विवाह स्वर्गमा तय हुन्छ भन्ने कुरा सत्य रहेछ “मनीषा कोइराला”


मनीषा कोइरालाको नाम नेपाली समाजमा नौलो होइन । राजनीतिक परिवारमा जन्मिएकी कोइराला सुरूमा ख्याल्ख्याल्मै चलचित्र क्षेत्रमा प्रवेश गरिन् । रमाइलोका लागि विज्ञापन हुँदै चलचित्रमा अभिनय गर्न पुगेकी कोइराला अहिले आफ्नो नसानसामा यसको छाप परेको बताउँछिन् । शालीन व्यक्तित्वकी धनी कोइराला बलिउडमा राम्रै ख्याति कमाउन सफल् छिन् ।

हजुरआमा सुशीला कोइरालालाई प्रेरणा मान्ने कोइरालाले जीवनका आरोह-अवरोहलाई कुशल्तापूर्वक भोग गरेकी छिन् । चलचित्रमै जीवनको महत्वपूर्ण भाग अर्पण गरेकी मनीषाले पछिल्लो समयमा एउटा नेपाली र दुईवटा दक्षिण भारतीय चलचित्रमा अभिनय गरेकी छिन् । असार ६ गते सम्राट् दाहालसित वैवाहिक सूत्रमा आबद्ध भएकी कोइराला विवाहपछि पनि चल्चित्र क्षेत्रलाई निरन्तरता दिने बताउँछिन् । अबका दिनमा केही थोरै मात्र चलचित्रमा काम गर्ने र समाजसेवाको काममा आफूलाई ल्गाउने योजनामा रहेकी कोइराला कुनै बेला युनिसेफ र युनिफेमजस्ता संस्थासँग पनि आबद्ध थिइन् ।

बाल्यकाल कसरी बित्यो ?

मेरो बाल्यकाल संयुक्त परिवारमा बित्यो जहाँ मैले अनेकौं सुखदुःख भोगेकी छु । म काठमाडौं एवं बनारसमा हुर्किएँ । मलाई सानैदेखि हजुरआमा सुशीला कोइरालाको सान्निध्य मन पथ्र्यो । उहाँ सार्‍है रमाइली हुनुहुन्थ्यो । उहाँले नै हामीलाई शास्त्रीय नृत्य सिकाउनु हुन्थ्यो । यसबाहेक सानैदेखि मलाई बुवाले साहित्यका पुस्तक पढ्न दिनुहुन्थ्यो । हजुरबुवा बी.पी. कोइराला राजनीतिक व्यक्ति भएकाले घरमा नेताहरूको जमघट भैरहन्थ्यो । यही कुराले मलाई अचम्मित तुल्याउँथ्यो । म हजुरआमासँग यस विषयमा जिज्ञासा राख्थें । उहाँले कुरा बुझाइदिनुहुन्थ्यो । बेलाबेलामा हजुरआमाले राम्रा-राम्रा कथा सुनाउनुहुन्थ्यो । यसरी मेरो बाल्यकाल सुखद् रूपले बित्यो ।

हजुरआमाको धेरै कुरा गर्नुभयो, किन ?

हजुरआमा मेरी प्रेरणाकी स्रोत हुनुहुन्छ । उहाँले सधैं भन्ने गरेको हामीले अरूको कुरा सुनेर जिन्दगी बिताउनुहुँदैन भन्ने भनाइ म सधैं स्मरण गर्छु । मेरा निम्ति उहाँ एक आदर्श नारी हुनुहुन्छ । त्यसबेलामा बुहारीहरूलाई सासूहरूले धेरै सताउँथे तर उहाँ बुहारीहरूलाई असल काममा लाग्न प्रेरणा दिनुहुन्थ्यो । लाउन-खानमा बन्देज लगाउनु हुन्नथ्यो । उहाँ अध्ययनशील, दूरदर्शी, आधुनिक एवं स्वतन्त्रताप्रेमी नारी हुनुहुन्थ्यो ।

तपाईंको अध्ययन कस्तो थियो ?

