प्रकाश ओझाका १० जोक


 

वामदेवको बठयाइँ

चुनावका बेला थियो । आफ्नो चुनावी क्षेत्रका केही स्थानमा वामदेव गौतमलाई भाषण गर्नु थियो, भोट माग्नु थियो । तर, उनको घाँटी नराम्ररी दुखिरहेको थियो । त्यसैले उनी धेरै बोल्न चाहँदैनथे ।

एक ठाउँमा आमसभा सुरु भयो । ठूलो भीड थियो । वामदेव बोल्न थाले, ‘आदरणीय जनसमुदाय, आज म यहाँ जुन विषयमा बोल्न गइरहेको छु, तपाईंहरू सबैलाई थाहै छ ।’

‘थाहा छ, थाहा छ,’ भीडबाट आवाज आयो ।

‘जब तपाईंहरूलाई सबै थाहा छ भने मैले किन बोल्नु ? धन्यवाद !’ यति भनेर वामदेव गए ।

भोलिपल्ट अर्का ठाउँमा आमसभा थियो । भीडमा हिजो वामदेवले बोलेको कुराको चर्चा थियो । ‘वामदेवजीले ‘म के विषयमा बोल्न गइरहेको छु, तपाईंहरूलाई थाहै होला’ भनेर सोध्दा ‘थाहा छ’ भन्यो भने भाषण गर्दैनन् । सबैले ‘थाहा छैन’ भन्नुपर्छ,’ मानिसले सल्लाह गरे ।

वामदेव आए । र, भाषण सुरु गरे- आज म जुन विषयमा बोल्दै छु, त्यसबारे तपाईंहरू सबैलाई थाहै होला ।’

‘थाहा छैन, थाहा छैन,’ सम्पूर्ण भीडले एकै आवाजमा भन्यो ।

‘अब तपाईंहरूको यत्रो भीडलाई त थाहा छैन भने मलाई कसरी थाहा हुन्छ ? धन्यवाद !’ वामदेव यति बोलेर हिँडे ।

तेस्रो दिन अर्का ठाउँमा कार्यक्रम थियो । चर्चा थियो वामदेवकै भाषणको ।

‘थाहा छ भन्यो पनि जान्छन्, थाहा छैन भने पनि जान्छन्,’ भीडमा सल्लाह हुन थाल्यो, ‘त्यसैले अब वामदेवले सोध्दा आधाले थाहा छ भन्ने, आधाले थाहा छैन भन्ने । हेरौँ के गर्दारहेछन् ?’

वामदेव बोल्न थाले, ‘आदरणीय जनसमुदाय, आज म कुन विषयमा बोल्दै छु, तपाईंहरूलाई थाहै होला ।’

‘थाहा छ, थाहा छ,’ भीडको आधा हिस्साबाट जवाफ आयो ।

‘थाहा छैन, थाहा छैन,’ भीडको अर्का भागले भन्यो ।

वामदेवले एकछिन दायाँ-बायाँ हेरे । र भने, ‘थाहा हुनेले थाहा नहुनेलाई भनिदिनुहोला । धन्यवाद !’

बुधलालको पहिलो भाषण

एक विकट ठाउँमा चुनावमा एनेकपा माओवादीले आफ्नो पार्टीबाट उठ्ने उम्मेदवार नै भेटेनन् । धेरैलाई उम्मेदवार बन्न आग्रह गरियो, तर कसैले मानेनन् । धेरै प्रयत्नपछि एक युवक भेटिए, जो बलिया र हट्टाकट्टा थिए ।

‘तर, मलाई भाषण गर्न आउँदैन,’ केन्द्रबाट उम्मेदवार खोज्न खटाइएका नेतालाई युवकले आफ्नो समस्या राखे ।

‘डराउनु पर्दैन । जे आउँछ त्यही बोल, तर भाषणको अन्त्यमा चाहिँ आफ्ना लागि भोट माग्न नबिर्स,’ नेताले युवकलाई सिकाए ।

