२० पुस, माओवादी शिविरमा रहेका अयोग्य लडाकूलाई बस भाडा र बाटो खर्च दिएर आगामी बिहिबारबाट बिदाई गरिने भएको छ । अयोग्य लडाकू बहिर्गमन तथा पुनःस्थापनासम्बन्धी निर्देशक समितिको आज बसेको बैठकले अयोग्य लडाकूको बहिर्गमन प्रक्रिया सिन्धुलीको शिविरबाट गर्ने निर्णय गरेको छ । समितिका संयोजकसमेत रहनुभएका शान्ति तथा पुनः निर्माणमन्त्री रकम चेम्जोङले बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै यसअघि भएको त्रिपक्षीय सहमति अनुसार नै उनीहरुको बिदाई प्रकृया सुरु गर्न लागिएको बताउनुभयो । माओवादी पक्षले समय मागेपछि यसअघि निर्धारण गरिएको समयमा एक हप्ता ढिला गरिएको हो ।
अयोग्य लडाकूलाई कक्षा १२ सम्मको शिक्षा र व्यावसायिक तालिमको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । बाहिर गइसकेपछि अयोग्य लडाकूको अनुगमन संयुक्त राष्ट्रसङ्घले एक वर्षसम्म गर्नेछ । शान्तिमन्त्रीको अध्यक्षतामा सोमबार अपरान्ह बसेको वैठक बहिर्गमन हुने लडाकूलाई परिचयपत्र दिने र त्यो परिचयपत्रको आधारमा एक वर्षसम्म उनीहरूले चाहेको बेला व्यावसायिक तालिम लिन सक्ने व्यवस्था गरिएको छ । लडाकूको व्यक्तिगत इच्छामा पुनःस्थापना गरिने मन्त्री चेम्जोङले बताउनुभयो ।
समितिका सदस्यसमेत रहनुभएका एकीकृत नेकपा -माओवादी)का सभासद् डा. इन्द्रजित राईले शिविरबाट बहिर्गमन हुने लडाकूको पार्टीले व्यवस्थापन गर्ने बताउनुभयो । अनमिनले चार हजार आठजना माओवादी लडाकूलाई अयोग्य प्रमाणित गरेको थियो । जसमा सिन्धुलीको शिविरमा ३७१ अयोग्य लडाकू रहेका छन् । बहिर्गमन प्रक्रिया सिन्धुली, चितवन, नवलपरासी, इलाम, सुर्खेत हुँदै रोल्पामा पुगेर आगामी माघ २४ गते सकिने बताइएको छ ।