लामो समयदेखि भारतीय नक्कली नोट नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले विशेष निगरानी राखेका नेसनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारीलाई पक्राउ गरेको छ । उनका निजी अंगरक्षक काशीराम अधिकारीको बयानका आधारमा अन्सारीसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । तीमध्ये २ पाकिस्तानी र २ नाइजेरियन नागरिक रहेका छन् ।
प्रहरीले युनुस अन्सारीलगायत ४ जनाको साथबाट ३ केजी ७ सय ग्राम लागूऔषध खैरो हेरोइनसमेत बरामद गरेको छ । अन्तर्राष्ट्रिय बजारमा खैरो हेरोइनको मूल्य १ करोड रुपियाँभन्दा माथि रहेको छ । प्रहरीको विशेष अनुसन्धान टोलीले गोप्य सूचनाको आधारमा युनुसलाई ललितपुरको ताल्छीखेलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
शुक्रबार बिहान करिब ३ बजे प्रहरीले युनुसका निजी अंगरक्षक काशीराम अधिकारीसँगबाट थापाथलीस्थित ब्लरुबर्ड डिपार्टमेन्टल स्टोरको ६ सय ११ नम्बरको कोठामा दुइवटा सुटकेसमा राखिएको २५ लाख ४४ हजार ५ सय रुपियाँ भारतीय नक्कली नोटसहित पक्राउ गरेको हो । बरामद गरिएकामध्ये १ हजार रुपियाँको ९ सय ९८ थान र ५ सय रुपियाँको १ हजार ९ सय ९३ थान भारतीय नक्कली नोट रहेको प्रहरीले जनाएको छ । ब्लरुबर्डको सो कोठा युनुस अन्सारीले प्रयोग गर्दै अँएको र व्यक्तिगत भएको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ । सोही कोठा प्रयोग गरी अन्सारीले लामो समयदेखि लागूऔषध र नक्कली नोटको धन्दा गर्दै आएको प्रहरीको दाबी छ ।