अन्तर्वार्ता:
२९ सेप्टेम्बर २०११ । नेपालको संगित दुनियाँमा एक चर्चित नाम “राजेश पायल राई” जसको नाम नै एक पहिचान हो, परिचय हो । वहाँको बारेमा धेरै व्याख्या गरेर हामीले मुर्खता अपनाउनु बराबर हुनेछ । मेचीदेखी महाकालीसम्म र बालकदेखी बृद्वसम्म मात्र नभई विश्वका हरेक मुलुकमा छरिएर रहेका नेपालीहरुको मुखमा वहाँका कोकिल कण्ठले गाएका गितहरु गुञ्जने गर्दछन । राई अहिले लालीगुराँस साँस्कृतिक परिवारको आयोजनामा ३० सेप्टेम्वर २०११ का दिन, प्रस्तुत हुन गईरहेको दशैं-तिहार बिशेष “लालीगुराँस पायल म्युजिकल शो” मा मुख्य अतिथि कलाकारको रुपमा तिन दिन अगावै कुवेत आईसक्नु भएको छ । यसै अवसरमा कुवेतनेपाल डटकमले वहाँसँग केही समय भलाकुसारी गर्ने मौका पाएको थियो । आउनुहोस्, चर्चित गायक राजेश पायल राईसँग कुवेतनेपाल डट कमका प्रधान सम्पादक जय आले, सह-सम्पादक शिवराम पौडेल र संवाददाता ईन्द्र भूषालले वहाँका सांगितिक यात्रादेखी लिएर वास्तविक जीबनमा समेत झाँक्ने प्रयास गर्दै लिएको अन्तर्वार्ताको पुरा भाग जस्ताको तस्तै पढौं:
सर्वप्रथम यहाँलाई कुवेतनेपाल डटकमको तर्फबाट स्वागत गर्न चाहन्छौं ।
१) आरामै हुनुहुन्छ होला । तिन दिनको कुवेत बसाईमा कस्तो अनुभब गर्नुभएको छ र यहाँको सांगितिक वातावरण कस्तो पाउनु भयो ?
- हजुर आरामै छु । रमाइलो अनुभव भईरहेको छ । बिदेश घुम्नु शायद युज टु नै भईसक्यो । खासगरेर बहराईन, कतार, ओमान, जोर्डन लगायत सबै अरब राष्ट्रहरु म घुमिसकेकोले खासै धेरै फरक त होइन तर यहाँका नेपाली दाजुभाइहरु अतिनै मेलमिलापपुर्वक बस्नुहुँदो रहेछ । अन्य देशहरुमा जाँदा खासै त्यस्तो देखिएन तर यहाँको रमाइलो पारिवारिक वातावरण देख्दा साह्रै नै खुशी लागेको छ । केही ठाउँहरु घुम्ने मौका पनि पाएं त्यसमा पनि रमाइलो नै लाग्यो र यहाँको सांगितिक बातावरण पनि रमाईलै होला भन्ने लागेको छ ।
२) मध्यरातको सन्नाटामा कुवेत बिमानस्थल आईपुग्नु भयो, रातैभरी नसुतेर कुवेतवासी नेपालीहरुले बिमानस्थलमा गरेको स्वागत कस्तो लाग्यो तपाईंलाई ?
- कुवेत बिमानस्थलमा आउँदा जुन किसिमको स्वागत मैले पाएं, यो मेरो अनुभबमा हङ्कङ् पछिको दोस्रो लाग्यो । यती धेरै नेपालीहरु र सँघ-संस्थाका साथीहरु आउनु भएको थियो म अचम्मै परें । हङकङमा पनि यस्तै नेपालीहरु हुनुहुन्छ, नेपाली वेब पत्रिकाहरु छन, कुवेतमा पनि रहेछन यहाँका पत्रकारहरुले जसरी १२/१४ घण्टा काम गरेर पनि समाजलाई सूचना दिनुभएको रहेछ यो नै एउटा चेतनशिल समाजमा हुनुपर्ने गुण हो मलाई साह्रै खुशी लागेको छ । मेरा धेरै साथीहरुले पनि कुवेतमा भएका नेपाली सँघ-संस्था र नेपाली अनलाईन मिडियाले गरेको कामको खुलेर प्रशंसा गर्नु भएको थियो । कुवेतको नेपाली परिवेश साँचै नै सोंचेभन्दा रमाइलो लागेको छ ।
३) कुवेत आउने क्रममा तपाईंको यात्रा अली कष्ठकर रह्यो भन्ने सुनियो, कृपया नढाँटी बताईदिनुस न ?
