मह जोडी व्यापारिक विज्ञापनमा !

सामाजिक सेवा तथा सूचनामूलक विज्ञापन अभिनय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडी संभवत पहिलो पटक व्यापारिक विज्ञापनमा देखिएका छन् । आफ्ना वस्तु तथा सेवाको प्रचार प्रसारका लागि हजारौं व्यवसायीक विज्ञापन प्रस्ताव अस्वीकार गर्दै आएका मह जोडीले पछिल्लो पटक डिस मिडियाको व्यावसायिक विज्ञापनमा अभिनय गरेका छन् ।
सामाजिक चेतना तथा अभिप्रेरणा झल्काउने टेलिचलचित्र एवं सूचनामूलक विज्ञापनमा मात्र देखिने प्रतिष्ठित र असाध्यै सिर्जनशील मानिने मह जोडीको विज्ञापनले नेपालको विज्ञापन व्यवसायमाक तरङ सिर्जना गराएको छ । नेपाली व्यावसायिक विज्ञापनमा गुणस्तरीयता, भाषिक शुद्धता र विज्ञापन सुहाउँदो मोडलिङ नभएकाले अभिनय–रुचि नदेखाएको बताएपनि यो विज्ञापनमा आएका छन् । समग्र नेपाली विज्ञापनमा विज्ञापनको आलेखले मागेअनुरुप मोडल र मोडलिङ नहुँदा गुणस्तरीय विज्ञापनको माग बढेको भन्दै पछिल्लो समयमा व्यापारिक विज्ञापनमा आउने निर्णय गरेको मह जोडीको भनाइ छ ।
मह जोडीको यो निर्णय नेपाली विज्ञापन बजारका लागि सकारात्मक पक्ष भएको नेपाल विज्ञापन संघ (आन) ले जनाएको छ । मह जोडी नेपालका सेलिब्रेटी हुन्, यिनीहरूले अभिनय गरेको विज्ञापनमा सर्वसाधारणदेखि संघ–संस्था एवं सरकारले समेत सकारात्मक रूपले लिने भएकाले व्यापारिक विज्ञापनमा उनीहरू देखिनु राम्रो पक्ष भएको आनका अध्यक्ष निर्मलराज पौडेलले बताए ।
“मह जोडीले अभिनय गरेको विज्ञापनले छिटो बजार लिने भएकाले पनि मह जोडी व्यापारिक विज्ञापनमा आउन खोज्नु नेपाली विज्ञापन बजारका लागि राम्रो अवसर हो,” अध्यक्ष पौडेलले भने ।
पछिल्लो पटक डाइरेक्ट टु होम (डीटीएच) सेवा सञ्चालनका लागि प्रक्रियामा रहेको डिस मिडिया प्रालिको विज्ञापनमा मह जोडी देखापरेका हुन् । यो विज्ञापन नेपालकै महँगो विज्ञापन हो । डिस मिडिया सर्वसाधारणको चासोको विषय पनि हो । हरिवंश आचार्यले यसअघि सीताराम दूधको विज्ञापनमा अभिनय गरेको भए पनि मदनकृष्ण श्रेष्ठको भने व्यापारिक विज्ञापनका लागि यो नै पहिलो अभिनय हो ।
“हामीले धेरै अध्ययन गरेर, हेरेर, बुझेर राम्रो लागेपछि विज्ञापनमा अभिनय गरेका छौं,” श्रेष्ठ भन्छन् । आउँदा दिनमा पनि व्यावसायिक विज्ञापनमा अभिनयलाई निरन्तरता दिइने भन्दै श्रेष्ठ छानिएका विज्ञापनमा मात्र अभिनय गरिने बताउँछन् । व्यापारिक विज्ञापनले पनि व्यापारिक सन्देशमात्र नभएर समाजमा सही चेतना पनि फैलाउनुपर्ने उनको विचार छ । सरकारले डाइरेक्टु टु होम सेवाको लागि पहिलो पटक लाइसेन्स दिनु राम्रो भएको भन्दै श्रेष्ठले यो सेवा नेपालका लागि अपरिहार्य भएको बताए । यो विज्ञापनमा उनीहरूले डिस मिडियाको सेवा ‘क्लियर र रियल’ छ भन्ने प्रस्तुति गरेका छन् ।
“आफैं विश्वस्त नभई खेलेको विज्ञापनले समाजले नराम्रो असर पनि पार्नेछ,” मह जोडी भन्छन्, “हाम्रो काम भनेको समाजलाई सही मार्ग देखाउनु हो ।” नेपाली र विदेशी गरी ७० वटासम्म च्यानल आउने डीटीएच सेवा बजारमा छिट्टै आउन लागेको डिस मिडियाले जनाएको छ ।
मह जोडीले यसलगत्तै दोस्रो व्यापारिक विज्ञापनका रूपमा ‘वेस्टर्न युनियन मनी ट्रान्सफर’ को विज्ञापनमा अभिनय गर्ने भएका छन् । त्यसयता, उनीहरूलाई व्यावसायिक विज्ञापन आबद्ध गराउन तीव्र माग आइरहेको छ ।
“व्यापारिक विज्ञापनमा अभिनय गर्न धेरै उद्योगी तथा उत्पादकले भनिरहेका छन्, हाम्रै कामले पनि व्यस्त छौं, त्यसमा पनि विश्वस्त नभई हामी अभिनय गर्दैनौं,” मह जोडीले भने । ‘वेस्टर्न युनियन मनी ट्रान्सफर’ का लागि सम्झौता भइसके पनि पारिश्रमिक कति हो भन्ने चाहिँ उनीहरूले खुलाउन चाहेनन् ।
“अरू मुलुकमा २० देखि ३० करोडसम्म एउटा विज्ञापनलाई दिए पनि हाम्रो देशमा त्यो छैन, यहाँको परिवेशअनुसार पारिश्रमिक लिएका छौं,” उनीहरूले भने । पारिश्रमिकको केही प्रतिशत समाज सेवामा लगाउने योजना भएको उनीहरूको भनाइ थियो ।
सामाजका लागि आवश्यक र सूचनामूलक तथा विज्ञापन हेरेर पैसा नलिई पनि अभिनय गरिने उनीहरूले बताए । देश र जनताका लागि आवश्यक र अपरिहार्य भएमा निःशुल्क रूपमा मेहनत र परिश्रम गर्नु कर्तव्य भएकाले समय, परिस्थिति हेरेर शुल्क लिने या नलिने निर्णय हुने मह जोडी बताउँछन् ।
हालसम्म १ सयभन्दा धेरै टेलिचलचित्रमा अभिनय गरेका मह जोडीको व्यापारिक विज्ञापनको आगमनलाई स्वागत गरिने विज्ञापन एजेन्सीहरू बताउँछन् ।
नेपालमा ३५ लाखसम्मका विज्ञापन बनेको भए पनि ठूलो रकम खर्च गर्नुपर्ने विज्ञापनका लागि भारतीय निर्देशक नै आउने गरेको विज्ञापन एजेन्सीहरूको अनुभव छ । “भारतीय ५० लाख रुपैयाँमा बन्ने विज्ञापन अब नेपालमा १५ लाखमै बनाउन सकिने दक्ष जनशक्ति उत्पादन भइसकेको छ,” आनका अध्यक्ष पौडेलेले भने ।
पछिल्लो समयमा बहुराष्ट्रिय कम्पनीहरू विज्ञापनका लागि नेपालमा आउने क्रम पनि बढ्दै गएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s