विजय खत्री, काठमाडौं
यो आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले १४ हजार किलो सुन आयात गरेकामा छ हजार किलो आन्तरिक बजारमा खपत भएको छ भने नौ हजार किलो सुन बजारबाट गायब भएको छ । हाल भारतको खुल्ला नीतिले गर्दा विगतजस्तो नेपालबाट सुन भारततर्फ पुनर्निकासी नहुने हुनाले नौ हजार किलो सुन नेपाली घर–घरमा थन्किएको हुनसक्ने अर्थविद्हरूको अनुमान छ । विगत वर्षहरूको तुलनामा यस वर्ष दोब्बरभन्दा बढी आयात हुँदा पनि सुन कहाँ गयो भनेर कसैले पनि पत्ता लगाउन सकेको छैन । केन्द्रीय बैंकदेखि राजस्व अनुसन्धान विभागलगायतका कुनै पनि निकायले गायब भएको सुन खोज्ने जाँगर देखाएका छैनन् ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार राजधानीमा औसत दैनिक १५ किलो सुन बिक्री हुने गर्छ । बिहेको मौसममा करिब २० किलो बिक्री भए तापनि औसत खपत छ हजार किलोभन्दा बढी नहुने व्यवसायीको भनाइ छ । “आन्तरिक बजारको माग ६ हजार किलो हो, अहिले १४ हजार किलोभन्दा बढी आउँदा पनि बजारमा सुन कहाँ गएको छ, थाहा छैन,” संघका अध्यक्ष तेजरत्न शाक्यले भने । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सार्वजनिक रूपमा अहिलेको हाहाकारको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । “४० अर्बको सुन आउँदा पनि हाहाकारको स्थिति हुनु बुझिनसक्नु छ, खुल्ला बजारको फाइदा उठाउँदै चोरी निकासी गर्ने अनि सुन भएन भनेर हाहाकार मच्चाउनुको कुनै तुक छैन,” उनले भने, “नेपालको अर्थतन्त्र ४० अर्बको सुन खपत गर्ने अवस्थामा पुगेको छैन ।” भन्सार विभागको तथ्यांकअनुसार यो आर्थिक वर्षको जेठ मसान्तसम्म झन्डै १४ हजार किलो सुन आयात भइसकेको छ । यो महिना थप एक हजार किलो सुन आयात हुने अनुमान छ । सामान्यतः दुई–तीन वर्षभन्दा बढी समयका लागि पुग्ने सुन आइसक्दा पनि अहिले बजारमा सुनको अभावै छ । चालू वर्षको प्रथम आठ महिनामा ३७ अर्ब ४७ करोड रुपैयाँको सुन आयात भएको छ । गत वर्षको यो अवधिमा ८ अर्ब ९४ करोड रुपैयाँको सुनमात्र आयात भएको थियो । सरकारले सुन आयात उच्च हुन थालेपछि यसको निगरानी गर्ने बताए पनि कुनै पनि निकायलाई औपचारिक जिम्मेवारी दिएको सार्वजनिक गरेको छैन । सरकारले सुनको कारोबार अवस्थाबारे अहिलेसम्म कुनै पनि प्रतिवेदन सार्वजनिकसमेत गरेको छैन । सरकारले सुन आयात निरुत्साहित गर्न पटक–पटक परिणात्मक बन्देज लगाउने गरेको छ । पुस मसान्तसम्म ३३ अर्ब रुपैयाँको सुन आएपछि फागुनताका सुन नै आयात भएको थिएन । चैत १ गतेबाट दिनमा १० किलोमात्र सुन ल्याउने नियम बनाएको थियो । संघका अनुसार वैशाख महिनामा यो व्यवस्थाले गर्दा जम्मा १ सय ६१ किलो सुन आयात भएको