म औसत विद्यार्थी थिएँ । मनपर्ने विषयमा म निकै राम्रो पनि गर्थें भने मन नपरेका विषयमा त्यति राम्रो रिजल्ट आउँदैनथ्यो । म कक्षामा असफल भने भइन । खेलकुद तथा नृत्यमा राम्रै थिएँ ।

चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

किशोरावस्थामा नै मेघाउलको विज्ञापनमा काम गर्ने अवसर प्राप्त भयो । मलाई सबैले मोडलिङ गर्न तथा नायिका बन्न प्रोत्साहन दिन्थे । मेरो अनुहार एवं स्वभाव हेरेर उनीहरूले यसो भनेका थिए । नभन्दै केही समयपछि नेपाली चलचित्र फेरि भेटौंलामा मा गर्ने प्रस्ताव आयो जसलाई मैले स्वीकार गरें । पछि मुम्बई जाँदा मेरो तस्बिर देखेर प्रभावित निर्देशकले चलचित्र सौदागरमा काम गर्ने अवसर प्रदान गरे । उक्त चलचित्र हिट भएपछि अरूले पनि प्रस्ताव गर्न थाले । यसरी मैले बलिउडमा प्रवेश गरें । यद्यपि सुरुमा म त्यति सिरियस थिइन, भविष्य यही क्षेत्रमा बिताउँछु भन्ने पनि थिएन ।

बलिउड कस्तो लाग्यो, साथै त्यहाँका राम्रा पक्ष के पाउनुभयो ?

बलिउड संसारमै कहलिएको चलचित्र उद्योग हो जसको हिस्सा हुन पाउनु गौरवको कुरा हो । त्यहाँ एकदमै प्रतिस्पर्धा छ । विशेष क्षमता नभई त्यहाँ कोही पनि टिक्न सक्दैनन् । राम्रा पक्षका कुरा गर्दा त्यहाँ पाइने सिर्जनशीलता, व्यावसायिकता एवं चलचित्र प्रस्तुतिमा विविधीकरण उल्लेख्य छन् । कामप्रति सम्मान छ । लामो समय काम गर्दा पनि मलाई कहिल्यै आफू बाहिरबाट आएकी हुँ भन्ने अनुभव भएन । सबैले मलाई बलिउडकै अंगका रूपमा आत्मसात् गरेका हुनाले विदेशी हुँ भन्ने भावना पलाएन ।

बलिउडको तुलनामा नेपाली चलचित्र क्षेत्र कस्तो छ ?

बलिउड निकै विकसित भैसकेको छ । त्यहाँको तुलनामा हाम्रो लगानी, प्रविधि एवं बजार धेरै सानो छ । पहिले र अहिलेको अवस्था तुलना गर्दा नेपाली चलचित्रमा आशावादी हुने ठाउँ प्रशस्त छन् ।

आफूले अभिनय गरेका चलचित्रमध्ये मनपर्ने चलचित्र कुन हो ?

आफूले अभिनय गरेका सबै चलचित्र मलाई मन पर्छन् । सबैमा मैले उत्तिकै परिश्रम गरेकी छु र सकेसम्म भूमिकामाथि न्याय गरेकी छु । सबैजसोमा मेरो अभिनय कलाको प्रशंसा भएको छ । कुनै-कुनै भूमिकामा आलोचना खेप्नुपरे पनि त्यसलाई लिएर आपत्ति प्रकट गरेकी छैन ।

चलचित्र निर्देशन गर्ने योजना छ कि ?

निश्चय नै छ । यसैका लागि मैले न्युयोर्कको एक कलेजमा निर्देशन विषयमा अध्ययन गरें । त्यहाँ सिकेको ज्ञानलाई व्यवहारमा उतार्नकै लागि भए पनि चलचित्र निर्देशन गर्नैपर्ने हुन्छ । ढिलोचाँडो म यस क्षेत्रमा लाग्ने योजनामा छु ।

नेपालको बसाइ कति समयको हुन सक्छ ?

