नेपालमा झाडापखालाको माहामारी थप नौजनाको मृत्यु


साउन १८ गते । मध्यपश्चि-माञ्चलको विकट पहाडी जिल्ला जाजरकोटबाट फैलिएको झाडापखालाको महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाको प्रकोपले महामारीको रूप लिएपछि जाजरकोट, रुकुम, दैलेख, दाङलगायतका जिल्लामा दुई सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने सुदूरपश्चिमाञ्चलमा पनि आइतबारसम्ममा ४८ जनाको ज्यान गइसकेको छ । झाडापखालाबाट रुकुममा तीन, दैलेखमा तीन, जाजरकोटमा एक, र बैतडीमा एक जना गरी थप आठ जनाको आइतबार मृत्यु भएको छ भने दोलखामा एक जनाको शनिबार मृत्यु भएको छ ।
रुकुममा शनिबार राति थप तीन जनाको मृत्यु भएपछि झाडापखालाबाट मर्नेको सङ्ख्या ४७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार यसरी मृत्यु हुनेहरूमा शोभा-१ का ५५ वर्षिय गोपाल सुनार, छिवाङ्ग-३ का ७० वर्षिय रगवीर सुनार र गोतामकोट-५ का ४८ वर्षिय खिउरी बुढा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुकुमले महामारी नियन्त्रणका निम्ति विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी औषधि आपूर्ति गरिरहेको बताएको छ तर विभिन्न महामारी प्रभावित क्षेत्रमा औषधि अभाव रहेको स्थानीयवासीको गुनासो छ ।
यसैगरी, झाडापखालाबाट जाजरकोटमा मृत्यु हुनेमा भगवती गाविस वडा नं. ६ का ६१ वर्षिय दीपकुमार शाही रहेका छन् । यो सहित जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या १८६ पुगेको छ । दैलेखमा मृत्यु हुनेमा भैरीकालिकाथुम गाविस वडा नं. ८ का ४५ वर्षिय अभि जैसी र सात वर्षिय बालक उपेन्द्र विष्ट तथा लकान्द्रा गाविस वडा नं. ९ का ७२ वर्षिय मनबहादुर शाही रहेका छन् । उनीहरूको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले पनि पुष्टि गरेको छ । यो सहित झाडापखालाबाट मृत्यु हुनेको सङ्ख्या दैलेखमा १५ पुगेको छ । दैलेखका विकट भैरीकालिकाथुम, लकान्द्रालगायत एक दर्जन गाविस झाडापखालाबाट प्रभावित भएका छन् । दैलेखमा झाडापखाला बढ्दै गएपछि शनिबार जिल्ला प्रशासन कार्यालयको अगुवाइमा रोग नियन्त्रण गर्न सर्वपक्षीय बैठक बसेको छ । बैठकमा रोग नियन्त्रणका लागि गाउँगाउँमा गाविस सचिवको संयोजकत्वमा नियन्त्रण समिति गठन गर्ने निर्णय गरिएको छ । सो समितिले जनचेतना जगाउने र बिरामीको उपचारको व्यवस्था गर्ने काम गर्ने स्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।
यस्तै, सुदूरपश्चिम क्षेत्रमा झाडापखाला फैलिएदेखि आइतबारसम्ममा मर्नेको सङ्ख्या ४८ पुगेको छ भने त्यस क्षेत्रका हजारौँ बासिन्दा प्रभावित भएका छन् । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा एक सातायता झाडापखालाबाट १४ जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिममा झाडापखाला फैलिन नदिन उच्च सतर्कता अपनाए पनि प्रकोप नियन्त्रणमा आउनुको सट्टा फैलिदै गएको छ । वर्षात सुरु भएपछि मूलमा जम्मा भएको पानी पिउनाले झाडापखालाको प्रकोप झन् बढी फैलिदै गएको महामारी रोग विशेषज्ञ खकेन्द्र भण्डारीले बताउनुभयो ।
यस्तै, बैतडीको सर्लामी गाविस-५ मा आइतबार झाडापखालाले ४५ वर्षिय मनीराम लुहारको मृत्यु भएको छ । योसहित बैतडीमा झाडापखालाले मर्नेको सङ्ख्या १० पुगेको जिल्ला जनस्वास्थ कार्यालय बैतडीले जनाएको छ । मध्यपश्चिम र सुदूरपश्चिममा फैलिएको झाडापखाला मध्यमाञ्चलको दोलखामा पनि देखापरेको छ । यस्तै दोलखा जिल्लाको जुगू गाविसमा आइतबार झाडापखालाका कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्ला जुगू गाविस वडा नं. ८ निवासी २७ वर्षिया मञ्जु बस्नेत रहेकी छन् । शनिबार दिउँसोबाट एक्कासि उल्टी र झाडापखाला सुरु भएपछि सिकिस्त बिरामी परेकी मञ्जुलाई उपचारका लागि मैनापोखरीतर्फ लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको हो । मृतककी दुई वर्षकी नाबालिका छोरी रहेकी छिन् । यसैगरी, झाडापखालाका कारण सोही स्थानकी ३५ वर्षिया शान्ति बस्नेत सिकिस्त बिरामी परेकी छिन् । उनको गुमु खोला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । यता झाडापखालाका कारण महिलाको मृत्यु भएको खबर प्राप्त भएपछि जिल्ला स्वास्थ्य कार्यालय दोलखाबाट जुगू गाविसतर्फ औषधिसहितको स्वास्थ्यकर्मीको टोली खटिएको बताइएको छ ।
यसैगरी, अछामको सदरमुकाम मङ्गलसेन-लगायत आसपासका एक दर्जनभन्दा बढी गाविसमा झाडापखाला माहामारीका रूपमा फैलिएको छ । झाडापखालाका बिरामीहरूको गाउँमा उपचार राम्रोसांग नहुने भएकाले जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीहरूको भीड बढेको जिल्ला अस्पताल अछामका प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले बताउनुभएको छ । मङ्गलसेन, बस्ती, बलिगाउ, बुढाकोट, हिच्मा, ढुङ्गाचाल्ना, तोषी, कमलबजार, मुली, वीरपथ र कुन्तीबण्डाली गाविसमा दिनहुं झाडापखालाका बिरामीहरू बढिरहेको स्थानीयवासीले बताएका छन् । यस्तै, डडेल्धुराको बेलापुर गाविसमा फेरि झाडापखाला फैलिएको जानकारी जिल्ला अस्पताल डडेल्धुराका डा. प्रकाश क्षेत्रीले दिनुभएको छ । महामारी नियन्त्रण भएको केही दिन नबित्दै पुन सो गाविसमा १२ जनाभन्दा बढी झाडापखालाबाट पीडित भएको डा. क्षेत्री बताउनुहुन्छ । यसैबीच, पाँच साताअघि फैलिएको झाडापखाला कारण डडेल्धुरामा आइतबार बिहान थप एक महिलाको मृत्यु भएको छ ।डडेल्धुरामा झाडापखालाबाट मर्नेको सङ्ख्या छ पुगेको छ । भागेश्वर गाविसमा शुक्रबारदेखि फैलिएको झाडापखालाका कारण सोही गाविस वडा नं.१ बस्ने ५६ वर्षिया मगनी लुहारको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रंहरी कार्यालयका प्रमुख चक्रबहादुर सिंहले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.