दामोदर नेपाल (काठमाण्डौ, नेपाल)
प्रवासमा रही नेपाली पत्रकारीता गरीरहेका विभिन्न देशका नेपाली पत्रकारहरु नेपाल पत्रकार महासंघको समन्वय र पहलमा संगठीत भएका छन् ।
यही कार्तिक १७ गते पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन गरी ‘प्रवासी नेपाली पत्रकार सञ्जाल’ को स्थापना भएको जानकारी औपचारीक रुपमा प्रेस विज्ञप्तीद्धारा सार्वजनिक गरीएको छ । प्रवासी पत्रकारहरुलाई संगठित गर्ने हेतु भर्खरै मात्र सम्पन्न प्रवासी पत्रकारहरुको विश्व सम्मेलनमा जारी गरीएको घोषणा पत्र पनि ‘प्रवासी नेपाली पत्रकार सञ्जाल’ का संयोजक जाकिर हुसैनले पढेर सुनाउनु भएको थियो ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष धर्मेन्द्र झाले देश विदेशमा रहेका पत्रकारहरुलाई संगठीत र सूसुचित गर्न पत्रकार महासंघले पहिले नै ६ वटा देशमा सम्पर्क शाखा र २ वटा प्रस्तावित शाखा गरी संगठन विस्तार गरीरहेको जानकारी दिदै ‘प्रवासी नेपाली पत्रकार सञ्जाल’ को भूमिका देश विदेशमा रहेका पत्रकारहरुका भावना एक आपसमा वाडचुड गरी देश विदेशको जानकारी दिदै देशको परिस्थितीलाई सहज बनाउन पनि महत्वपूर्ण हुने वताउनु भयो ।
पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य उजिर मगरको संचालन रहेको उक्त कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष रमेश विष्ट, केन्द्रिय सदस्य सितल शाह र ‘प्रवासी नेपाली पत्रकार सञ्जाल’ संजालका सदस्यहरु दामोदर नेपाल, सन्तोष दाहाल, सपना वस्यालको पनि उपस्थिती रहेको थियो ।
सो पत्रकार सम्मेलनमा वाडिएको प्रेस विज्ञप्तीलाई यहाँ जस्ताको तस्तै राखिएको छ ।
प्रेस विज्ञप्ती
मितिः १७/०७ /२०६६
संसारका विभिन्न कुनामा छरिएर रहेका नेपाली पत्रकारहरुको हक हीत संरक्षित गर्न र उनीहरुको आवाजलाई बुलन्द गर्न सम्पूर्ण पत्रकारहरु एकजुट हुनु आवश्यक ठानी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको संयोजनमा विश्वभरका प्रवासी नेपाली पत्रकारहरुको विश्व सम्मेलन गत अक्टोबर ११ र १२ मा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो । उक्त सम्मेलनले १४ बुँदे घोषणा पत्र जारी गर्दै प्रवासी नेपाली पत्रकारहरुलाई संगठित गर्न एक सञ्जालको आवश्यकता महशुस गरी नेपाल पत्रकार महासंघ यूएई सर्म्पर्क समितिका अध्यक्ष मोहम्मद जाकिर हुसैनको संयोजकत्वमा नेपाल पत्रकार महासंघमा आवद्ध प्रवासी नेपाली पत्रकारहरुको साझा मञ्चका रुपमा नौ सदस्यीय “प्रवासी नेपाली पत्रकार सञ्जाल” (Expatriate Nepali Journalists Network, ENJN) नामक मञ्च गठन गरेको छ ।
उक्त सञ्जालका अन्य सदस्यहरुमा कुमार कार्की – कतार, भुषण घिमिरे – जापान, पुरु जोशी – कोरिया, सुन्दर आले – मलेशिया, भरतराज पौडेल – अष्ट्रेलिया, सन्तोष दाहाल – बहर्राईन, सपना बस्याल – मलेशिया महिला सदस्य र दामोदर नेपाल रहेका छन् ।
उक्त सञ्जालले प्रवासी नेपाली पत्रकारहरुको पेशागत हक हित संरक्षण गर्दै उनीहरुलाई संगठित गर्ने तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रवासी नेपाली पत्रकारहरुका बीचमा पुलको काम गर्दै पत्रकारहरुको वृहत्तर हितमा सञ्जाललाई समर्पित गर्ने जनाएको छ ।
उक्त सम्मेलनले पारित गरेका प्रस्तावहरुलाई सबै सामु उजागर गर्नु सान्दर्भिक हुने ठानी प्रवासी नेपाली पत्रकारहरुको प्रथम विश्व सम्मेलनले निम्न अनुसारको काठमाडौं घोषणा पत्र जारी गरेको व्यहोरा सबैमा जानकारी गराउंदछौं ।
