन खोजिरहेको बताउँदै भने, नेपाल त उही हो । तर, मुलुक चलाउने सिस्टम नयाँ बनाउन खोजिरहेका छौँ हामी । यस्तो नेपालको कल्पना छ, जहाँ सबैलाई समान अधिकार होस् । प्रत्येक नेपालीले मौलिक हकअधिकारको पूर्ण उपयोग गर्न पाऊन् । आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, सबै समानता कायम होस् । मुलुकमा शान्ति होस् । उनले प्रत्येक नेपालीले मेरो देश नेपाल भनेर महसुस गर्नुपर्ने बताए । सबैमा यस्तो भावना जागृत भएमा नयाँ नेपाल टाढा छैन, यादवले भने । नयाँ नेपालको प्रत्याभूति छिट्टै हुने कुरामा विश्वस्त भएको बताउँदै उनले भने, कसैले नयाँ नेपाल भन्छन्, कसैले पुरानो नेपाल भन्छन्, भन्न दिनुहोस् उनीहरूलाई ।

राष्ट्रपति यादवले धैर्यका साथ प्रतिस्पर्धी युवतीका जिज्ञासाको जवाफ दिएका थिए । सवा एक घन्टाको अवधिमा राष्ट्रपतिले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवन भोगाइ र संघर्षका अनुभवसमेत सुनाएका थिए । म कर्मयोगी हुँ । मैले सधैँ कर्म गरें । फलको आशा राखिनँ,’ राष्ट्रपति यादवले नयाँ पुस्तालाई जागरुक हुन प्रेरणा दिँदै भने, मुलुक युवा पुस्ताका काँधमा छ । जो जुन क्षेत्रमा छ, त्यसैबाट देश निर्माणका लागि योगदान गर्नुपर्छ । तपाईंहरूबाट पनि मैले यही आशा राखेको छु । २५ पुसमा हुने अन्तिम स्पर्धाका लागि छनोट भएका युवतीलाई विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट गराई उनीहरूको अनुभव सुन्ने तथा प्रेरणा लिने उद्देश्यले प्रतियोगी युवतीलाई राष्ट्रपतिसँग भेटघाट गराइएको आयोजक संस्थाका प्रमुख सापकोटाले बताए । युवतीहरू पनि मुलुकका राष्ट्रपतिसँग भेटेर जिज्ञासा राख्न र सँगै फोटो खिचाउन पाएकामा दंग परेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.