- हजुर, त्यती धेरै त होइन र अब यात्रा गर्ने बानी नै भईसक्यो, यात्रामा सानातिना दु:खहरु त हुन्छन् नै । खास मेरो लकेज हराएको थियो अहिले मैले पाई पनि सकें । ट्रान्जिट पनि धेरै लामो थिएन तर यो फ्लाईट त्यती सुबिधायुक्त भने रहेनछ । तर नो प्रोब्लोम, जब म बिमानस्थलमा आउँदा यती धेरै कुवेतवासी नेपालीहरुको स्वागत र माया पाएं कि लकेज हराएको रिस पनि त्यही बेला मेटिएको थियो मेरो ।
४) भनेपछी समग्रमा यहाँ खुशी नै हुनुहुन्छ भन्दा अन्यथा हुँदैन ?
- हजुर बिल्कुल, म एकदम खुशी छु । एउटा पारिवारिक बातावरणमा आफ्नै परिवार जस्तो भएर बस्न पाएको छु । अन्य मुलुकहरुमा जाँदा होटलमा एक्लै पनि बसिन्थ्यो त्यही अनुसारको व्यवस्था गरेका हुन्थे साथीहरुले तर यहाँ एउटा परिवार जस्तो भएर सबै सुबिधा पाउँदा छुट्टै किसिमको रमाइलो लागेको छ । सबैले अति नै राम्रो ख्याल गर्नुहुन्छ । बारम्बार के खानुहुन्छ, के मन पर्छ भनेर सोधिरहनु हुन्छ सबैले तर म कच्याङ्-मच्याङ् खाईनरहने मान्छे हेर्नुस् एक पटक खाएपछी चुपचाप अर्को समयसम्मको लागि बस्न सक्छु । म एउटा परिवारमा जस्तो यहाँहरु सबैको माया र ममता पाउँदा ज्यादै खुशी छु ।
५) जब राजेश पायल राई कुवेत आउँदै हुनुहुन्छ भनेर मिडियामा खबर आयो तबदेखी सबै तपाईंको प्रतिक्षामा थिए । कस्ता कोशेलीहरु लिएर आउनु भएको छ त.. खासगरी योङ्ग जेनेरेशन जसले तपाईंका गितहरु अधिक मात्रमा सुन्ने गर्छन्, का लागि ?
- कुवेतमा मेरो पहिलो प्रस्तुति हुने भएकोले धेरै-थोरै पुराना-नयाँ गीतहरु नै गाउने छु । प्राय: अन्य मुलुकहरुमा जाँदा; बिचारछोके, सागरसरी चोखो माया, दर्शन नमस्ते, तिनतारा तिनतिर, बल्लै भेट भो आङ्गदामे, शिरै फुल सिरबन्दी, तिमी जस्तै सुबासिली जस्ता गीतहरु गाउने गर्छु र यहाँ पनि यिनै गीतहरु प्रस्तुत गर्नेछु र सागरसरी चोखो माया गाउँदा यहिँका स्थानिय आर्टिस्ट्स या अडियन्ससँगै गाउने प्रयास गर्नेछु ।
६) सांगितक प्रस्तुतिकै सिलसिलामा अहिलेसम्म कती देश घुम्नु भयो ठ्याक्कै भन्न सक्नु हुन्छ ?
