काठमाडौं/ नेपाली फिल्मकर्मीहरू सुटिङ नहुँदा अन्त नभए पनि बागबजारमा भने व्यस्त हुन्छन् । त्यहाँ कोही फिल्म बनाउने योजना सुनाउन व्यस्त हुन्छन् त कोही फलानो निर्माताले पैसा ठग्यो भन्न व्यस्त हुन्छन् । अनि कोही भने फलानोको फिल्म चेट भयो भनेर खुसी साट्नमा व्यस्त हुन्छन् ।
फिल्म निर्माणमा अप्रत्यासित रूपमा तीव्रता आएपछि नेपाली फिल्ममा काम गर्ने स्पट ब्वाई, लाइटम्यान, मेकअपम्यान, बुम म्यान, क्यामेराम्यानदेखि लिएर अभिनेता, अभिनेत्री, स्त्रिmप्ट राइटर, गायक-गायिका, संगीतकार तथा निर्देशकसमेत निकै व्यस्त छन् । सबैलाई भ्याई-नभ्याई छ अहिले । काम नभएर फुर्सदिला बनेका पनि हातैभरि फिल्म भएको गफ दिनमा व्यस्त हुन्छन् बागबजारमा ।
नेपाली फिल्मकर्मीको अखडाको रूपमा चिनिएको बागबजार अचेल पनि पहिलाजस्तै व्यस्त देखिन्छ । बिहान सबेरैदेखि पद्मकन्या क्याम्पसअगाडि र श्रेष्ठ टेलरिङको कम्पाउन्डमा लाग्ने फिल्मकर्मीको भीडले बागबजारलाई फिल्मबजारका रूपमा परिणत गरेको भान गराउँछ । एक दिन कुनै फिल्मकर्मी बागबजारमा देखिएन भने अर्काे दिन प्रश्न तेर्सिहाल्छ- ‘कता हराएको ? नाकमुखै देख्न छाडियो नि ?’ कसैले सोध्यो भने जवाफ आउँछ, ‘सुटिङमा व्यस्त थिएँ ।’
अधिकांश समयमा बागबजारमा भेटिने फिल्मकर्मी कसैलाई प्लान सुनाइरहेका हुन्छन्- यस्तो फिल्म बनाउँछु, उस्तो फिल्म बनाउँछु । यति लाख कन्र्फम फाइदा हुन्छ । हिरो-हिरोइन बन्न आएका पनि बग्रेल्ती भेटिन्छन् त्यहाँ । हिरोइन बन्ने चक्करमा लागेकी युवतीलाई कुन फिल्ममा खेलेकी छौ ? भनी सोध्यो भने, ‘नयाँ हुँ, अवसर खोज्दै छु’ भन्ने जवाफ आउँदैन ।
कुनै भिडियो फिल्मको नाम लिँदै उनले कहिल्यै नाम नसुनेको गायकको म्युजिक भिडियोमा समेत खेलेको बताउँछिन् । अनि तीन-चारजना स्थापित निर्देशकको नाम लिँदै उनीहरूको फिल्ममा खेल्ने कन्र्फम भएको सुनाउँछिन् । हिरो बन्न आएकोबाट पनि त्यस्तै जवाफ आउँछ । उसले त थप्छ, ‘जिम गरिरहेको छु । डान्स पनि सिक्दै छु । फलानो निर्देशकको फिल्ममा कन्र्फम भएको छ ।’
‘संगीतकार हुँ’ भन्नेचाहिँ कुनातिर घाँटी मिलाइ-मिलाइ दुई-तीनजनालाई आफ्नो नयाँ फिल्मको गीत सुनाइरहेको हुन्छ । ऊ भन्छ, ‘यो फिल्मको गीतचाहिँ बबाल छ । देशै खान्छ ।’ उताबाट चुरोट तान्दै क्यामेराम्यान आउँछ । सहकर्मीहरूलाई देखेर भन्छ, ‘भोलिदेखि नयाँ फिल्मको सुटिङ छ । आज त आफू बिन्दास ।’ अनि ऊ लाग्छ बागबजारको अर्का गल्लीतिर जहाँ उसलाई कुरेर बसेका हुन्छन् केही । कुनै स्त्रिmप्ट राइटर भने फलानो हिन्दी फिल्मको फलानो सिन सर्लक्कै तान्नुपर्छ भन्दै हुन्छ । कुनै डाइरेक्टर भने दुईटा हातको प|mेम लगाएर कटिङ खेल्दै हुन्छ ।
साँझको दृश्य पनि फिल्मभन्दा कम हुँदैन बागबजारको । दिनभरि त्यहाँ फिल्म बनाउने गफ लडाएर बसेकाहरू साँझमा झुम्म हालतमा भेटिन्छन् । कोही कुनै निर्माता, हिरो, हिरोइन त कसैले निर्देशकलाई गाली गरिरहेको हुन्छ । एउटाले भन्छ, मलाई चिनेको छैन त्यसले । मैले चाहे भने त्यसलाई फिल्मलाइनबाट आउट गर्न सक्छु । अर्काे बर्बराउँछ, म त्योसँग अहिले नै कुरा गर्छु । कम ठान्या छ त्यसले मलाई । त्यसले जस्तो दसवटा फिल्म बनाउन सक्छु म ।’ मोबाइल डायल गर्छ । मोबाइलले भन्छ, ‘तपाईंको कल निषेध गरिएको छ ।’ लगभग दिनहुँ नै यस्तै हुन्छ बागबजारको दैनिकी ।
Source:Nayapatrika















































