काठमाडौँ । हातभरि हरियो पहेँलो चुरापोते, अनि हरियो रङ्गको पोशाकमा सजिएर हिन्दू धर्मावलम्बी महिलाहरू साउन महिनाभर भगवान शिवको पूजा आराधना गर्छन् । साउन महिना सुरु भएको हुनाले महिलाहरू आफ्नो श्रीमानको दीर्घायु र मनोकामना पूरा होस् भन्ने कामना गर्दै व्रत, तीर्थ गरी शिवको पूजा गर्ने चलन रहिआएको छ ।
‘मनोकामना पूरा हुने भएकाले व्रत बस्ने गरेकी छु,’ गौशाला निवासी ४५ वर्षीया जया शर्माले भन्नुभयो– हरियो र पहेँलो चुरापोते लगाउने चलनचाहिँ पछि आएको हो, हिन्दूधर्म मान्ने भएकाले साउनमा सोमबार व्रत पहिलेदेखि नै बस्दै आएकी छु । उहाँले श्रीमानको दीर्घायु र सन्तानको सुखशान्तिको कामना गर्दै साउने सोमबारको व्रत बसी भगवान शिवको पूजा आराधना गरी जल चढाउने गर्नुभएको छ । हरियो र पहेँलो चुरामा सजिएर भगवान शिवको दर्शन गर्न पशुपतिनाथको मन्दिरमा पुग्नुभएकी बौद्धकी २८ वर्षीया वीना थापालाई साउन महिनामा हरियो चुरापोते लगाइने चलनबारे केही जानकारी छैन । उहाँ भन्नुहुन्छ– सबैले हरियो, पहेँलो चुरा लगाउनुपर्छ, शिवको पूजा गर्नुपर्छ भन्छन्, म पनि पूजा गर्न आएँ ।
साउन महिनामा हरियो चुरा र पोते लगाउने प्रचलनका विषयमा कुनै तथ्य नभए पनि पछिल्लो समयमा यो एउटा फेसनको रूपमा विकास भइरहेको छ । विवाहिता, अविवाहिता मात्र हैन, वृद्धदेखि बच्चालाई समेत हातभर हरियो र पहेँलो चुरा लगाइदिने फेसन नै बनेको छ । कलेजमा पढ्ने छात्राहरूले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो र पहेँलो रङ्गको चुरा लगाउने फेसनको रूपमा विकास भएको छ । उनीहरूलाई हरियो र पहेँलो चुरा लगाउनुको धार्मिक एवम् सांस्कृतिक महत्व थाहा छैन । हरियो चुराको सन्दर्भमा ग्रामीण महिलाको कथनअनुसार दुई पुत्र भएकी महिलाबाट चारवटा हरियो रङ्गको चुरा लिएर लगाएमा पुत्र प्राप्ति हुन्छ भन्ने अन्धविश्वास पनि रहिआएको छ ।
सौन्दर्य र फेसनका लागि महिलाहरूले हरियो र पहेँलो रङ्गको चुरा लगाएका हुन्, धार्मिक तथा सांस्कृतिकविद् डा गोविन्द टण्डन भन्नुहुन्छ– हरियो चुरा र पोते लगाउने धार्मिक तथा सांस्कृतिक महत्व छैन तर, सुन्दरता र फेसनको रूपमा यसको प्रयोग भइरहेको छ । चुराको इतिहास इजिप्टबाट सुरु भएको मानिए पनि नेपाली बजारमा अधिकांश चुरा र मेहेन्दी भारतीय बजारबाट आयात हुने गरेको छ ।















































