श्रम मन्त्रालयले इराकमा वैदेशिक रोजगारीमा जान लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयलाई ३० हजार नेपाली रोजगारीका लागि अवैध बाटोबाट इराक गएको जानकारी पठाएपछि ती कामदारको समेत हितलाई ध्यानमा राखेर प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिए ।
इराक र अमेरिकाबीच युद्ध सुरु भएपछि नेपालले ‘युद्धग्रस्त’ मुलुक भन्दै कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । ०६१ भदौ १६ मा इराकमा १२ नेपालीको हत्या भएपछि संयुक्त अरब इमिरेट्सको अनुरोध तथा परराष्ट्र मन्त्रालयको सिफारिसमा त्यहाँ जान रोक लगाइएको थियो । त्यसयता, नेपाली राहदानी बाहक कामदारको राहदानीमै ‘इराकबाहेक’ भनी छाप लगाउने गरिएको थियो । तथापि, अवैध बाटोबाट केही कामदार इराक पुगेको जानकारी पाएपछि मन्त्रिपरिषद्ले ०६५ साल मंसिर २५ गते निर्णय गरी इराक जान प्रतिबन्ध लगाएको सहसचिव भट्टराईले बताए ।
“तर पछिल्लो पटक भारतलगायतका देशले इराक प्रतिबन्ध फुकुवा गरेका छन्,” भट्टराईले भने । उनले परराष्ट्र मन्त्रालयसँग भारतलगायतका देशले फुकुवा गरेको अवस्थामा नेपालले पनि प्रतिवन्ध फुकुवा गर्न सक्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
श्रम मन्त्रालयले त्यहाँस्थित कामदारको संख्या र उनीहरूको अवस्थाबारे जानकारी लिन वैदेशिक रोजगार विभाग एवं वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायत वैदेशिक रोजगार व्यवसायी संस्थाहरूसँग समन्वय गर्न लागेको छ । “अवैध बाटोबाट कामदार प्रतिबन्धित मुलुकमा पुग्नुमा वैदेशिक रोजगार विभाग र विभिन्न व्यावसायिक संस्थाहरूको कैफियत देखिन्छ,” भट्टराईले भने, “हामीले परराष्ट्र मन्त्रालयसँग पनि सूचनाहरू माग गरेका छौं ।”
भट्टराईले भारतले समेत प्रतिबन्ध लगाएको अवस्थामा कामदार इराक पुगेकोमा आश्चर्य प्रकट गरे । उनले नेपालले प्रतिबन्ध फुकुवा गर्दैमा इराक पठाउन इजाजत दिइने अर्थमा नबुझ्न आग्रह गरे ।
प्रतिबन्धका बाबजुद कुनै वैदेशिक रोजगार संस्थाले नेपाली कामदार इराक लगेको पाइएमा वैदेशिक रोजगार व्यवसायी संघमार्फत विभागबाट अनुमति दिएको मुलुक र करारबमोजिम काममा फर्काउन मन्त्रालयले निर्देशन दिइसकेको छ । मन्त्रालयले विभागसँग इराक कामदार पठाउने म्यानपावरहरूको विवरणसमेत माग गरेको छ ।
यस्तै, मन्त्रालयले प्रतिबन्ध फुकुवा गरी समस्या समाधान गर्ने विषयमा भारत सरकारसँग जानकारी लिन परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने भएको छ ।
भारत सरकारले मे महिनामा निर्णय गरी कामदार पठाउने प्रतिबन्ध हटाएको भए पनि कामदार जान अनुमति नदिएको सहसचिव भट्टराईले बताए । नेपालले प्रतिबन्ध फुकुवा गरी रोजगार अनुमति खुला गर्दा कस्तो आधार र सर्त अपनाउने भन्ने विषयमा मन्त्रालयले छलफल अघि बढाएको उनले जानकारी दिए ।
बक्स
लिबियाबाट कामदार फर्काइने
श्रम मन्त्रालयले लिबियास्थित सीकेजी कम्पनीमा काम गर्न गएका १ सय ८ कामदार अलपत्र परेपछि उनीहरूलाई फर्काउने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।
मन्त्रालयले तत्काल उद्धारका लागि आर्थिक स्रोत जुटाइसकेको बताएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)को सहयोगमा कामदारहरूको स्वास्थ्य परीक्षण गरिएको र कामदार फर्काउन त्यहाँका सरकारी निकायसँग समन्वय भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।














































It’s good news for all NEPALI BROs. & SISs. to stay in IRAQ little more. We knews about in Nepal “berojgari samasya”, ” mahangi” and main thing “NEPAL BANDA”. Thanx to “The Ministry of Foreign Affairs” to help us out here.
All Bros & Siss stay safe and cool
PEACE & JOLLY.
D’pac, from Liberty.