रोनाल्डो बाबु बने

प्रि-क्वाटरफाइनलमा स्पेनबाट पराजित भएर घर फर्किएको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू बाबु बनेको समाचार सार्वजनिक गरेर आफ्ना शुभचिन्तकहरूलाई प्रफुल्ल बनाएका छन् । अविवाहित रोनाल्डोले आफू बाबु बनेको समाचार आफ्नो आधिकारिक वेबसाइट फेसबुक र ट्वीटरमार्फत गरेका छन् ।
रोनाल्डोले आफ्नी श्रीमतीको नाम र शिशु जन्मिएको मिति भने सार्वजनिक गरेका छैनन् । उनले अहिले शिशु र आमा स्वस्थ रहेको र म अहिले उनीहरूको हेरचाह गरिरहेको छु भनेका छन् । अविवाहित रोनाल्डोले कुन महिलासँग विवाह गरे भन्ने कुरा रोनाल्डोको परिवारका सदस्यबाहेक कसैलाई पनि थाहा छैन । २५ वषर्ीय रोनाल्डोले भने- ‘तपाईंहरूले मेरो गोपनियताको कदर गर्नुहुनेछ भन्ने आशा राखेको छु । स्पेनका केही सञ्चारमाध्यमले रोनाल्डोकी प्रेमिका को हुन सक्छिन् भन्ने विषयमा विभिन्न अनुमान गरिरहेका छन् ।’
पोर्चुगलका सञ्चार माध्यमहरूले भने रोनाल्डोकी आमा डोलोरेस तथा दिदी इल्मा र काटी अहिले शिशुलाई स्पेनबाट पोर्चुगल लाने कागजपत्र बनाइरहेको जनाएका छन् । उक्त कागजातमा रोनाल्डोकी श्रीमती अमेरिकी मुलकी रहेकी र रोनाल्डो छोराको बाबु जुन महिनामै बनेको जनाइएको छ । सन् २००९ मा रोनाल्डो लसएन्जलस र मियामीको भ्रमणमा रहँदा त्यही ती महिलासँग उनको प्रेम भएको अनुमान गरिएको छ ।
दर्शकमा कीर्तिमान
विश्वकप फुटबल प्रतियोगितामा पैसा तिरेर हेर्ने दर्शकको संख्यामा नयाँ कीर्तिमान कायम हुने आयोजक समितिले जनाएको छ । आयोजक समितिका निर्देशक ड्यानी जोड्र्यानका अनुसार यो विश्वकप ३० लाख दर्शकले रंगशालामा गएर हेर्नेछन् । पहिलो दुई चरणका खेल २० लाख ६९ हजार दर्शकले हेरेका थिए । क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेल हामीले बढी क्षमता भएको रंगशालामा आयोजना गरेका कारण हाम्रो अनुमानअनुसार ३० लाख दर्शकले रंगशालामा गएर हेर्नेछन् । यसअघि सन् १९९४ मा अमेरिकामा सम्पन्न विश्वकपमा रंगशालामा गएर हेर्नेको संख्या बढी थियो ।
हिल्टन पक्राउ
दक्षिण अफ्रिकामा विश्वकप फुटबल प्रतियोगिता हेर्न पुगेकी हलिउड नायिका पेरिस हिल्टन गाँजा सेवन गरेको अभियोगमा पक्राउ परेकी छिन् । ब्राजिल र नेदरल्यान्डबीच भएको खेलपछि स्थानीय प्रहरीले उनलाई गाँजा सेवन गरेको अभियोगमा पक्राउ गरेको थियो । यद्यपि उनलाई साधारण सोधपुछपछि रिहा गरियो । हिल्टनका अनुसार प्रहरीले शंकाका आधारमा सोधपुछ गरेको हो । वास्तविकता थाहा पाएपछि रिहा गर्यो । हिल्टन होटलका संस्थापक कोन्रेड हिल्टनकी पनातिनी पेरिस यसअघि पनि लसएन्जलसमा ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा पक्राउ परेकी थिइन् ।
महँगो भुभुजाला
यसपटक विश्वकपले स्थानीय भुभुजाला बाजालाई अन्तर्राष्ट्रियकरण गर्यो । भुभुजालाको बढ्दो लोकपि्रयतालाई लिएर अस्टि्रयाका एक सुनारले प्लास्टिकको भुभुजालालाई सेतो सुन र हीरा जडेर रूसका एक व्यापारीलाई बिक्री गरेका छन् । विश्वकप समाप्त भएको दिन क्रेतालाई दिने सर्तमा उनले उक्त भुभुजाला २० हजार ८ सय डलरमा बिक्री गर्ने तय गरेका थिए ।
ब्राजिल रमाउँदै
ब्राजिलियन टिम क्वाटरफाइनलमा नेदरल्यान्डबाट पराजित भएर घर फर्किए पनि ब्राजिलका समर्थकहरू अरूको पराजयमा खुसी मानिरहेका छन् । विश्वकपमा सधैं ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनाबीच वाकयुद्ध चल्छ । यो क्रम यो विश्वकपमा पनि रोकिएन । ब्राजिल पहिले पराजित भएर घर फर्कियो तर ब्राजिलियनहरूले आफ्नो चीर प्रतिद्वन्द्वी अर्जेन्टिना पराजित भएपछि आतिशबाजी तथा नाच गान गरेर खुसी मनाए । अर्जेन्टिनाको पराजयमा ब्राजिलका सञ्चारमाध्यमहरूले खुसी व्यक्त गर्दै समाचारसमेत प्रकाशित गरेका थिए ।
Source: Saptahik















































