एयरपोर्टमा ‘डग स्क्वाड’का कुकुर हिँड्दा भुस्याहाहरु धावा बोल्छन्


श्याम भट्ट, काठमाडौं, असार १८- बाँदर र पन्छीहरूको समस्या झेल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब भुस्याहा कुकुरसमेत थपिएका छन्। विमानस्थलको आगमन होस् या प्रस्थान दुवैतिर कुकुरहरूले अड्डा जमाएका छन्। विमानस्थलको सुरक्षा जिम्मा पाएका ‘डग स्क्वाड’का तालिमप्राप्त कुकुरहरू हिँड्दा भुस्याहाहरूले सामूहिक धावा बोल्छन्। सुरक्षाकर्मीलाई आफ्ना कुकुर सम्हाली नसक्नु हुन्छ। प्रस्थान र आगमनमा उनीहरूको बाक्लो उपस्थिति भएपछि बानी परेका स्वदेशीलाई आश्चर्य नलागे पनि पर्यटकले डराई डराई हिँड्नु परेको छ।

विमानस्थल प्रशासन र सुरक्षाको जिम्मेवारी पाएका प्रमुखहरूलाई भने यसबारे थाहै रहेनछ। उनीहरु अर्काको जिम्मेवारी भएको भन्दै पन्छिए। ‘यसबारे मलाई जानकारी छैन,’ विमानस्थल महाप्रबन्धक रतीशचन्द्र लाल सुमनले भने, ‘त्यस्तो छ र? फोटो छ तपाईंसँग? छापिदिनुस् न, सबैलाई थाहा हुन्छ।’
नागरिक संवाददाताले यसबारे बताएपछि भने उनी भुस्याहा कुकुरको समस्यामा सहमत भए। ‘धावन मार्गमा बाँदरले सताइरहेका बेला अब कुकुर पनि थपिएछन्,’ सुमनले भने, ‘विमानस्थलबाहिरको सबैखाले सुरक्षा जिम्मा त प्रहरीको हो।’
विमानस्थलमा पशुपतिनजिक र वरपरबाट बाँदर र पन्छीले सताउन थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आफ्ना १४ जना सिकारी खटाएको छ। सिकारीले हरदम धावनमार्गको सुरक्षामा चनाखो हुनु परेकाले बाहिर ध्यान दिन नसकिएको सुमनको भनाइ छ।
‘अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थानमा भुस्याहा कुकुरका झुण्ड हुनु कदापि राम्रो होइन,’ उनले भने, ‘तर के गर्ने?’
त्रिभुवन विमानस्थल सुरक्षागार्ड प्रमुख डिआइजी नारायण बस्ताकोटीले भुस्याहा कुकुर हटाउने जिम्मा प्रहरीको नभएको बताए। ‘विमानस्थलभित्र हामीले ए ग्रेडको सुरक्षा दिएका छौं,’ बस्ताकोटीले भने, ‘बाहिर पनि हामीले सुरक्षा व्यवस्था दह्रो नै बनाएका छौं तर कुकुरहरू कताबाट पस्छन्, थाहै हुँदैन।’
भैपरी आउने यस्ता समस्याको समाधानको जिम्मा विमानस्थल प्रशासनको भएको बस्ताकोटीले बताए। ‘हामीले पर्यटकलाई सताउनेलगायत आपराधिक कार्य नियन्त्रण गरेका छौं। विमानस्थलमा थरीथरीका मानिसहरूको समूह छन्,’ उनले नागरिकसँग भने, ‘अब कुकुरका बारेमा कसरी सोच्ने?’
चारैतिरबाट तार र जालीले घेरिएको विमानस्थलमा मुल स्वागतद्वारबाहेक पशुपतिबाट सेनाको क्याम्पतिर जाने वैकल्पिक बाटोमात्रै छ। ‘कुकुरहरूले हैरान गरेपछि चिया पकाउन राखेको तातोपानी खन्याएर धपाउँछौं,’ विमानस्थलका व्यवसायीले गुनासो गरे, ‘एकछिनमा फेरि आइहाल्छन्।’ सेनाको क्याम्पभन्दा मुल ढोकाबाटै कुकुरहरू आउने सम्भावना भएको ती व्यवसायीले बताए।

Source: Nagarik

About these ads

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s