यस विषयमा मैले अहिल्यै निर्णय गरिसकेकी छैन । अहिलेसम्म त विवाहमै व्यस्त छु । फेरि विवाह गरेपछि दुईजनाकै समझदारीमा निर्णय गर्नुपर्ने भएकाले अहिल्यै यस विषयमा केही नबताउनु नै उपयुक्त होला । लाग्छ, अब धेरै समय नेपालमै बसिन्छ ।

अब पूर्ण महिला बन्दै हुनुहुन्छ । नेपाली महिलाहरूको स्थिति कस्तो देख्नुभएको छ ?

मैले नेपाल त्यति धेरै घुम्न पाएकी छैन । तैपनि युनिसेफ तथा युनिफेममा काम गर्दा केही मात्रामा भए पनि नेपाली महिला तथा बालबालिकाको स्थिति बुझ्न पाएँ । यस आधारमा भन्नुपर्दा महिलाहरू शिक्षा, स्वास्थ्य एवं स्वनिर्णयको अधिकार आदिबाट वञ्चित पाएँ ।

महिलालाई कसरी परिभाषित गर्नुहुन्छ ?

प्रकृतिको सुन्दर सिर्जना अनि स्वयं प्रकृतिकी देवी ।

महिलाका लागि सम्पत्ति र शिक्षामध्ये कुनलाई प्राथमिकता दिनुपर्छ ?

दुवै आवश्यक छन् । एकलाई छान्नुपर्दा शिक्षालाई नै प्राथमिकता दिनुपर्छ । शिक्षाले मानिसको दृष्टिकोणमा परिवर्तन ल्याउँछ । सोचको क्षितिज फराकिलो बनाउँछ । महिलाहरू शिक्षित भए भने उनबाट जन्मने बालबालिका शिक्षित हुन्छन् । यसको दूरगामी सकारात्मक प्रभाव समाजमा पर्छ । शिक्षाकै कारण आर्थिक स्वतन्त्रता तथा स्वनिर्णयको अधिकार प्राप्त हुने भएकाले शिक्षामा विशेष जोड दिनुपर्छ ।

महिलालाई राजनीतिले कत्तिको प्रभाव पारेको छ ?

राजनीतिले समाजका सबै अंगलाई उत्तिकै प्रभाव पार्छ । यसकारण महिला यसबाट टाढा हुन्छन् भन्ने कुरै हुँदैन ।

परिवारको पृष्ठभूमि राजनीतिक भएकाले राजनीतिमा प्रवेश गर्ने विचार छ कि ?
हालसम्म राजनीतिमा प्रवेश गर्ने कुनै विचार छैन । पारिवारिक पृष्ठभूमि हुँदैमा राजनीतिमा प्रवेश गर्नैपर्छ भन्ने पनि हुँदैन । यसमा रुचिको कुरा पनि आउँछ । म पछिसम्म चलचित्र क्षेत्रमै रमाउन चाहन्छु । बरु समाजसेवामा मेरो रुचि छ ।

कसरी नेपालमै विवाह गर्ने निर्णय गर्नुभयो ?

एक न एक दिन विवाह गर्नैपर्छ । विवाह भन्ने कुरा स्वर्गमा तय हुन्छ भन्ने कुरा सत्य रहेछ । समय आएपछि निर्धारण हुने भएकाले यस विषयमा आफूले चाहेजस्तो हुँदो रहेनछ । मैले नेपालमै उपयुक्त व्यक्ति भेटेकी हुनाले यतै विवाह गर्ने निर्णय गरें ।

के कारणले सम्राट्जी उपयुक्त हुनुहुन्छ ? विशेष के मन पर्‍यो ?

मलाई उनी धेरै हिसाबले उपयुक्त लागे । उनको राम्रो बानी भनेको सुपर केयरिङ नेचर हो जसले मेरो मन जित्यो । अर्को उनले आपmना अभिभावक र मेरा अभिभावकलाई गर्ने आदर प्रशंसनीय छ । उनी सबैतिर सन्तुलन कायम गर्न सक्छन् । उनी आपनो देशलाई निकै माया गर्छन् ।

विवाहको अनुभव कस्तो छ ?