- म धेरै ठाउँमा पुगे । कुवेत आएपछी गल्फ कन्ट्रिहरुमा इराक छाडेर सबै पुरा भयो । हङ्कङ् १७ पटक गएं, कोरिया ७ पटक अनी अस्ट्रेलिया, मलेसिया, जापान, थाईल्याण्ड, सिंगापुर, युके लगायत धेरै देशहरु जहाँ नेपालीहरुको बसाईं बाक्लो छ त्यहाँ गएको छु ।
७) तपाईंको सांगितिक यात्रामा प्रवेश ?
- म बि.सं. २०४७/४८ देखी यो क्षेत्रमा प्रवेश गरेको हुँ ।
८) तपाईंको सबैभन्दा चर्चामा आएको गित ?
- फैलियो माया दुबो सरी ।
९) अहिलेसम्म तपाईंका कतिवटा एल्बम बजारमा आए ?
- मेरो पहिलो एल्बम मुर्झना २०५२ सालमा आएको थियो भनेपछी अहिलेसम्म १२ वटा अडियो र ३ वटा भिडियो एल्बम बजारमा आईसकेका छन ।
१०) नेपालको अहिलेको अवस्थामा एल्बम निकाल्दा खर्च समेत उठाउन मुश्किल हुन्छ भनेर नाम कमाएका कलाकारहरुले हाम्रै अगाडि भनेका छन “जसको प्रत्यक्ष कारण फ्लास मेमोरी र मोबाईल हुन” राजेश पायल राईलाई कत्तिको असर पारेको छ यसले ?
- समयअनुसार संगीतप्रेमीहरुको चाहनालाई आत्मसात गर्दै राम्रा गितहरु बजारमा निकाल्न सकियो भने अझैसम्म पनि नेपाली संगीतको बजार राम्रो छ र म यसलाई धरासायी छ भन्ने मान्दिन । हाम्रो मुख्य ब्यापार भनेको सिडी र एलबमहरु नै हो । मेरो दर्शन नमस्ते ५८,००० भन्दा बढी बिक्री भईसकेको छ भनें राई ईज किङ्ग ३५ हजारको बिचमा बिक्री भएको छ र अरु पनि एल्बमहरु बिक्री भए र हुँदैछन । राम्रो गर्यो भने डराउनु पर्दैन । अहिले म यती ब्यस्त छु कि मलाई कुनै फुर्सदै छैन । हो कतिपय समस्याहरु छन जसले गर्दा गायकहरुलाई समस्या परेको छ त्यसलाई समाधान गर्नुपर्छ जस्तो कपी राइटका बिषयहरु भए । फेरिपनी राजेश पायललाई त्यस्तो समस्या परेको छैन किनकी लाखौं मेरा संगीतप्रेमी श्रोताहरुले मलाई र मेरो गितलाई मन पराईदिनु भएको छ र मैले पनि समय अनुसारको गित संगीत दिंदै आएको छु ।
११) हजुर एक सफल गायक । संगितप्रेमी नयाँ पुस्तालाई संगितप्रती झुकाब बढाउन केही त्यस्ता कार्ययोजना छन भबिस्यमा ?
- यो प्रश्नको लागि धन्यवाद । अहिलेको ब्यस्त समयको कारणले गर्दा आफुले चाहँदा चाहँदै पनि मनले चाहेको बिषय पुरा गर्न पाएको छैन । नेपाली गीत, संगितलाई अन्तर्राष्ट्रिय स्तरको बनाई बाहिरी बजारमा लानुपर्छ र अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानुपर्छ भन्ने मेरो मान्यता रहेको छ । त्यसको लागि एउटा स्टुडियो, संगित बिधालय खोल्ने बिचार गरेको छु ताकी धन नभएको कुनै नेपालीको छोरा राम्रो संगितप्रती जागरुक हुँदाहुँदै आफ्नो चाहनाबाट बन्चित नहोस् र नेपाली संगीतलाई बलियो बनाउने काममा अगाडि बढ्न सकोस भन्ने मेरो बिचार हो । आशा गरौ, मेरो यो सपना सपनामात्र नभएर पुरा पनि हुनेछ ।
१२) नेपालमा धेरैजसो कलाकारहरु गायक या नायक पैसा कमाउन जोड्तोड्ले लाग्ने तर सामाजिक सेवाको भाब त्यती पाईंदैन । तपाईं त झन एउटा सफल गायकको रुपमा स्थापित भईसकेको व्यक्तित्व, कतै सामाजिक सेवामा पनि समर्पित हुनुहुन्छ कि ?