थियो । जेठ महिनामा ५ सय ३९ किलो सुन आयात भएको छ । जेठ १९ गते अहिलेसम्मकै उच्च मूल्य कायम हुँदा पनि सुनको कारोबार घटेको छैन । त्यो दिन प्रतितोला ३६ हजार ६ सय रुपैयाँ मूल्य पुगेको थियो । बजारमा सुन किन्नेहरू घटेका छैनन् । सुनले खलबल्याएको अर्थतन्त्र आर्थिक वर्ष २०६५÷६६ को प्रथम नौ महिनामा नेपालको शोधनान्तर बचत ३८ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो भने विदेशी मुद्राको सञ्चिति १०.१ महिनाको वस्तु तथा सेवा धान्न सक्ने अवस्थामा थियो । चालू आर्थिक वर्षको नौ महिनामा २२ अर्ब १० करोड शोधनान्तर घाटा भएको छ र विदेशी मुद्राको सञ्चितिले ६.६ महिनाका लागि मात्र वस्तु तथा सेवा आयात गर्न पुग्छ । यसरी अर्थतन्त्रलाई उथलपुथल बनाउन सुनको उच्च आयातलाई मुख्य दोषी मानिएको छ । नेपाल राष्ट्र बैंकको त्रैमासिक आर्थिक बुलेटिन, जनवरी–जुलाई २००९ को पृष्ठ ८७ अनुसार सुन आयातमा उच्च अस्थिरता, अस्थिर सुन आयात यस वर्ष निकै उच्च हुँदा वस्तु व्यापारघाटा, चालू खाता घाटा तथा शोधनान्तर घाटामा समेत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बढेको सुन आयातले देशमा शोधनान्तर घाटा भएको भन्दै वैशाखदेखि बैंकहरूले दैनिक १० किलोमात्र सुन आयात गर्न पाउने नियम ल्याएको छ । ढिक्का सुनको बिक्री बढी नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यका अनुसार गहना र सुनको ढिक्का किन्ने ग्राहकको संख्याबराबर जस्तै भएको छ । यसअघि गहना ८५ प्रतिशत र ढिक्का सुन १५ प्रतिशतमात्र बिक्री हुन्थ्यो । आमरूपमा गहनामात्र किन्नेले पुरानो बेच्ने र नयाँ लिने गर्छन् । तर, पछिल्लो समयमा सुन किन्न आउनेहरू ढिक्का र लाप्सा नै किन्न चाहन्छन् । त्यो सुन घर–घरमा थन्किएकाले अभावको स्थिति सिर्जना भएको उनीहरूको भनाइ छ । शाक्यले ३७ अर्ब रुपैयाँभन्दा बढीको सुन आयात भए पनि घर–घरमा थन्किएकाले सरकारले छिट्टै सुन आयात खुल्ला गर्न आग्रह गरे । सरकारले ‘ह्यान्डक्यारी’ मार्फत सुनको आयात हटाएपछि खुद्रा व्यापारीले चाहेजति सुन किन्न पाएका छैनन् । अहिले सातवटा वाणिज्य बैंकलाई सुन आयात गर्ने जिम्मेवारी दिइएको छ । पहिला तीन बैंकलाई यस्तो जिम्मेवारी दिँदा बजारमा सुनको अभाव भएको थियो । थोक व्यापारी र खुद्रा व्यापारीसँग सुन किनेका ग्राहकले घरमै सुन राख्न थालेकाले अभाव चर्को हँुदै गएको व्यवसायीको भनाइ छ । चालू आर्थिक वर्षमा सुन आयात (किलोमा) साउनदेखि पुससम्म १२६३५ माघ ५०० फागुन ६०० चैत ०० वैशाख १६१ जेठ ५३९
भारत गएको छैन
