छाक टार्न बीस रुपियाँमा शरीर बेच्न बाध्य

रेखाकुसुम रेग्मी

केवल बीस रुपियाँमा शरीर बेच्ने गरेको सुन्दा सहरमा आरामदायी जीवन बिताउनेलाई अनौठो लाग्न सक्छ । अचम्म नलाग्ने कुरा पनि छैन । जाबो बीस त के घरपालुवा ‘पपी’लाई उनीहरूले दैनिक सय रुपियाँसम्म खर्च गर्न तयार हुन्छन् । अझ अन्य सौखिन बानी पूरा गर्न उनीहरूको ‘मनिब्याग’बाट मनग्गे दाम निस्किरहेको हुन्छ ।

तर नेपालमै यस्ता महिला पनि जो दुई छाक गर्जो टार्न बीस रुपियाँमै शरीर समर्पण गर्न बाध्य छन् । आफ्नो र परिवारको भोको पेट टार्नका लागि २० देखि २०० रुपियाँमा उनीहरूले आफ्नो शरीर बेचिरहेका छन् । शरीर बेच्ने रहर कसलाई पो हुन्छ र तर रोजगारीका आधार शिक्षा र सीप नभएपछि त्यही एउटा शरीरलाई धितो राख्नुपर्ने बाध्यता उनीहरूको छ । यति मात्र होइन गरिबीका नाममा श्रीमानले नै श्रीमतीलाई यौन पेसामा धकेलेका पनि छन् । बाँकेकी एक जना महिलालाई श्रीमानले नै घरमा आएका पाहुनासँग जबरजस्ती यौन पेसा गर्न लगाएर यस पेसामा लगाएका थिए । गरिबीकै कारण यौन पेसामा लागेकी उनी यस पेसाबाट छुटकारा पाउन चाहन्छिन् तर उनको सुनुवाइ गरिदिने कसले ?

कैलालीकी अर्की महिलाले श्रीमानले नहेरेपछि कलिला छोराछोरीको पालनपोषणका लागि यौन पेसा अपनाउन बाध्य भएको सुनाइन् । ‘न पढाइ लेखाइ छ न कुनै जागिर नै, न त श्रीमानले हेर्छन् न त छोराछोरीलाई पेटभरी खुवाउन सकिन्छ । हामी जस्ता केही नभएका मान्छेका लागि शरीर बेच्नुको अर्को विकल्प के नै छ र, उनी भन्छिन् ।

उमेरले नातिनातिनी देखिसकेकी चितवनकी एक अधबैंसे महिलाले आˆना चारजना छोराछोरीसहितको परिवारको नुन तेल जोर्न नै लुकिछिपी यौन पेसा गर्ने गरेको बताएकी थिइन् । घाँस दाउरा गर्न वन जङ्गल जाँदा यो पेसा अपनाएको बताउने उनले भनिन्, ‘चुलो बाल्ने बाध्यता हामी महिलालाई नै हुन्छ, घरमा खान पुग्दैन । भएका छोराछोरीलाई भोकै पनि मार्न सकिँदैन ।’

साँझ बिहानको छाक टार्ने कुनै आधार नपाएपछि महिला यौन पेसामा लागेको देखिन्छ । चितवन, बाँके, कैलाली र दाङ जिल्लाका केही यौनकर्मी महिला त सँगोलमा परिवारमा बस्छन् । यिनीहरूका छोराछोरी, नातिनातिना, श्रीमान, सासु ससुरा पनि छन् । लोग्ने, सासु सुसराको काम पनि नहुने, दिनभरी जाँड रक्सी पिउने, तास खेल्ने तर साँझ चुलो सल्काउन हामीलाई नै पर्ने भएकाले छोराछोरीलाई भोकै मार्नु भएन क्यारे, यौन पेसामा लाग्नुको कारण बारे सबैको एकमुष्ठ उत्तर यही थियो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन

(आईएलओ) ले नेपालबाट बर्सेनि करिब १२ हजार महिला तथा बालिका विदेशिने गरेको तथ्याङ्क सार्वजनिक गरिसकेको छ । विदेशिनेमध्ये धेरैजसो महिला तथा बालिका बम्बैको कोठीमा बेचिने गरेको अधिकारीहरूको अनुमान छ । सर्कसमा पुग्ने नेपाली चेलीको कथा व्यथा पनि कम पीडादायी छैन । सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका महिलालाई केलाउने हो भने छोराछोरीको पेट भर्न यौन पेसामा लागेको देखिन्छ । त्यसो त सहरी क्षेत्रमा पनि यौन पेसा फस्टाउँदो छ तर कोही बाध्यताले लागेका छन् कसैको सौख बनिसकेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s