प्रवासी नेपाली पत्रकारहरुको काठमाण्डौ घोषणापत्र २०६६
प्रवासी नेपाली पत्रकारहरुको ११ र १२ अक्टुवर २००९, (२०६६ असोज २५ र २६ गते) काठमाण्डौमा सम्पन्न प्रथम विश्व सम्मेलनले, विश्वभरी छरिएका पत्रकारहरुको हकहित र नेपाली पत्रकारहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै यो ..प्रवासी नेपाली पत्रकारहरुको काठमाण्डौ घोषणापत्र २०६६.. जारी गर्दछ,
*यो सम्मेलन नेपाल पत्रकार महासंघमा आवद्ध प्रवासी नेपाली पत्रकारहरुको साझा मञ्चका रुपमा “प्रवासी नेपाली पत्रकार सञ्जाल” (Expatriate Nepali Journalists Network, ENJN) नामक मञ्च गठन गर्ने प्रस्ताव पारित गर्दछ,
*विश्वभरिका प्रवासी पत्रकारहरुको समस्या र प्रवासमा रहेका नेपाली पत्रकार तथा सञ्चार माध्यमलाई प्रवासमा संगठित गर्न नेपाल पत्रकार महासंघको मातहतमा रही कार्य गर्न क्षेत्रीय समिति बराबरको अधिकार प्रत्यायोजन गर्ने गरी सोही स्तरको प्रवासी समिति निर्माण गर्न नेपाल पत्रकार महासंघलाई सुझावसहित यो सम्मेलन माग गर्दछ,
*प्रवासी नेपाली पत्रकारहरुको हकहितका लागि विश्वव्यापी नेपाली पत्रकार कल्याणकोषको स्थापना गर्न पहल गरिने छ,
*नेपाल पत्रकार महासंघको विधानमा प्रवासी नेपाली पत्रकारहरु तथा विदेश स्थित शाखाहरुको स्पष्ट उल्लेख गराउनका लागि विधान संशोधन गर्न यो सम्मेलन माग गर्दछ,
*विभिन्न देशबाट संचालित वेभ पत्रिका, छापा पत्रिका, एफएम तथा टेलिभिजनहरुलाई व्यवस्थित गर्ने तथा गुणस्तर वृद्धि र पत्रकारिताको मूल्य र मान्यता अनुरुप नै सञ्चालित गर्न यो सम्मेलन आग्रह गर्दछ,
*प्रवासी नेपाली पत्रकारहरुको पहिचान गरी ’emको हकहित तथा अधिकार संरक्षण गर्ने दिशामा एकजुट हुन नेपाल पत्रकार महासंघलाई सकृय वनाउने र नेपाल सरकारसँग पहल गरिने छ,
*नेपाली पत्रकारहरुद्धारा संचालित अनलाईन मिडियाहरुको दर्ता गर्ने प्रकृया तथा अनलाईन पत्रकारहरुलाई प्रेस पासका लागि पहल गर्न महासंघ र नेपाल सरकारलाई यो सम्मेलन माग गर्दछ,
*नेपाल पत्रकार महासंघको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फ निर्वाचित हुने व्यवस्था गरी प्रवासी नेपाली पत्रकारहरुलाई मताधिकार र केन्द्रीय समितिमा समावेश गर्ने व्यवस्था गर्नुपर्ने यो सम्मेलन माग गर्दछ,
*हालसम्म संचालनमा आएका अनलाइनलाई महासंघले नियमित नियमन र अनुगमन गर्न यो सम्मेलन माग गर्दछ,
*श्रमजीवी नेपाली पत्रकारहरुको हकमा सबै संचार गृहमा श्रमजीवी पत्रकार ऐन तत्काल कार्यन्वयन गर्न यो सम्मेलन माग गर्दै महासंघले गरिहेको पहलमा ऐक्यबद्धता जाहेर गर्दछ,
*पेशागत मर्यादा कायम राख्दै पत्रकार आचारसंहिता कार्यन्वयन गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ,
*मुलुकमा बढ्दै गएको राजनीति गतिरोध तत्काल अन्त गरी दलहरु मिलेर समयमै नयाँ संविधान लेखेर विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न यो सम्मेलन दलहरुलाई आग्रह गर्दछ,
*नेपाल भ्रमण वर्षसन् २०११ सफल पार्न प्रवासी पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ,
*गैह्र आवसीय नेपाली संघ -एनआरएन)को अभियनलाई संचारमाध्यमबाट रचनात्मक प्रचारप्रसार गर्न यो सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ,
मोहम्मद जाकिर हुसैन
संयोजक / प्रवासी नेपाली पत्रकार सन्जाल