कसैकसैका लागि भाग्य फोटो भएर आउँछ, यसो भनियो भने तपाइँ असहमत पनि हुन सक्नु हुन्छ । तर यदि पूजाना प्रधानको पछिल्लो प्रगति हेर्नु भयो भने यो भनाइ सोह्रैआना सही लाग्न सक्छ ।
पाँच वर्षअघि ‘हिरो’ चलचित्रबाट सिनेउद्योगमा उदाएकी यी मोडल/अभिनेत्री पछिल्ला केही समय लोकदोहोरी भिडियोमा मात्र सीमित थिइन् । लोकदोहोरी भिडियोकी सबैभन्दा व्यस्त यी बालाले एक दिन सोचिन्- ‘यसरी त भएन बा ! लोकदोहोरीमा मात्रै सीमित हुने भइयो । यसरी त कसरी जिन्दगी चल्ला !’
आफ्नो लोकदोहोरीको सीमित इमेजलाई परिवर्तन गर्न एक मध्यदिन साइबरसंसारडटकममा यी झुल्किइन् र सञ्चालकसमक्ष प्रस्ताव राखिन्- ‘लोकदोहोरीमा मात्र सीमित हुन चाहन्न केही नयाँ काम गरौँ ।’ सधैँ केही नयाँ गर्ने भावनाका साइबरसंसारका अभिनव/दीपङ्कर दाजुभाइलाई यो प्रस्ताव रुच्यो । त्यसपछि सहमतिमा यस्तो फोटो सुटको डिजाइन तयार भयो, जसलाई हेरेर धेरैले ज्रिव्रो टोके । त्यो ‘हट’ फोटोपछि एक साथ पूजाको भाग्यमा ‘चार चाँद’ उदायो ।
कतिसम्म भने, त्यही फोटोका बलले उनले पाँच चलचित्र पाइन् भने विदेशमा हुने सांस्कृतिक कार्यक्रममा ‘आइटम’ नृत्यका लागि उनी अनिवार्य ठानिन थालिइन् । यो व्यस्तता उनलाई सुरुचिपूर्ण लागिरहेको छ । तर त्यो फोटोको दुरुपयोग पनि उत्तिकै छ । उनीद्वारा अभिनित ‘अभिमन्यू’मा उनले गरेको अङ्ग प्रदर्शन चित्त नबुझेर चलचित्रका निर्माता मौनता श्रेष्ठले त्यही ‘स्वीमसुट’ फोटोलाई पोष्टरहरुमा प्रयोग गर्यो । विदेशमा आयोजना हुने विभिन्न कर्न्र्सटहरुका लागि उनलाई चिनाउन त्यही फोटोको उपयोग भयो । अरु त अरु हालै निस्किएको एउटा सिनेमाको गीतसम्बन्धी अडियो क्यासेटमा समेत उनको त्यो फोटोलाई उपयोग गरिएको छ ।
पूजालाई उनको फोटोको यो उपयोग कस्तो लागिरहेको छ त – “मेरो पपुलारिटी यस्तो होला भनेर सोचेकी पनि थिइनँ”, खुशी मिश्रति मुस्कानका साथ उनले थपिन्- “थोरबहुत हलचल ल्याउने मेरो उद्देश्यमा म सफल भएकी छु ।”
पूजाको ‘स्वीमसुट’ फड्को
उनी आफू बच्चै हुँदा भविष्यमा ‘श्रीदेवी’ बन्छु भन्थिन् रे ! कलाप्रतिको लगाव र पर्दाको आकर्षण त्यतिबेलै उनमा गाँसिएको थियो । २१ वर्षपछि नेपाली ग्ल्यामर उद्योगमा उनको स्थिति के छ त ? २१ वटा म्युजिक भिडियो, पाँच वटा साना तथा ठूला पर्दाका चलचित्र र उनको खातामा ग्ल्यामरस छवि एकमुष्ठ पाएकी छिन् ।
१५ वर्षै उमेरमा र्याम्प मोडलिङ र त्यसपछि चलचित्र ‘हिरो’ मा मौका पाएकी उनी लोकगीतको म्युजिक भिडियोहरुमा सबैभन्दा ‘लक्की’ मोडलका रुपमा चिनिन्छिन् । अहिले म्युजिक भिडियोकी सबैभन्दा चर्चित अनुहारका रुपमा गनिएकी उनको पोल्टामा वनमा काँडा छ, माझीदाइ, छमछम नाचिदेऊलगायत १० वटा त्यस्ता गीत छन्, जसले लोकगीतको व्यवसायिक आँकडामा सबैभन्दा बढी बिक्री भएका चक्काको रुपमा लिइन्छ ।
