४ असोज, काठमाडौं । मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले पत्रकार ऋषि धमला, रामशुभक महतो र वीरेन्द्र के. एमको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । हातहतियार तथा खरखजाना मुद्धामा परेका पत्रकार धमला आजै राती हुने प्रधानमन्त्री माधवकुमार नेपालको अमेरिका भ्रमण टोलीमा सहभागी हुनुहुनेछ । बैठकपछि सूचना तथा सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता शङ्कर पोखरेलले सशस्त्र द्वन्द्वको क्रममा भएको क्षतिका सम्बन्धमा मूल्याङ्कन गरी पीडित पक्षलाई क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी गराउनुभएको छ ।
यसका लागि शान्तिमन्त्रीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गर्ने र यसले गरेको सिफारिसअनुसार क्षतिपूर्ति दिने निर्णय भएको बताउनुभयो । समितिमा गृह, अर्थ, महिला तथा बालबालिका, स्थानीय विकासलगायतका मन्त्रालय सँलग्न रहने जनाईएको छ । मन्त्रिपरिषद्ले संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्को प्रस्ताव नम्बर १३२५ र १८०२ को सम्बन्धमा निर्देशन समिति गठनगरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । हाल रहेको सबै अस्पताल विकास समितिहरुलाई नयाँ ढङ्गबाट काम सञ्चालन गर्न ती समितिहरूलाई विघटन गर्ने निर्णय पनि भएको मन्त्री पोखरेलले जानकारी दिनुभयो । साथै बैठकमा मधेश आन्दोलनलगायत विभिन्न आन्दोलनमा सङ्घर्षका क्रममा घाइते, अपाङ्ग भएका लागि क्षतिपूर्ति दिने निर्णय भएको छ, यसका लागि अनुगमन समितिले अनुगमन गरिरहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटनामा २ व्यक्तिसहित एकसय दुई खसीबोका मरे
४-असोज, कपिलवस्तु, खसीबोका बोकेको ट्रक शनिबार राति कपिलवस्तुको बाणगङ्गा–१ बैरियामा दुर्घटना हुँदा एकसय दुई वटा खसीबोका मरेका छन् । प्रहरी चौकी पिपराका अनुसार पश्चिमबाट पूर्व आउँदै गरेको लु १ ख १९७३ नम्बरको ट्रक साइकलयात्रीलाई जोगाउने क्रममा पल्टिँदा ती खसीबोका मरेका हुन् । ट्रकमा दुईसय ६७ खसीबोका थिए। सो दुर्घटनामा स्थानीय एकजना घाइते भएका र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, चितवनमा ट्रकको ठक्करबाट पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ । वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख २४७१ नम्बरको ट्रकको ठक्करबाट बिहान साढे ६ बजे पूर्वी चितवनको चैनपुरस्थित ज्यामिरेमा अन्दाजी ५५–६० वर्षीय एक पुरुषको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारार्थ मेडिकल कलेज, भरतपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो। उनको अहिलेसम्म सनाखत हुन सकेको छैन । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। ट्रक आफ्नो नियन्त्रणमा रहेको भए पनि चालक फरार रहेको प्रहरीले जनाएको छ । यसैगरी घरमा लाइन जोड्ने क्रममा करेन्ट लागेर दिव्यनगर गाविसका स्थानीय शिव दराईको उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
hi all