१२ असार, नेपाल र संयुक्त अरब इमिरेटस् (यूएई) बीचको मित्रवत सम्बन्ध थप सुधार गर्न संयुक्त समिति निर्माण गरिने भएको छ । अवुदाबीस्थित नेपाली दूतावासका अनुसार यूएई भ्रमणमा रहनुभएकी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले समिति निर्माणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
यूएईको वैदेशिक मामिलासम्बन्धी मन्त्रालयले आयोजना गरेको एक समारोहमा दुई देशबीचका अधिकारीले सहमतिपत्रमा हस्ताक्षर भएको हो । त्यस अवसरमा कोइरालाले दुई पक्षीय सम्बन्धको बारेमा चर्चा गर्नुभएको थियो । भ्रमणका क्रममा कोइराला यूएई उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा अन्य वरिष्ठ अधिकारीसँग भएको छलफलमा पनि सहभागी हुनुभयो । त्यस क्रममा महासङ्घका पदाधिकारीहरूले नेपालमा लगानी गर्न चासो देखाएका थिए । कोइरालालाई यूएईका सहायक कानुनमन्त्री डा. अब्दुल रहमान अलअवादीले बुधबार अवुदाबी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।













































