अर्जुन सुवेदी, काठमाडौँ, भदौ २८ । कुबेरसिंह राना नेपाल प्रहरीका २३ औँ महानिरीक्षक नियुक्त भएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीबीचको विवादका कारण एक महिनादेखि प्रहरी महानिरीक्षक कसलाई नियुक्त गर्ने भन्ने अन्यौल थियो । आजको मन्त्रिपरिषद्को बैठकले रानालाई महानिरीक्षक नियुक्त गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री राजकिशोर यादवले सत्तारुढ दलहरुबीच सहमतिमै यो निर्णय गरिएको बताए ।
त्यसैगरी भूमि सुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशीले निर्णय सर्वसम्मतिले गरिएको बताए । ‘प्रधानमन्त्रीले आज जसरी पनि नियुक्ति गर्नुपर्ने बताउनु भएकोले उहाँकै इच्छा अनुसार नियुक्ति गरिएको हो । बैठकमा कुनै विवाद भएन’, उनले बताए ।
गृहमन्त्री विजयकुमार गच्छदार भीष्म प्रसाइँलाई महानिरीक्षक बनाउनु पर्ने अडानमा थिए । प्रधानमन्त्री र गृहमन्त्रीबीचको यही विवादका कारण अवकाश हुनु एक महिनाअघि विदा बस्ने प्रचलन अनुसार रवीन्द्रप्रताप शाह विदा बस्न पाएका थिएनन् । शाहको कार्यकालको अन्तिम क्षणसम्म पनि विवाद कायमै थियो ।
आजै दिउँसो सञ्चारकर्मीहरुले गृहमन्त्री गच्छदार मन्त्रिपरिषद्को कार्यालयबाट रिसाएर निस्केको देखेका थिए। त्यहाँबाट उनी गृह मन्त्रालयमा केही समय बसेका थिए। त्यहीँ रहेका बेला प्रधानमन्त्री बाबुराम भट्टराईले फोनमा कुरा गरेपछि उनी बैठकमा सहभागी हुन आएको स्रोत बताउँछ। स्रोतका अनुसार प्रधानमन्त्रीले आफैले प्रस्ताव गरेर भए पनि आज आइजिपी नियुक्त गर्ने जानकारी उनलाई गराएका थिए। पुनः मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन आएका गृहमन्त्रीले आफ्नै सहमतिमा नयाँ आइजिपी नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लाने बताएका थिए।
यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री विजयकुमार गच्छदारबीच वार्ता भएको थियो। त्यसैगरी सत्तारुढ मधेसी मोर्चामा आवद्ध दलहरुबीच पनि गृहमन्त्रीको प्रस्ताव बारे छलफल भएको थियो।
Source: Nagariknews














































