प्रमुख भूमिका पड्काउने होडमा नवनायिका

श्रावण १८, याँ नायिकाहरूको ओइरो लाग्दा नेपाली चलचित्रमा पुराना अनुहार दोहोरिन कम भएको छ । तीव्र स्पर्धाबीच नवनायिकाहरू पनि प्रमुख भूमिका पड्काउने होडमा छन् ।

एक जमाना थियो जुन वेला बैंसको आँगनमा टेकेका करिश्मा मानन्धर, जल शाह, विपना थापा, निरुता सिंहहरू नेपाली चलचित्रमा आए, छाए र गए । उनीहरूको अभिनय क्षमतामा शङ्का गर्नेहरू पनि समयक्रममा प्रशंसक नै बने । उनीहरूमध्ये कोही घरजम र कोही विदेशतिर लाग्दा सीमित नायिकाले धानेको नेपाली रजतपटमा ठाउँ लिन आएका नवयौवनाहरूको हुल सानो छैन ।

अभिनेता/निर्देशक रमेश बुढाथोकी भन्छन्, “एक डेढ वर्षयता नयाँ नायिका लिने चलन गजबले बढेको छ।” बुढाथोकीको भनाइमा, अहिले चलचित्र नायिका बन्न जति युवती आएका छन् ती सबै प्रतिभाशाली छन् । नत्र गतिशील सिने उद्योगमा कसरी अवसर पाउँथे र ! तर, हिरोइनहरूका मामलामा चलचित्रको पर्दा-पछाडि चल्ने गाइँगुइँ पनि कम शक्तिशाली छैन । पर्दा-पछाडिका जानकारहरूका अनुसार कतिपय निर्माता/निर्देशक करिअरका लागि शरीर सुम्पने हिरोइनको खोजीमा हुन्छन्, त्यस्तो आँट गर्ने युवतीसँग प्रतिभा नभए पनि हुन्छ, अहिले। आफैँ पैसा लगाउने नयाँ हिरोको खोजीमा रहने निर्देशकहरू भएको फिल्मी उद्योगमा यस्तो गाइँगुइँलाई झूठो भनिहाल्न मुश्किलै पर्छ ।

एक वर्षअघिको अवस्थालाई नै हेरौं जतिवेला नेपाली चलचित्रमा हिरोइनको अभाव भएको चर्चा चल्थ्यो। तर अहिले नयाँ नायिकाहरूको ठेलमठेल छ। अनेक हल्ला र स्क्याण्डलहरूबीच निशा अधिकारी, नम्रता श्रेष्ठ, ऋचासिंह ठकुरी, श्वेता खड्का, केकी अधिकारी, कल्पना शाही, रुवि भट्टराई, सौजन्य सुब्बा, माल्भिका सुब्बा, संयुक्ता राणा, सुमिना घिमिरेहरू यो क्षेत्रमा व्यस्त छन्। काजोल खड्का, जेनिशा केसी, रञ्जिता गुरुङ, ममता प्रधान, जिया केसी, स्नेहा शर्मा, जानी केसी, जानु अर्याल, सुष्मा कार्की, खुस्बु न्यौपाने, सजना चौलागाई, यातना कार्की, अनुष्का ढकाल, बविता लिम्बु, सोनिया केसी, ऋचा शर्मा आदि पनि चलचित्रमै दौडिरहेका छन्। तर, यीमध्ये कतिपयले क्षमताबाट भन्दा निर्माता/निर्देशकसँगको विशेष सम्बन्धका कारण नायिकाको पगरी पाएको बताउनेहरू नेपाली सिने क्षेत्रमा धेरै छन्।

अर्कातिर रेखा थापा, झ्रना थापा, ऋचा घिमिरे, अरुणिमा लम्साल जस्ता चल्तीका नायिकाहरू पहिले जस्तो फिल्ममा दोहोरिन छाडेका छन्। निखिल उप्रेतीकी कान्छी श्रीमती बनेर मुम्बई पलायन भएपछि राम्रो नायिकाको छवि बनाएकी सञ्चिता लुइँटेलको अभिनयमा अहिलेलाई पूर्णविराम नै लागेको छ। पछिल्ला चलचित्रहरूको प्रमुख भूमिकामा नयाँ अनुहार छाएका छन्। अझ् नयाँ निर्देशकहरूका चलचित्रमा त पुराना हिरोइन देखिनै छाडेका छन्। पुरानै निर्माता-निर्देशकहरू पनि नयाँतिरै लहसिएका देखिन्छन्। 

