दोहा -कतार), श्रावण १२ – कतारका सबै टेलिकम सेवा प्रदायक कंपनीहरुले बुधबारदेखि मोवाईल र ल्याण्डलाईन टेलिफोनका नंम्बरहरु परिवर्तन गरेका छन् । कतारमा अहिलेसम्म ७ डिजिट -अंक)को नम्बर प्रयोग हुँदै आएकोमा अबदेखि ८ डिजिट भएको छ । परिबर्तित नम्बर अनुसार जुन डिजिटबाट फोन नम्बर शुरु भएको छ त्यसको अघि त्यही नै नम्बर थपिएको छ । कतारमा ३, ४, ५, ६ र ७ नम्बरबाट शुरु हुने मोवाईल/फोन नम्बरहरु स्वतः क्रमशः ३३, ४४, ५५, ६६ र ७७ नम्बरमा बदलिएका छन् ।
तर डायल गर्नको लागि भने थपिएको नयाँ नम्बर समावेश गर्नुपर्ने हुन्छ । जस्तै पहिलेको फोन नम्बर ४३१६३८७ भएकोमा अबदेखि ४४३१६३८७ मा डायल गर्नुपर्ने छ ।
तर कतारको कन्ट्री कोड र तीन अंके इमजेन्सी सेवाका नम्बरहरु भने परिवर्तन भएका छैनन् । कतारको कन्ट्री कोड ००९७४ हो । यदी फोन डायल गर्ने व्यक्तिले पुरानो नम्बरमा डायल गरेमा पनि टेलिकमले स्वचालित रुपमा थप्नु पर्ने नम्बर भनिदिने गरेको छ । टेलिकम कंपनीहरुले तीन महिनासम्म थप्नु पर्ने नंबर भनि दिने जनाएका छन् ।
कतारमा क्युटेल र भोडाफोन गरी दुई वटा टेलिकम कंपनीहरुले मोवाईन, फोन सेवा प्रदान गर्दै आएका छन् । बैदेशिक रोजगारको एक गन्तब्य रहेको कतारमा साढे तीन लाख भन्दा बढी नेपाली कार्यरत छन् ।















