- अवश्य । म सामाजिक सेवामा पनि रुची राख्दछु, मेरो जन्म जिल्ला खोटाङ्गको मनमाया एअरपोर्टलाई रु. ५०,००० सहयोग गरेको छु, कोसोभोमा सहादत प्राप्त गर्ने बलराम राईको दुर्गा चोकमा बनाईएको सालीकको लागि कार्यक्रम गरेर नै ७ लाख दिएको छु । मिर्गौला पीडित थिक बहादुर खत्री र बुइपा गबिसलाई रंगशाला बनाउनको लागि पनि खुलेर आर्थिक सहयोग गरेको छु र अन्य कती ठाउँमा सहयोग गरिसकेको छु । एक्निधी दललाई पनि सहयोग गर्ने सोच बनाएको छु । मेरो बुवा पुर्व जिल्ला सभापति भएर पनि होला मेरो सहयोग गर्ने जाँगर बढेको र म आफैलाई पनि अरुको दु:खमा सहयोग गर्न पाउँदा खुशी लाग्छ कि मैले गरेको केही योगदानले अरुलाई राम्रो हुन्छ, अरुको जीबन बच्छ भने किन नगर्ने भन्ने लाग्छ र मैले पैसा कमाउन नसक्नु यो पनि एउटा कारण हो । जेहोस् म अरुलाई सहयोग गर्दा खुशी छु पैसा भन्ने कुरा सधैं हातमा रहँदैन । अझै धेरै अरुको दु:खमा सहयोग गर्न सक्ने इश्वरले मलाई बातावरण बनाई दिउन भन्ने प्रार्थना गर्दछु ।
१३) तपाईं राई ईज किङ्ग फिल्मको नायक र अन्य फिल्महरुमा समेत नायकको भूमिकामा हुनुहुन्छ, वास्तवमा तपाईं गायक कि नायक या दुबै ?
- म राई ईज किङ्ग, दर्शन नमस्ते लगायत गुण्डाराजमा मुख्य नायकको भूमिकामा अभिनय गरेको छु । र अन्य थुप्रै फिल्महरुमा साना-तिना भूमिकाहरु निर्वाह गरेको छु । तर मलाई आज यो स्थानसम्म ल्याई पुर्याएको मैले गाएका मेरा गितहरुले नै हुन त्यसैले मलाई नायक भन्दा गायक नै भनिदिनु भए राम्रो हुने थियो ।
१४) २०४७/४८ तिरको राजेश पायल राई र अहिलेको राजेश पायल राईलाई तुलना गर्दै पछाडि फर्केर हेर्दा कुनै त्यस्ता भुल्नै नसक्ने क्षणहरु छन तपाईंको जीबनमा ?
- हजुर धेरै छन । हेर्नुस् जब म पहिलो पटक कोरिया गएको थिएं त्यती बेला म अरुको गीत गाएको थिएं र पनि मलाई सबैले माया गर्नुभयो मेरो स्वरलाई मन पराउनु भयो र म सफल भएर फर्कें । आज मैले कुन गीत गाएको थिएं भनेर सम्झनु पर्छ किनकि धेरै गाईसकें । त्यस्तै अर्को एउटा एकदमै नरमाइलो पक्ष छ र म लुकाउन पनि चाहन्न । जब म सन् १९९८ मा हङ्कङमा कार्यक्रम गर्न गएको थिएं र म कार्यक्रम स्थलमै लडेको थिएं र कार्यक्रम नै रद्द गरेर पनि फर्केको छु । तर पनि म ग्रेटफुल छु हङ्कङबासी नेपालीहरु प्रति कि जसले मलाई अझै धेरै माया गर्नुहुन्छ । र फेरिफेरी बारम्बार मलाई बोलाई रहनु भयो म उहाँहरुलाई धेरै सम्झिन चाहन्छु । धेरै छन् त्यस्ता रमाईला र नरमाईला पक्षहरु जसलाई भुल्नै सकिंदैन । गर्दागर्दै धेरै ठाउँमा घुमियो सांगितिक कार्यक्रमहरु लिएर धेरै अनुभब पनि भईसक्यो । कुनै ठाउँमा मलाई छुन मात्र पनि पाए हुन्थ्यो भन्नुहुन्छ मेरा शुभचिन्तकहरु । मलाई निकै खुशी लाग्छ र एकदमै उत्साहित पनि हुन्छु कि यती धेरै शुभचिन्तकहरु पाउँदा ।
१५) ओहो.. किन, के भएर लड्नु भयो र कार्यक्रम देखाउन गएको एउटा कलाकार जस्तो मान्छे ?
