नायक निखिल उप्रेतीले झापाको भद्रपुरमा कसम फिल्मको सुटिङ गरिरहेको जानकारी प्राप्त भएको छ । नायिका सञ्चिता लुईटेलसँग दोस्रो बिहे गरेर साढे तीन महिनाअघिदेखि मुम्बई बस्न थालेका निखिल काठमाडौँ आउँदा पारिवारिक झमेलामा फसिने डरले कसम फिल्मका निर्मातालाई भारतमै सुटिङ गर्न बोलाएका थिए ।
निखिलले आफ्नो सुटिङ भारतमा गर्ने सर्त सारेपछि कसमका निर्माण नियन्त्रक प्रकाश महरा उनलाई लिन मुम्बई पुगे । निखिललाई मुम्बईबाट झापा हुँदै सिक्किम पुर्याइयो । कसम युनिट पनि मात्रै सिक्किम पुग्यो । सञ्चिता र आफ्नो बिहेका बारेमा बोल्नै नचाहने निखिलले केही दिन सिक्मिकमा सुटिङ गरे । तर, खराब मौसमका कारण त्यहाँ सुटिङ गर्न नसकिने भएपछि अहिले झापाको भद्रपुरमा सुटिङरत छन् ।
यता, निर्माता दीपक रमण निखिल सिक्किममा रहको थाहा पाएर आफ्नो फिल्म मन परेपछिको डबिङ गराउन हार्डडिस्क बोकेर सिक्किम पुगे तापनि निखिलले समय दिन नसकेकाले उनी खालीहात काठमाडौँ र्फकनुपर्यो । ‘कसमको सुटिङ भइरहेको ठाउँबाट डबिङ स्टुडियो पुग्न गाडीमा चार घन्टा लाग्दो रै’छ । डबिङ गर्न सम्भवै नभएकाले फर्कें,’ निर्माता दीपकले भने । अन्य कलाकारको डबिङ सकिए पनि निखिलको बाँकी रहेकाले मन परेपछिको अन्य प्राविधिक काम अघि बढ्न सकेको छैन ।
मन परेपछिका निर्देशक सुमन दाहालका अनुसार निखिलले उनलाई मंगलबार झापाबाट फोन गरेर डबिङ गर्न सिलगुढी बोलाएका छन् । निखिलले आफूलाई कसमको सुटिङ चार-पाँच दिनमा सकिने र त्यसपछि मन परेपछिको डबिङ सिलगुढी गएर गरौँ भनेको बताउँदै उनले भने, ‘चार-पाँच दिनमा हार्डडिस्क बोकेर सिलगुढी जाने योजनामा छु । जसरी भए पनि डबिङ त गराउनै पर्यो नि ।’
देखाइयो कन्यादान
काठमाडौँ/ बिहीबारदेखि मोफसलका चार दर्जन हलमा प्रदर्शन हुन लागेको कन्यादान फिल्मको मंगलबार राजधानीमा प्रेस शो गरियो । शोभित बस्नेतको निर्देशनमा बनेको कन्यादान कमेडी र सेन्टिमेन्टल मसलाले भरिएको छ ।
कुमारी हलमा गरिएको प्रेस शोमा कन्यादानका कलाकार, प्राविधिक तथा अन्य फिल्मकर्मीको बाक्लो उपस्थिति थियो । फिल्ममा धीरेन शाक्य, विराज भट्ट, सृजना बस्नेत, कुशल थापा, रञ्जना शर्मा, जयकिशन बस्नेत, कञ्चन रेग्मी, सुभाष गजुरेल, उत्तम केसीका साथमा निर्देशक शोभितसमेत प्रमुख भूमिकामा छन् । धु्रव लम्सालको लेखन रहेको यो फिल्ममा शम्भुजित बाँस्कोटाले संगीत दिएका छन् । फिल्ममा निर्देशक शोभित विभिन्न सात रोलमा अभिनीत छन् ।













