वास्तवमा म नेपाली संस्कृतिअनुरूप हुने विवाहको अनुभव गरिरहेकी छु । हाम्रो परम्परागत विवाहमा धेरै कार्य हुँदा रहेछन् । हरेक विधिको आ-आपनै महत्व रहेछ । म सबै विधि पूरा गर्न चाहन्थे। आफ्नो विवाहको विषयमा किताब लेख्ने सोच पनि बनाइरहेकी छु ।

तपाईंको विवाहको खबर पुगेपछि बलिउडमा कस्तो प्रतिक्रिया रह्यो ?

पहिले त सबैजना छक्क परेछन् पछि सबैले यसलाई स्वाभाविक माने । विवाहमा सहभागी हुन त्यहाँबाट केही कलाकार तथा अन्य मित्र आएका थिए ।

विवाहमा कसको अभाव महसुस भयो ?

सुशीला आमा एवं सानाबुवा -गिरिजाप्रसाद कोइराला ।

मनीषाको नयाँ रूप

विवाह मानव जीवनको महत्वपूर्ण घटना हो । त्यसैले हरेक व्यक्तिले विवाहका विषयमा विशेष सपना बुनेको हुन्छ । मानिसहरू यसलाई सकेसम्म स्मरणीय बनाउन चाहन्छन् । समाजमा धेरैले विवाहलाई विशेष बनाए पनि सबैका लागि यो महत्वको विषय नहुन सक्छ। यद्यपि गत महिना भएको मनीषा कोइरालाको विवाह धेरैजसो नेपालीका लागि चासोपूर्ण रह्यो।

हिन्दी सिनेमा उद्योग विश्वकै लागि आकर्षणको केन्द्र हो। विश्वको दोस्रो ठूलो चलचित्र उद्योग भएका नाताले त्यहाँको आकर्षण, सम्मान एवं आम्दानी उच्च छ। यति ठूलो चलचित्र उद्योगमा लामो समयसम्म टिक्न सक्नु भारतीय सिनेमाका हस्तीहरूका लागि पनि इज्जतको विषय हो। यही आकर्षणका कारण हिन्दी सिनेमाका सबैजसो हस्ती आफ्ना सन्तानलाई बलिउडमा जमाउन ठूलो मेहनत गर्छन्। त्यहाँको प्रतिस्पर्धा, राजनीति एवं लगानी आमनेपालीले कल्पना गरेभन्दा निकै बढी छ। यति बृहत् चासोमा रंगिएको सिनेमा उद्योगमा नेपाली चेली मनीषा कोइराला स्थापित हुनु आफैमा आश्चर्यको विषय थियो। मनीषा आफू त्यहाँ स्थापित मात्र होइन, दुई दशकसम्म टिकिरहिन्। उनले अभिनय गरेका करिब ५० हिन्दी चलचित्रमध्ये एक दर्जन चलचित्रलाई अभिनयका दृष्टिले हिन्दी सिनेमाकै उत्कृष्ट चलचित्र मानिन्छ। हिन्दी सिनेमाको चर्चित पत्रिका फिल्म फेयरले मनीषालाई रियलिस्टिक एवं गम्भीर सिनेमाकी उत्कृष्ट कलाकारको उपाधि दिएको छ। उनले एकदशक हिन्दी चलचित्रमा उत्कृष्ट काम गरेबापत सन् २००० मा फिल्मफेयर बेस्ट क्रिटिक एवार्ड पाएकी थिइन्। उनले अभिनय गरेको अग्निसाक्षी, मन, दिल से, बम्बई, अकेले हम अकेले तुम, १९४२ अ लभस्टारी, खामोसीजस्ता एक दर्जन चलचित्रलाई दर्शकले अहिले पनि सम्झन्छन्। मनीषा पटक-पटक फिल्म फेयर एवार्डमा उत्कृष्ट नायिकाको सूचीमा मनोनयनमा परेकी छिन्। उनले थुप्रै दक्षिण भारतीय चलचित्रमा पनि काम गरेकी छिन्। 