तर लोकभिडियोमा यति चर्चित उनको अनुहार भने मूलधारको नेपाली चलचित्रमा चर्चामा आउन सकेन, किन – “म सोच्थेँ, राम्रो काम गर्यो भने मानिसहरु खोजीखोजी आउनेछन्, तर म गलत रहेछु”, पाँच वर्षछि नेपाली चलचित्रमा अभिनयको दोस्रो इनिङ (पारी) शुरु गरेकी पूजाको ‘अभिमन्यू’ राजधानीबाहिरबाट राम्रो प्रतिक्रिया पाइरहेकोमा खुशी हुँदै भन्छिन्- “देशमा शान्ति छाउने स्थिति छ, चलचित्रहरु स्वाभाविक रुपमा बढी बन्नेछन् र मेरो चलचित्रप्रतिको पुनः प्रवेशलाई दर्शकहरुले राम्रो रुपमा लिनेछन् ।”
तर पूजा यो सफलताको कथाले मात्र खुशी भइरहेकी भने होइनन् । उनको खुशीको कारण भने साइबरसंसार इन्टरनेट पत्रिकाले उनलाई ‘स्वीमसुट’मा जसरी प्रस्तुत गर्यो र त्यसको सकारात्मक/नकारात्मक दुवै किसिमको प्रतिक्रियाले उत्साहित बनेकी हुन् ।
“समाज कुरा काट्नका लागि हो”, फोटो हेरेर नकारात्मक टिप्पणी गर्नेहरु प्रति लक्षित हुँदै पूजा भन्छिन्- “उनीहरु सधैँ महिलाहरु दास नै रहून्, घरबारमै सीमित हुन् र समाजको आशयभन्दा भिन्न काम नगरुन् नै भन्ने चाहन्छ ।”
“खासमा समाजसँग म अलि अभ्यस्त छुइनँ । उसले बनाएका कतिपय बन्धनबाट मलाई घृणा छ । समाजले पुरुषहरुका लागि मात्र स्वतन्त्रता निश्चित गरेको छ, महिलाका लागि छैन । यस्तो दोषपूर्ण समाजको खुशीका लागि मात्र म प्रस्तुत हुन सक्दिनँ”, २१ मात्र टेकेकी पूजाको कुरामा ‘दम’ देखिन्छ । यसमा उनी थप्न भुल्दिनन्- “यस्तो विद्रोह गर्नेलाई अनेक उपनामले विभूषित गर्ने प्रयास गर्छ समाजले ।” अहिले ‘स्वीमसुट’पछि उनले पाएको नकारात्मक प्रतिक्रियालाई उनले त्यही रुपमा लिएकी छिन् ।
यसको अर्थ यो होइन कि उनी विवाह, प्रेम र यौनका मामिलामा पनि उनी खुला छिन् । उनी प्रेमलाई ‘सही व्यक्तिको सही समयमा छनोट’ ठान्छिन् भने त्यस्तो व्यक्तिसँगको विवाहलाई उनी उचित ठहर्याउँछिन् । तर त्यो सही व्यक्तिसँग विवाहअघि हुने यौनजन्य क्रियाकलापप्रति उनी अलि लजालु छिन् ।
विवाहअघि समाजसँग उनी संघर्ष गर्न रुचाए पनि विवाहपछि भने उनी अहिलेको जस्तो खुला हुन नसक्ने बताउँछिन् । के विवाहपछि समाजसँग उनले सम्झौता गर्ने छिन् – “बिहेपछि म एक्ली हुन्न,” उनको तर्क छ- “मेरो श्रीमान्सँगै उनको परिवार र त्यो परिवारसँग जोडिएको सामाजिक मान्यता पनि सँगसँगै हुन्छ । त्यसले मेरो भावनालाई बुझ्लाजस्तो लाग्दैन । तर बुझ्यो भने संसारकी खुशी महिलाहरुमध्ये म पनि एक हुनेछु ।”
तर उनले अहिले नै बिहेबारे सोचिसकेकी छैनन् । देशमा शान्ति स्थापनालगत्तै चलचित्र निर्माणमा आएको सकारात्मक प्रभावमै केन्द्रित हुन चाहन्छिन् र अबको एक दशकमा आफूलाई एक असल अभिनेत्रीको रुपमा उभ्याउन संर्घषरत हुने चाह व्यक्त गर्छिन् ।
(प्रस्तुत लेख समय साप्ताहिकमा गएको असारमा छापिएको थियो । जसलाई केही सम्पादनका साथ पुनः प्रस्तुत गरिएको हो ।)















