- इमान्दारीपुर्वक भन्नु पर्दा म अत्याधिक ड्रिंक्स गर्थे त्यो बेला । ड्रिंक्स बेगर म केही गर्नै नसक्ने अवस्थामा हुन्थें, मलाई लाग्थ्यो ड्रिंक्स नै सबैथोक हो जस्तो । जसले गर्दा म चल्नै नसक्ने अवस्थामा पनि पुगें । अहिले मलाई देख्नु भएको यो मेरो दोश्रो जीबन हो । अहिले मैले कुनैपनी हानिकारक मध्यपान र धुम्रपान जस्ता चिजहरु सेवन गर्दिन । र सबैलाई यो चिजहरुबाट टाढै रहन सल्लाह दिन चाहन्छु र सेवन नै गरेपनी थोरै मात्रमा गर्ने सुझाव दिन चाहन्छु । यस्ता चिजको सेवनले केबल मानबिय जीबनमा क्षती मात्र गर्दो रहेछ भन्ने मैले राम्रोसँग बुझ्ने मौका पाएको छु । मैले यो सत्यतालाई सम्पूर्ण मेरा शुभचिन्तकहरुको अगाडि खुल्ला स्विकार गरेकोले पनि वहाँहरुले राजेश पायल राई झुटो मान्छे होइन रहेछ भनेर मेरा गितहरु अझ चर्चामा आएको र मलाई अझ बढी माया गरेको हुनुपर्छ भन्ने मलाई अनुभुती भएको छ ।
अब प्रसंग अलिकती रमाइलो पक्षतिर:
१६) विश्वमा जताततै भनेको सुनिन्छ र धेरै देखियो पनि कि गायक एवं नायकहरुका प्रेमिकाहरु धेरै हुन्छन भनेर । हजुर त नेपालको एउटा सुपर स्टार गायक र नायक पनि.. होलान नि दर्जनौं प्रेमिकाहरु तपाईंका पनि ?
- ठुलो हाँसो । हेर्नुस् मलाई माया गर्ने र मेरो गीतहरुलाई सुनेर मन पराउने मेरा लाखौं श्रोताहरु, शुभचिन्तकहरु हुनुहुन्छ जसको मायाको कारण आज म यो ठाउँमा उभिएको छु र वहाँहरुको माया र स्नेह बेगर राजेश पायल केही पनि होईन । तर अब व्यक्तिगत कुरा गर्नु भएको हो भने साँचै नै भन्नुपर्दा आजसम्म पनि मेरो एउटा गलफ्रेन्ड समेत छैन । तर लाग्छ, कहिं न कहिं कोही न कोही काली, गोरी, होंची, अग्ली, पातली, मोटी जस्तै भएपनी भगवानले मेरो लागि एउटी त बनाइदिएका होलान र मेरो पनि एकदिन घरजाम होला, म पनि बेहुला बनुँला भन्ने विश्वास चाँही पक्कै छ ।
१७) त्यसो भए राजेश पायल राईलाई हामी सम्पूर्ण नेपालीहरुले जीबन संगिनीको साथमा कहिले देख्न पाउँला त ?