मनीषाको यही योगदानका कारण उनको विवाह नेपालीहरूका लागि मात्र चासोको विषय भएन, भारतीय सिने उद्योगले पनि यसलाई विशेष महत्व दियो। उनको विवाहका सबै कार्यक्रममा हिन्दी सिनेमाका बहुचर्चित कलाकार एवं पर्दा पछाडिका प्राविधिकको बाक्लो उपस्थिति थियो। भारतबाट प्रकाशित हुने मिडियाका करिब एक दर्जन पत्रकार उनको विवाहमा सामेल हुन आए। उनको विवाहमा साहारा भारतका अध्यक्ष तथा चर्चित भारतीय उद्योगपति सुब्रत रोयको उपस्थिति थियो। भारतीय राष्ट्रिय कांग्रेसका नेता डीपी त्रिपाठी आफ्नो नजिकिएको प्रतिनिधिको छनोट कार्यक्रम छाडेर मनीषाको विवाहमा सरिक थिए। मनीषा बलिउडकी कलाकार मात्र नभएर नेपाली राजनीतिका उच्च पुरुष विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी पनि भएकीले यो विवाहले राजनीतिक हैसियतसमेत पाएको थियो। उनको विवाहमा नेपाली राजनीतिका सबैजसो खेलाडी उपस्थिति थिए । पूर्वराजा, प्रधानमन्त्री, गृहमन्त्रीदेखि प्रचण्डसम्मको उपस्थितिले राजनीतिमय भएको उनको विवाहमा सेना र प्रहरीका प्रमुखहरूको उपस्थितिपछि सारा देशको शक्ति केन्द्र एकै स्थानमा खुम्चिएको महसुस हुन्थ्यो। त्यसमा गोविन्दा, जैकी श्राफ, विवेक मुश्रान, सुमन रंगनाथन, दीप्ति नवलजस्ता प्रतिष्ठित कलाकारहरूको उपस्थितिले ग्ल्यामर थपेको थियो।

ठूलो खर्च : लामो तयारी

मनीषाले आफ्नो विवाहका अधिकांश कार्यक्रमलाई योजनाबद्ध रूपमा आकर्षक बनाएकी थिइन्। उनले त्यसका लागि लामो तयारी गरेको अनुभव हुन्थ्यो। उनले पहिरनमा विशेष ध्यान दिएको देखिन्थ्यो। विवाहको दिन उनले हरियो पन्नाजडित हीराको हार लगाएकी थिइन्। कानमा उक्त हारसँग सेट मिल्ने हीराको झुम्का थियो भने हातमा हीराकै औंठी थियो। विवाहमा हातले कडाइ गरिएको बनारसी साडी ती सेटसँग लगाउँदा मनीषा धपक्क बलेकी थिइन्। अघिल्लो दिनको फूलमाला -स्वयंवर) कार्यक्रममा उनको पहिरन भारतबाट आएका ड्रेस डिजाइनरले नै तयार पारेका थिए। निजी मेकअपम्यान अतुल कदमले पहिरनअनुरूप उनको  मेकअप मात्र गरिदिएनन्, त्यसलाई बिग्रन नदिन बेला-बेलामा विवाह मण्डपमै पुग्थे। अघिल्लो दिन पनि उनको पहिरन राजकुमारीको भन्दा कम थिएन। कडाई गरिएको पहेंलो रंगको साडीमा स-साना चिटिक्क परेका हीराको टपले मनीषाको सौन्दर्य निखारिरहेको थियो। आफैले दिएको पार्टीमा मनीषाले तेस्रो डिजाइनको हीराको हार लगाएपछि बलिउड कलाकारले पनि उनको छनोटको खुलेर वर्णन गरेका थिए। लामो समयदेखि मुम्बईको मुक्ता डिजाइनरसँग गहना डिजाइन गराउने मनीषाले विवाहको सम्पूर्ण जिम्मा उसैलाई दिएकी थिइन्। त्यसैले मुक्ताले सबै कार्यक्रममा फरक-फरक डिजाइनका हीरा र पन्नाका हार निर्माण गरेको थियो। उनका सबैजसो गहनामा हिमाल तथा पहाडको झझल्को आउँथ्यो। हिमालको देश नेपालमा हुने मनीषाको विवाहका लागि मुक्ताले आफ्ना सबै कलामा उतार्न खोजेको प्रस्ट देखिन्थ्यो। यी हीराको सेटका लागि मात्र मनीषाले करिब १५ लाख खर्चिएको अनुमान छ।

