भक्तपुर, १९ असार । भक्तपुरको कटुञ्जे गाविस वडा नं. २ सुशीला भैरवस्थानमा बस्ने आमाछोरा यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षामा विशिष्ट श्रेणी र प्रथम श्रेणीमा उत्तीर्ण भएपछि टोलमै खुसियाली मनाएका छन् ।
कटुञ्जेकी ३३ वर्षीया आमा सरस्वती जोशीले ७१.३ प्रतिशत ल्याइ प्रथम श्रेणीमा र १४ वर्षीय छोरा योगेश जोशीले ८५.१ प्रतिशत ल्याई विशिष्ट श्रेणीमा भएपछि आमा छोरालाई बधाइ दिन बिहानैदेखि टोलका मानिस भेला भएका थिए ।
आमा सरस्वतीले बारा परसुनाको जनता माविबाट र छोरा योगेशले ओम मावि कटुञ्जेबाट एसएलसी परीक्षा दिएका थिए । बधाइ थाप्दै सरस्वतीले घरनजिकको कलेजमा व्यवस्थापन विषयमा उच्च शिक्षा अध्ययनगरी नोकरी गर्ने लक्ष्य राखेको बताउनुभयो । योगेशले भने विज्ञान विषय लिएर अध्ययन गरी चिकित्सा विज्ञान पढ्ने इच्छा रहेको बताए । श्रीमती र छोराको खुसीमा रमाएका राजकुमार जोशी यी दुवैको इच्छा पूरा गर्न पढाइलाई निरन्तरता दिन आफूले सघाउने बताउँछन् ।















