अरू त अरू निर्माता चिरञ्जीवी बस्नेत नै हिरोइनमा रेखा वा झ्रना नै चाहिन्छ भन्ने पुरानो रटान हराउँदै गएको बताउँछन्। उनी पनि नयाँहरूमा बढी क्षमता र सौन्दर्य देख्न थालेका छन्। भन्छन्, “कतिपयले नयाँ केटीलाई एकैचोटि एकल नायिका बनाएर चलचित्र बनाइरहेका छन्, क्षमता भएरै त होला!” नयाँ अनुहारको महत्व कति बढेको छ भने लेखक/निर्देशक विकास आचार्यले चलचित्र नाइँ नभन्नु ल मा ऋचासिंह ठकुरीलाई एकै पटक एकल नायिका बनाइदिए। अर्का निर्देशक सुमन दाहालले मन परेपछि मा त्यसअघि कतै नदेखिएकी कल्पना शाहीलाई प्रमुख भूमिका दिए। अभिनय क्षेत्रबाट पाखा लागिसकेका श्रीकृष्ण श्रेष्ठले पनि आफ्नो चलचित्र कहाँ भेटिएला मा नयाँ अनुहारकी श्वेता खड्कालाई एकल नायिका बनाए।

निर्देशक महेन्द्र बुढाथोकी भने दर्शकहरू पुराना तीन/चार नायिकाको अनुहार हेर्दा-हेर्दा वाक्क भइसकेकाले फ्रेस टेष्ट र ब्रेक दिनु उपयुक्त भएको बताउँछन्। “त्यसमाथि पुरानाहरू आफूलाई बढी नै व्यावसायिक देखाउन खोज्छन्, काम गर्ने उत्साह चाहिँ नयाँहरूमा हुन्छ”, उनी भन्छन्।

हुन पनि, पछिल्लो समयमा बनेका वा बन्दै गरेका चलचित्रहरूमा पुराना हिरोइनहरूको नामोनिशान देख्न पाइँदैन। नवीन सुब्बाले बन्दै गरेको आफ्नो चलचित्र गुडवाई काठमाडौं मा मिस नेपाल भएर पनि सिनेमा खेल्दिनँ भनेर बसेकी माल्भिकालाई नायिका बनाएका छन्। उता निर्देशक आकाश अधिकारीले सिने संसारमा विल्कुलै नयाँ संयुक्ता राणालाई चलचित्र काठमाडौं को मुख्य भूमिकामा लिएका छन्। संयुक्ता जस्तै केकी अधिकारी पनि चलचित्र स्वर र आइएम सरी को शीर्ष भूमिकामा आउँदै छिन्। यीबाहेक सौजन्य सुब्बा, सुमिना घिमिरे, काजोल खड्का आदिले पनि मुख्य भूमिका पाएका छन्।

हिरोइनमा नयाँ अनुहारलाई प्राथमिकता दिनेमा दीपक श्रेष्ठ र दीपक रायमाझी पनि कम अग्रसर छैनन्। कतिसम्म भने, हिजोआज जुनसुकै निर्देशक पनि कुराकानी थाल्नासाथ आफू नयाँ अनुहारको खोजीमा रहेको बताइहाल्छन्। यही मेसोमा निस्कन्छ, नायिका बनाइदिने लोभ देखाउँदै यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको चर्चा। रहरे केटीहरूलाई फिल्मी दुनियाँमा ब्रेक दिने लोभमा पार्ने निर्माता/निर्देशककै कारण कलिउडमा उद्योगभन्दा ठूलो यौन शोषण र कलाहीनताको चर्चा चुलिने गरेको छ।

जेसुकै कारणले भए पनि नेपाली सिनेमाको रङ्गीन पर्दामा तानिएका पुगनपुग तीन दर्जन युवतीमध्ये बढीमा एक दर्जनमा राम्रो अभिनयको सम्भावना देखिन्छ। केहीले अनुभव, अध्ययन र लगनबाट नेपाली सिनेमामा नाम राख्न सक्लान्। बाँकी चलचित्र क्षेत्रमा आएको नयाँ अनुहारको बाढीमा बगेर जाने एक जना निर्देशक बताउँछन्। उनका अनुसार धेरैजसो नायिका बेकाम सावित हुने प्रवृत्तिले नेपाली सिनेमाको स्तरोन्नति प्रक्रिया स्वतः धिमा भएर जानेछ । हिमालखबर

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s