विवाहमा मनीषाले प्रयोग गरेको पहिरन पनि विशेष थियो। सबैजसो पहिरन हातले बुनिएका देखिन्थो। सिंगापुर र मुम्बईमा डिजाइन गरिएका ती पहिरनका लागि मनीषाले ५ लाख खर्च गरेको अनुमान छ। आफ्नो विवाह भोजका लागि मात्र उनले ५० लाख रुपैंयाँ तिरेको अनुमान गरिन्छ। पारिवारिक स्रोतका अनुसार कोइरालाले नेपालका सबैजसो प्रतिष्ठित व्यक्तिलाई सोल्टी होटलमा पार्टी दिएकी थिइन्। मंगोलियन, इटलियन, बार्बीक्यु, भारतीय एवं नेपाली परिकारसहित अनलिमिटेड डि्रङ्स सर्भ गरिएको सोल्टी होटलमा उनले ४० लाख रुपैंया तिरिन् भने जन्तीलाई ख्वाउने भोजमा १० लाख खर्च गरिन्। गोकर्ण जंगल रिसोर्टमा भएको विवाह समारोहमा ४ सय मात्र जन्ती आएका थिए। यद्यपि विवाह अवधिभरि उनको सम्पूर्ण परिवार तथा मुम्बईबाट आएका कलाकारहरू गोकर्ण रिसोर्टमा बसेको हुनाले १० लाख खर्च लागेको पारिवारिक स्रोतको दाबी छ। त्यसो त धेरै कलाकार आफ्नै खर्चमा काठमाडौंका विभिन्न तारे होटलमा पनि बसेका थिए। ‘मनीषाको विवाहमा करिब १ करोड खर्च भएको मान्न सकिन्छ।’ कोइराला परिवारका एक सदस्यले भने, ‘यति ठूली सेलिबे्रटीको विवाहमा यो सामान्य हो।

मनीषाको तुलनामा दुलाहा सम्राट दाहालले भने कम खर्च गरेको देखियो। दाहालले आफ्ना तर्फबाट २० लाख मात्र खर्च भएको जनाएका छन्। उनले बानेश्वरस्थित एभरेस्ट होटलमा दिएको पार्टीमा करिब १२ लाख खर्च गरेको अनुमान छ। आफ्नो तथा मनीषाको पहिरन एवं गहना खरिद गर्दा उनले ८ लाखजति खर्च गरे। सुरुमा तामझामका साथ विवाह नगर्ने, घरमै पार्टी दिने तथा सञ्चारमाध्यमबाट टाढा रहने योजना बनाएका सम्राटले मनीषाको इज्जतका लागि थप खर्च गरेको बताइन्छ। कुनै पनि दाइजो नलिएका दाहाललाई कोइराला परिवारले दिन ठिक्क पारेको सिंगापुरमा निर्मित पलङ तथा भान्सा सेट उनले अस्वीकार गरे। उनले मनीषाका तर्फबाट २ जोर सुट, १ जोर जुत्ता र एउटा सिको घडी मात्र लिएका छन्। सम्राटका आमाबुवालाई मनीषाका आमाबुवाका तर्फबाट सुनका गहना तथा केही पहिरन उपलब्ध गराइएको थियो। सम्धी भेटको कार्यक्रममा ती सामग्री उपलब्ध गराउँदा दाहाल परिवारले अप्ठ्यारोका साथ स्वीकार गरेको  थियो। सम्राटका तर्फबाट मनीषाका लागि धेरै गहना खरिद नगरिएको दाहाल परिवारले विवाहअघि नै नारीलाई जानकारी गराएको थियो। नभन्दै मनीषाले सम्राटका तर्फबाट एउटा छड्के  तिलहरी, केही सुनका गहना एवं औंठी मात्र पाइन्। मनीषाले आफ्ना तर्फबाट सुन नकिनेकी हुनाले त्यसलाई खुसीसाथ स्वीकार गरेकी थिइन्। सम्राटले दिएको छड्के तिलहरी लगाएकी मनीषाको सौन्दर्य निखारिएको जन्ती पक्षले बताएपछि उनले सम्राटलाई विवाह मण्डपमै धन्यवाद दिएकी थिइन्।

