प्रहरी-सुकुम्बासी भिडन्तमा पाँचको मृत्यु


कैलालीको बलिया गाविसस्थित डुडेझारी जंगल अतिक्रमण गरी बसेका सुकुम्बासी र अतिक्रमण हटाउन गएका प्रहरीबीच भएको झडपमा तीन जनाको ज्यान गएको छ । सुकुम्बासीले नियन्त्रणमा लिएका प्रहरी जवान पदमसिंह ऐरीको सुकुम्बासीले हत्या गरेका छन् । झडपमा परी सुर्खेत तातोपानीका २२ वर्षिय नरेन्द्र विकको ज्यान गएको छ । यसैगरी झडपमा घाइते सुकुम्बासीतर्फा सञ्जय ढकालको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको छ ।

उता माओवादीका कैलाली जिल्ला सेक्रेटरी उत्सवका अनुसार सो घटनामा खैलाड गाविसका रूपलाल डगौरा र ठेगाना नखुलेका लट्टे विकको प्रहरीको गोलीबाट घटनास्थलमै मृत्यु भएको छ । यी दुई जनाको मृत्युको प्रहरीले भने पुष्टि गरेको छैन । सुकुम्बासीद्वारा टाउकोमा बन्चरो प्रहार गरिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक कल्याणसिंह महराको लखनउमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक विश्वबन्धु पौडेलले जानकारी दिनुभयो ।

झडपमा प्रहरी जवान देवसिंह विष्ट, इलाका प्रहरी कार्यालय चौमालाका सुइटे खड्का, अञ्चल प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षँक राजेन्द्र बम, सशस्त्र प्रहरी हबलदार कृष्णबहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान रामबहादुर शाही, खेमराज जोशी, हर्क पाल, मनोरथ जोशी, प्रहरी नायब निरीक्षक जगदीश कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

यसै गरी सुकुम्बासी तर्फ सुगरखाल गाविस सोल्टाका निर्मल धमाला, चौरीका गोपाल विक, रामशिखरझाला गणेशपुरका सन्तबहादुर खत्री, मसुरियाका रन्दले थापा, पथरैयाका रनप्रसाद न्यौपाने, कृष्ण थापा, भीम थापा, चिसापानीका तपेन्द्र गहतराज घाइते भएका छन् । प्रहरीले सयौं राउन्ड अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो । सुकुम्बासीका तर्फाट घरेलु हतियार प्रयोग भएका छन् ।

डुडेझारी घटनालाई लिएर धनगढीमा वाईसीएलले जिल्ला प्रशासन कार्यालय अछामको बा१झ ७६६३ नम्बरको जीप, कृषि विकास कार्यालयको बा१झ ६५५८ को जीप तथा बा१ग ३७९८ र नम्बर नखुलेको अर्को मोटरसाइकल जलाएको छ । यसै गरी सुकुम्बासीले नेपाल टेलिकमको जीप अत्तरियामा जलाएका प्रहरीले जनाएको छ । सुकम्बासीले प्रहरी फर्केपछि इलाका वन बल्चौरको कार्यालयमा पनि आगो लगाइ दिएका छन् भने केही सुकुम्बासीहरू साँझ जंगलक्षेत्रमै फर्केको स्थानीय धनराज विकले जानकारी दिएका छन् ।

डुडेझारी जंगलबाट सुकुम्बासी हटाउन ३ सय जनपद, ३ सय सशस्त्र र १ सय वन सुरक्षाकर्मी परिचालित भएका थिए । मंसिर १० गतेदेखि कैलालीको बलिया गाविसको त्रिशक्ति सामुदायिक वनमा एकीकृत माओवादीको भ्रातृ संगठन अखिल नेपाल सुकुम्बासी संघको नेतृत्वमा २० हजारजति मानिस जंगलक्षेत्रमा बसेका थिए।चुरेको काखमा अवस्थित त्रिशक्ति वनबाट हट्न वन प्रशासनले र्सार्वजनिक सूचना गरे पनि सुकुम्बासीहरूले नहट्ने अडान राखेपछि बल प्रयोग गरेको हो ।

शुक्रबार बिहानै सुरक्षाकर्मी आउने थाहा पाएपछि सुकुम्बासी संघले लम्कीमा लट्ठीसहित जुलुस निकालेको थियो । झडपका कारण शुक्रबार बिहानैदेखि पूवपश्चिम राजमार्ग अवरुद्ध भएको छ । करिब डेढ दर्जन घाइतेको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेकोमा उनीहरूमध्ये कतिपयलाई गोली लागेको भए पनि खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

उता प्रहरी नायब महानिरीक्षक विमला थापाले शुक्रबार नै एक वक्तव्य जारी गरी घटनामा प्रहरीका चार थान हतियारसमेत लुटिएको बताउनुभएको छ । घटनाको विरोधमा माओवादीले अनिश्चितकालीन कैलाली बन्दको घोषणा गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.