हिरोइनलाई पढाइको चिन्ता


 पोखरा, साउनमा सप्रिएको सिरु, हरियो जंगल, नजिकै गर्जिरहेको सार्दीखोला। पारीपट्टीको कालो चट्टाने पहाडलाई पृष्ठभूमि बनाएर एक जोडी नाचिरहेका छन्। बैजनी रङका यी प्रेम जोडी एकान्त पहाडको डिलमा कहिले अँगालोमा कसिन्छन्, कहिले एकअर्काको हात समाउँदै लहसिन्छन्। लोभलाग्दो जोडीको यो क्रम दोहोरिन्छ।

‘कट’। नृत्यनिर्देशक कविराज गहतराजको आवाजपछि नवनायिका केकी अधिकारी र नायक आर्यन सिग्देल सम्हालिँदै छुटिन्छन्। केकी एकतिर फर्किन्छिन्। आर्यन त्यहीँ नजिक थचक्क बस्छन्।

कास्कीको उत्तरपश्चिममा पर्ने सार्दीखोलाको एक जंगलमा आइतबार सुटिङ हुँदै गरेको फिल्म ‘आई एम सरी’को दृश्य हो यो। डेढ महिनादेखि सुटिङमा व्यस्त रहँदा पट्यार लागेको बताइन् केकीले। ‘सुटिङ कहिले सकिएला झैं भइसक्यो,’ एकछिनको फुर्सदमा उनले भनिन्, ‘यति लामो समय घर छोडेको थिएन। परिवारको न्यास्रो र पढाइको चिन्ताले सताएको छ।’

फोनमा हुने कुराले न्यास्रो नमेटिने उनले बताइन्। ‘ममी र बाबासँग दैनिक कुरा हुन्छ। तैपनि झन् याद आउँछ,’ म्युजिक भिडियोको मोडलबाट हिरोइन हुँदै गरेकी केकीले भनिन्, ‘कोर्सले मलाई पर्खिएको छैन। सुटिङ लम्बिदा पढाइँ धेरै छुट्यो।’ केकी प्राइम कलेजमा ‘इन्फरमेसन म्यानेजमेन्ट’मा स्नातक गरिरहेकी छिन्। फिल्म निर्देशक बद्रि अधिकारीकी एक्ली छोरी केकीले बाबुकै प्रेरणाले अभिनयमा लागेको बताइन्।

नयाँ निर्देशक दिनेश राउतले फिल्मको ८० प्रतिशत सुटिङ पोखरा आसपासमा हुने जानकारी दिए। ‘अधिकांश नेपाली फिल्ममा उही फेवाताल र उस्तै हिमाल देखिन्छ,’ राउतले भने, ‘मैले यो फिल्ममा पोखराको नयाँ रूप देखाउने जमर्को गरेको छु।’ फिल्मका कतिपय सुटिङ पोखरा नजिकैका पहाड, खोंच, जंगल र भित्री बस्तीहरूमा गरिएको उनले बताए। निर्माता हरि महतले ८० लाख रूपियाँको हाराहारीमा फिल्म सकाउने जानकारी दिए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s