भविष्यको तयारी 

लामो प्रतीक्षापछि मनीषाले आफूभन्दा ६ वर्ष कान्छा युवा उद्यमीलाई आफ्नो जीवनसाथी रोजेकी छिन्। मनीषाले आफूजस्तै चर्चित एवं पाको व्यक्तिसँग विवाह गर्दा जीवन सरल नहुने निष्कर्ष निकालेपछि सम्राटको प्रेम स्वीकार गरेको पारिवारिक स्रोतले जनाएको छ। ‘सम्राट मेरो संसार हो।’ विवाहअघि मनीषाले नारीसँग भनेकी थिइन्, ‘सम्राटमा ती सबै कुरा छन्, जुन मेरो श्रीमान्मा हुनुपर्छ।’ मनीषाले सम्राटमा भएको नेपालीपन, सादा व्यवहार एवं जीवनमा केही गर्नुपर्छ भन्ने उद्देश्य देखेपछि मन पराएको बताइएकी छिन्।

हिन्दी चलचित्र उद्योगमा मनीषाले फाट्टफुट्ट मात्र काम पाउन थालेपछि उनको ध्यान नेपालमै समाजसेवा र राजनीतितर्फ मोडिएको छ। यसका लागि उनी सहज तरिकाले पारिवारिक जीवन चलोस् भन्ने चाहन्छिन्। ‘राजनीति र समाजसेवामा राम्रो गर्न पारिवारिक जीवन राम्रो हुनुपर्छ। यसका लागि मनीषा र सम्राटले पूर्ण तयारी गरेका छन्।’ पारिवारिक स्रोतले नारीसँग भन्यो, ‘उनीहरूले भविष्य कसरी अघि बढाउने भन्ने विषयमा लामो सल्लाह र तयारीपछि मात्र विवाह गरेका हुन्।’

स्रोतका अनुसार मनीषाले सम्राटका कुनै पनि काममा हस्तक्षेप नगर्ने तथा सम्राटले मनीषाको कलाकारिता, समाजसेवा वा राजनीतिमा सकेसम्म सहयोग गर्ने सहमति भएको छ। मनीषाको अध्ययनशील एवं परिपक्व व्यक्तित्वबाट सम्राट अत्यधिक प्रभावित भएकाले पनि मनीषाको निर्णय सम्राटले सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्। तत्कालै कुनै नयाँ काम गर्ने वा सन्तान जन्माउने भन्ने निर्णय उनीहरू हनिमुनबाट फर्किएपछि मात्र हुने बताइन्छ। हनिमुनको कार्यक्रमलाई उनीहरूले गोप्य राखेका छन्। दिल्लीबाट प्लेनको टिकट काटिएकाले उनीहरूले नेपाल र भारतबाहिर हनिमुन मनाइरहेका छन् भन्ने कुरा भने बाहिर आइसकेको छ। हनिमुनबाट फर्किएपछि सम्राट वैकल्पिक ऊर्जाको कार्यक्रमका सिलसिलामा केही महिना नेपालबाहिर बस्ने तथा मनीषाले मुम्बईमा बाँकी काम सक्ने योजना बनाएका छन्। त्यसपछि उनीहरू बूढानीलकण्ठमा लिएको आकर्षक घरमा लामो समय सुखमय जीवन बिताउने सुरमा छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s