६-असोज, काठमाडौ । तेस्रो मुलुकमा बसोवास गरिरहेका गैरआवासीय नेपालीको तीनदिने चौथो विश्व सम्मेलन आगामी असोज २७ गतेदेखि काठमाडौँमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न परराष्ट्र मन्त्री सुजाता कोइरालाको संयोजकत्वमा वरिष्ठ सरकारी अधिकारीहरु, उद्यमी, व्यवसायी, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी र लब्धप्रतिष्ठित व्यक्ति सम्मिलित उच्चस्तरीय आयोजक समितिसमेत गठन भएको छ ।
गैरआवासीय नेपाली सङ्घको विश्व सम्मेलन यसअघि सन् २००३, २००५ र २००७ मा सम्पन्न भइसकेको छ । सङ्घको निर्वाचन प्रत्येक दुई वर्षमा हुने प्रावधान छ। सम्मेलनमा करिब ५०० गैरआवासीय नेपालीहरु सहभागी हुने बताइएको छ । चौथो विश्व सम्मेलनका अवसरमा वैदेशिक रोजगारी र विप्रेषण, आर्थिक कूटनीतिमा गैरआवासीय नेपालीको योगदान तथा नेपालको आर्थिक र सामाजिक विकासमा गैरआवासीय नेपालीको भूमिकाका विषयमा छलफल हुनेछ । यसै सम्मेलनले चौथो कार्यकालका निम्ति अध्यक्षको निर्वाचनसमेत गर्नेछ । गैरआवासीय नेपालीका सम्बन्धमा आवश्यक व्यवस्थापन गर्ने उद्देश्यले सरकारले गैरआवासीय नेपाली ऐन, २०६४ र नियम, २०६६ जारी गरिसकेको छ। परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत सरकारले गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्नेतर्फ कार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले गैरआवासीय नेपालीको दक्षता, प्रविधि, सीप र आयआर्जनबाट नेपालको सामाजिक आर्थिक विकास हुने र गरिबी निवारणमा मद्दत पुग्ने विश्वास लिएको छ ।
aba kun chor aaune ho netritwa ma