भाषण गर्ने दिन आयो । मानिस जम्मा भए । युवकले दिएको भाषण यस्तो थियो- मेरो नाम बुधलाल हो । मलाई भाषण गर्न आउँदैन । भाषण त गर्नुहुन्छ हाम्रा पार्टीका अध्यक्ष प्रचण्डज्यू जसको कोटको खल्तीमा सधैँ गुलाबको फूल हुन्छ …गुलाबबाट गुलकन्द बन्छ …गुलकन्द कब्जियतको ओखती हो …. कब्जियत सम्पूर्ण रोगको मुख्य जरा हो …. जरा खरबुजाको राम्रो हुन्छ …खरबुजाले खरबुजालाई देख्दा आफ्नो रंग बदल्छ ….रंग जर्मनीको राम्रो हुन्छ…. जर्मनीमा एउटा शासक थियो, जसले धेरै वार गराएको थियो ….जस्तो सम्झनुहोस् कि आइतबार, सोमबार, मंगलबार, बुधबार….बुधबारलाई सम्झनुहोस्, बुधलाललाई भोट दिनुहोस् ।’

सभाध्यक्ष र वकालत नपढेको गोरु

सभाध्यक्ष सुभाष नेम्वाङ वकिल हुनुभन्दा अघिको कुरा हो । त्यतिबेला उनी जिल्ला अदालत इलाममा लेखापढी गर्थे । दिनहुँ एक घन्टाको बाटो हिँडेर अदालत आइजाइ गर्थे । बाटोमा कोल पेल्ने ठाउँ (गोरु घुमाएर ढुंगे मेसिनबाट तोरी पेल्ने ठाउँ) थियो । गोरु घुमिराखेको हुन्थ्यो, तेल झरिरहेको हुन्थ्यो । तर, अचम्म गोरु मालिकचाहिँ कोलभन्दा परको चौतारीमा हुक्का तानेर बसिराखेको हुन्थ्यो ।

‘गोरु मालिक सधैँ पर हुक्का तान्दै बस्छ, गोरु घुमे नघुमेको कसरी थाहा हुन्छ ?’ यस प्रश्नले उनलाई सधँै पिरोल्थ्यो ।

एक दिन उनले गोरुमालिकलाई सोधे, ‘ए बा, तपाईं यहाँ बसेर हुक्का तानिरहनुभएको छ । उहाँ तपाईंको गोरुले कोल पेलेको छ कि छैन तपाईंलाई कसरी थाहा हुन्छ ?’

‘ए बाबु, मैले गोरुको घाँटीमा घन्टी झुन्डयाइदिएको छु,’ गोरुमालिकले भने, ‘गोरु घुमे नघुमेको म यहीँ बसीबसी सुनेर थाहा पाउँछु ।’

नेम्वाङ ‘ए’ भनेर बाटो लागे । तर, पाँच मिनेटपछि उनी फर्किए र गोरुमालिकलाई सोधे, ‘ए बा गोरु घुमेर घन्टी बज्यो भनेर त तपाईं थाहा पाउनुहुन्छ । तर, गोरु नघुमी उभिएर दायाँ-बायाँ घाँटी मात्रै हल्लाएर घन्टी बजाएर बस्यो भने नि ?’

गोरुमालिकले हाँस्दै भने, ‘ए बाबु, मेरो गोरुले तिमीले जस्तो वकालत पढेको छैन । त्यसैले त्यसले गडबड गर्दैन ।’

विपक्षीलाई दोब्बर वरदान

एक चुनावी क्षेत्रमा दुईजना प्रतिस्पर्धी उम्मेदवार थिए । तीमध्ये एकजना शिवको अनन्य भक्त थियो । एक दिन शिवजीले उसलाई दर्शन दिए र भने, ‘म तिम्रो भक्तिबाट प्रसन्न छु । वरदान माग । तर विचार गर, तिमीले जे माग्छौ म तिमीलाई दिन्छु, तर तिम्रो विपक्षीलाई तिमीले मागेभन्दा दुईगुणा दिन्छु ।’

‘हुन्छ भगवान्,’ उसले खुसी हुँदै भन्यो ।

‘माग !’ कैलाशपतिले आदेश दिए ।

उसले वरदान माग्यो- ‘प्रभु, मलाई कुटेर अधमरो बनाइदिनुस् ।’

