काठमाडौं- प्रधानमन्त्री माधवकुमार नेपालले सबै प्रकारका अधिनायकवादी सोच र दबाब धम्कीसामु नझुकेको दाबी गर्दै राजिनामा दिएका हुन् । आफ्नै पार्टीबाट समेत अमर्यादित विरोध नियमितरुपले झेल्नुपरेको भनाइ उनको थियो ।
माओवादी असहयोगका कारण सेना समायोजन कार्य अघि बढ्न नसकेको पनि उनले बताए । प्रधानमन्त्री माधवकुमार नेपालले स्पष्ट बहुमत हुँदाहुँदै पनि शान्ति स्थापना र संविधान निर्माणका लागि वातावरण बनाउन राजिनामा दिएको घोषणा गरेका छन् । आफूले पटकपटक सहमतिका लागि प्रयास गरे पनि सहमति हुन नसकेकाले राजिनामा दिएको उनको भनाइ छ । माओवादीले देशलाई अन्योलपूर्ण स्थितिमा पुर्याएको बताउँदै सत्ता कब्जाको भ्रम फैलाएको तथा अरु राजनीतिक दलको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति देखाएको बताएको छन् ।
५ महिनासम्म सदन चल्न नदिएर तथा बन्द, हडताल जारी राखेर उसले निरन्तर असहयोग गरेको, चन्दा उठाउने कार्य जारी राखेको, वाइसिएलको अर्धसैनिक संरचना कायमै राखेको र अन्य दलका कार्यकर्तामाथि आक्रमण गर्ने जारी नै राखेको उनको भनाई थियो । माओवादीको निषेधित नीतिले शान्ति प्रक्रियाले चाहिने जति गति लिन नसकेको बताएका छन् ।
Sabhar : Onlinepatrika













