- पुन: लामो हाँसो । मलाई सबै नेपालीहरुको पवित्र माया पाउने एउटा सफल गायक बनाए भगवानले । सबैले माया गर्नु भएको छ, अतिनै ब्यस्त जिन्दगी बिताएको छु । विवाहको कुरा, अब म यो बिषय मेरा लाखौं शुभचिन्तकहरुलाई छोड्नेछु । उहाँहरुले नै मलाई एउटा आशिर्वादको रुपमा दिनुहुनेछ मेरो जीबन संगिनी । तर म विवाहको लागि एकदमै तयारी अवस्थामा छु । म घण्टीको नजदिक पुगिसकेको छु, जब घण्टी बज्छ मेरो विवाह हुनेछ तर घण्टी बज्ने समय कतिसम्म कुर्नु पर्ने हो यो त खोई लेखेको वा जुरेको हुनुपर्छ जस्तो लाग्छ । फेरी हाँस्दै.. विवाह भएपछी पनि मलाई बोलाउनुस् न हनिमुनको समेत प्याकेजै लिएर कुवेत आउँला नि.. सबैको लामो हाँसो..
१८) अब तपाईंको पारिवारीक पृष्ठभूमिको बारेमा पनि केही जान्न सकिन्छ कि ?
- पारिवारीक पृष्ठभूमिको बारेमा; मेरो बाबा-आमा लण्डन अक्स्फोर्डमा बस्नुहुन्छ, बाबा ब्रिटिश आर्मी, दिदी पनि उहिँ हुनुहुन्छ । एउटा दाई पनि ब्रिटिश आर्मीमा हुनुहुन्छ भनें एक दाई यही गल्फ कतारमा हुनुहुन्छ र मेरो आफन्तहरु धेरै हङ्कङमा हुनुहुन्छ । म परिवारको काहिँलो छोरो हुँ ।
१९) अन्त्यमा कार्यक्रमको आयोजक संस्था लालीगुराँस सास्कृतिक परिवार, जसले तपाईंलाई कुवेत ल्याउन सफल भयो र तपाईं जस्तो व्यक्तित्वलाई हामीले प्रतक्ष्य भेटेर यतिका कुरा गर्ने मौका पायौं । वहाँहरु लगायत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई कुवेतनेपाल डटकम मार्फत केही भन्न चाहनुहुन्छ कि ?
- कुवेतमा यो मेरो पहिलो आगमन र प्रथम कार्यक्रम हो । कुवेतबासी नेपालीहरुको बिचमा म आएर यो बिजया दशमीको रमाइलो परिवेशमा कार्यक्रम देखाउन पाउँदा साह्रै हर्ष बिभोर छु । यस अर्थमा मलाई यो परिवेश मिलाईदिनु हुने संस्था लालीगुराँस साँस्कृतिक परिवारलाई धेरै धन्यवाद दिन चाहन्छु । देश छाडेर बिदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरु पैसा कमाउन आउनु भएको हो तर पैसा सबै चिज होइन फेरीपनि कमाउनुस्, आफ्नो परिवारलाई खुशी दिनुस्, नेपाली भाषा, संस्कृति, नेपाली पहिचान, नेपाली गीत/संगीत र नेपाली पनलाई कहिल्यै नबिर्सनुस् र खुशीसाथ नेपाल फर्कनुस् यति नै भन्न चाहन्छु र बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना पनि ब्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।















































Sampadak jiu, interview ko lagi thanx tara euta celebreti vanne sabdako satta suvachintak ho plz yesma sachyai dinu hola sabai thauko yours Rajesh Payal Rai Kuwait
Its corrected as suggested Sir.
Thank you so much for ur precious time spared to us. It was our pleasure and privilege to meet you in that day. We wish you all the best and flourish future.
Editor-In-Chief,
http://www.kuwaitnepal.com
Thanks so much you media Team for posting interview of Rajesh Payal Rai
i am Aprreciat for your Quick Action.
keep it-up.
we love you rajesh payel rai. thanks for your interview given to kuwaitnepal.com and double thanks for kuwaitnepal.com for make this happen.