एक नेताको बानी कस्तो थियो भने आफूले सामान्य कुरा भनेपनि उनलाई ‘कत्ति न ठूलो कुरा भनेँ’ जस्तो लाग्थ्यो । त्यसमाथि कार्यकर्ताले ताली बजाइदिएपछि त उनी झन् उक्सिन्थे ।

वाह नेताज्यू

नेता भन्थे, ‘आदरणीय जनसमुदाय, वषर्ा भएन भने मौसम सुक्खा हुन्छ ।’ कार्यकर्ता ताली बजाउँथे र नेतालाई हौसाउँथे, ‘हो-हो, महान् कुरा गर्नुभयो ।’

उनको भाषण ननस्टप जान्थ्यो, ‘साथीहरू हो म यो कुरा तपाइर्ंहरूलाई भन्न जरुरी ठान्छु कि जुन सिढीँबाट माथि चढिन्छ, त्यही सिढीँबाट तल पनि ओर्लिइन्छ ।’

कार्यकर्ता दिल खोलेर ताली बजाउँथे र नेताको प्रशंसा गर्थे, ‘नेताज्यू, तपाईंजस्तो ज्ञानी मान्छे यस देशमा कोही छैन ।’

दिलदार पौडेल

लोभी नेताका रूपमा सुपरिचित रामचन्द्र पौडेलकहाँ केही स्थानीय युवा चन्दा माग्न आए ।

‘नेताज्यू, हाम्रो ठाउँमा अति गर्मी हुने भएकाले हामीले एउटा स्विमिङपुल बनाउने योजना बनाएका छौँ । तपाईंले सहयोग गर्नुपर्‍यो,’ पौडेलसँग सहायता मागियो । उनले एकछिन सोचे र भने, ‘यस्तो सामाजिक काममा म सहयोग गरिहाल्छु नि ।’

पौडेल घरभित्र पसे र एकछिनपछि दुई बाल्टिन पानी लिएर आए । चन्दा माग्न आएकामध्ये एकलाई दुवै बाल्टिन थमाउँदै उनले भने, ‘भाइहरूले गर्न लागेको काम एकदमै सराहनीय छ । अहिलेलाई स्विमिङपुलका लागि चाहिने दुई बाल्टिन पानी लिएर जानूस्, पुगेन भने फेरि आउनुहोला ।’

भालेको औषधि

नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसी नुवाकोटमा बस्दा कृषिमा विशेष ध्यान दिन्थे । फलफूल खेती र कुखुरापालनमा उनलाई असाध्यै रुचि थियो ।

पछि, काठमाडौँको गोंगबुमा उहाँको बसाइ भयो । राजनीतिमा पनि सक्रियता बढयो । एक दिन पार्टीको बैठक चलिरहेको वेला आफ्ना मित्र लक्ष्मण घिमिरेलाई नुवाकोटको आफ्नो कुखुरापालनबारे यसरी सुनाउँदै थिए- मेरो कुखुराखोरमा चालीस पोथी थिए । तर, भाले भने एउटा मात्र । मोरो भालेले कहाँबाट बह्मचार्यको दीक्षा लिएर आयो कुन्नि, कुनै पोथीले अन्डा पारेनन् ।’

‘अनि,’ लक्ष्मण घिमिरेले अभिरुचिसाथ सोधे ।

‘एक दिन एकजना जोगी आए र कुखुरालाई खुवाउनु भनेर केही औषधि दियो । मैले जम्मै औषधि भालेलाई खुवाइदिएँ । त्यसपछि त…मोरो भालेले एउटा पोथीलाई पनि सुखसँग बस्न दिएन । चालीसैवटा पोथीले अन्डा पार्न थाले ।’

एकदम चाख मानेर सुनिरहेका घिमिरेले त्यस औषधिको नाम सोधे ।

‘नाम त मलाई थाहा छैन,’ केसीले भने, ‘तर, त्यसको स्वादचाहिँ अदुवा-अदुवा, लसुन-लसुनजस्तो थियो ।’

ट्रयाक्टर चालक गाई

कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमारसिंह यादव कुनै जमानामा किसान थिए । कुरा त्यतिवेलाको हो । उनको गाईले साँढे खोज्यो । पल्लोगाउँमा एउटा बीउ साँढे छ भन्ने सुने । संयोगले त्यो साँढे भएको व्यक्ति मन्त्रीजीकै साथी रहेछ । मन्त्रीजीले गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे । धेरै वर्षपछि भेट भएका साथी, खानपिन भयो । उता साँढे र गाईको पनि प्रेमालाप भयो । बेलुकी फर्किने वेला गाईलाई ट्रयाक्टरमा हालेपछि मन्त्रीजीले साथीलाई सोधे, ‘साँढे त लगाइयो, तर गाई भर्ना भए/नभएको कसरी थाहा पाउने ?’

‘बिहान गोठमा जानु, गाई भुइँमा बसेर उघ्राइरहेको छ भने भर्ना भयो भन्ने बुझ्नु, उफ्रिँदै कराइरहेको छ भने भर्ना भएन भन्ने बुझ्नु । त्यसो भएछ भने गाईलाई फेरि यहीँ लिएर आउनू,’ साथीले यति बताएपछि मन्त्रीज्यूले गाई लिएर घर गए ।

भोलिपल्ट गाई गोठमा उफ्रिरहेको थियो । मन्त्रीज्यूले तुरुन्त गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा पुर्‍याइहाले । साँढे लगाएपछि गाई लिएर मन्त्री फर्किए ।

अर्का दिन पनि गाई उफ्रिरहेको थियो । त्यस दिन पनि गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे मन्त्रीले ।

यसरी सात दिन बिते ।

आठौँ दिनको दिन फर्किने वेला साथीले मन्त्रीज्यूलाई भने, ‘आज चैँ पक्का भयो । भोलि गाई उफ्रिएको हुँदैन । बसेर उघ्राइरहेको हुनेछ ।’

भोलिपल्ट बिहानै मन्त्रीज्यूकी श्रीमतीले उनलाई ब्युँझाइन् र अत्तालिँदै भनिन्, ‘गाई-गाई ।’

मन्त्रीज्यूले आँखा मिच्दै भने, ‘गाई बसेर उघ्राइरहेको छ होइन ?’

‘केको उघ्राउनु नि,’ श्रीमती बोलिन्, ‘गाई त आफै ट्रयाक्टर चढेर हर्न बजाउँदै छ ।’

प्रधानमन्त्रीको सफाई

प्रधानमन्त्री माधव नेपाल एउटा आमसभामा जोसिँदै भाषण गरिरहेका थिए- ‘मेरा विरोधीहरूले मलाई जति आरोप लगाएका हुन्, ती सब झुट हुन्, असत्य हुन्, गलत हुन्, बेठीक हुन्, वाहियात हुन् । विरोधीहरूले फयाँकेका जुत्ता, चप्पल बटुलेर आफन्तलाई बाँड्छु भन्ने कुरा पनि झुट हो । झन् यो कुरा त अति-अति नै झुटो हो कि मैले भाषण गरेको वेला मेरा विरोधीहरूले फयाँकेका ढुंगा, इँटा बटुलेर मैले कोटेश्वरमा दुईतले घर बनाएँ रे ।’

जुल्फी कपालको सत्यानास

एकजना अधबैँसे नेता अचानक तालुखुइले भएछन् । पार्टी अफिसमा एक मित्रले उनलाई सोधे, ‘के हो ? एक महिना पहिले त तिलचामले भए पनि तपाईंको टाउकोमा झयाप्प कपाल थियो । नसुहाए पनि जुल्फी लर्काउँदै हिँड्नुहुन्थ्यो । अहिले कसरी तालुखुइले हुनुभयो ?’

नेताजीलेे आफ्नो कहानी सुनाए, ‘के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी सुन्दरीलाई कान्छी श्रीमतीका रूपमा भित्र्याएँ । मेरो टाउकोमा आधा कपाल सेतो थियो, आधा कालो । जेठी श्रीमती मलाई छिटो बूढो देखाउन कालो कपाल उखेल्थी, कान्छीचाहिँ मलाई तन्नेरी देखाउन सेतो कपाल उखेल्थी । हेर्नूस् न, महिना दिनमै मेरो यो हालत भो ।’
प्रस्तुतिः दीपक सापकोटा

spkt.deepak@gmail.com

One Response to प्रकाश ओझाका १० जोक

  1. sushil ghimire

    sab jokes babal 6na ho babal

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s