पछिल्लो समयमा नेपालबाट सुन भारत गएको छैन । नेपालमा भन्दा भारतमा सुनको भन्सार महसुल धेरै भएको बेला यताबाट केही मात्रामा सुन भारत जाने गरेको थियो । नेपालमा प्रतिदसग्राम सुनमा १ सय ३० रुपैयाँ भन्सार महसुल लगाएको समयमा भारतमा ३ सय २० रुपैयाँ भन्सार दर भएकाले प्रतिदसग्राम १ सय ९० रुपैयाँ फाइदा लिन निकासी हुने गरेको थियो । अहिले भारतमा सुनको भन्सार ४ सय ८० रुपैयाँ पुगेको छ । नेपालमा भन्सार महसुल ४ सय ७० रुपैयाँ पुगेको छ । नेपालबाट भारतमा लगेर सुन बिक्री गर्ने र भारु नोट ल्याएर नेपाली बजारमा बिक्री गरी नाफा कमाउने प्रवृत्ति पनि देखिन थालेको व्यापारी बताउँछन् ।
सुनमा उच्च विश्वास
विश्वभर सहजै बिक्री गर्न सकिने पहेलो धातु सुनको मूल्यमा यो वर्ष अचाक्ली वृद्धि भएकाले बहुसंख्यक लगानीकर्ताले सुनमा लगानी गरेका छन् । सेयर बजारमा झन्डै ५० प्रतिशतको गिरावट आएकाले मौसमी पुँजी बजारमा लगानी गर्नेले पनि सुनमा लगानी गरेका हुन् । गत दसैंमा बैंकमा राखेको नगद झिक्न नपाएपछि बैंक तथा वित्तीय संस्थाप्रति निक्षेपकर्ताको विश्वासमा कमी आएकाले सुनमा लगानी बढेको छ । आवश्यकता परेको समयमा जहाँसुकै सुन बिक्री गर्न सकिने भएकाले बैंकमा जम्मा गरेको रकम पनि झिकेर सुनमा लगानी भएको छ । “बैंकप्रति वितृष्णा बढेको र व्यवसायमा लगानी गर्ने मैत्री वातावरण नभएको हुनाले सुनमा लगानी ह्वात्तै वृद्धि भएको हो,” अर्थशास्त्री डा. चिरन्जीवी नेपालले भने । उनले मजदुर हड्ताल, लोडसेडिङ, राजनीतिक अस्थिरताले प्रतिकूल लगानी वातावरण भएको समयमा सुनमा लगानी गरेकाले बजारमा सुनको अभाव भएको बताए । शाक्यका अनुसार विश्वव्यापी रूपमा अमेरिकी डलरको अवमूल्यन, युरोप तथा अमेरिकीलगायत संसारभरका केन्द्रीय बैंकले सुनको सञ्चितिमा आकर्षित हुँदा यसको मूल्य अझै बढ्ने प्रक्षेपण आएको समयमा अन्तर्राष्ट्रिय बजारको भाउमा सुन किन्नेको संख्या पर्याप्त छ । शाक्यका अनुसार दुई चार तोलादेखि सयौं तोलासम्म सर्वसाधारण लगानीकर्ताले सुन किनेको र आफूले किनेकोभन्दा मूल्य बढ्ने अन्तर्राष्ट्रिय समाचार आएकाले सुन घर–घरमै थन्किएको हो । सुनका गहना लगाउने प्रचलनसमेत रहेकाले पनि त्यस्ता लगानीकर्ताले सुन बेचेका छैनन् ।
सचेतता जरुरी
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक टुलराज बस्याल सुन आयातसम्बन्धमा सरकार निकै चनाखो हुनुपर्ने बताउँछन् । सुनको अत्यधिक आयातले देशको शोधनान्तर स्थिति अत्यन्त प्रतिकूल बन्न गई अर्थतन्त्रको बाह्य स्थिरता र समष्टिगत अर्थतन्त्रको स्थायित्वमै जोखिमहरू बढ्न गएको उनको धारणा छ । “अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने सम्भावना भएकाले नेपालमा पनि सुनको अभाव झनै बढ्ने छ,” रिद्धिसिद्धी ज्वेलर्सका नरेन्द्र गुप्ताले भने । उनले बजारमा सुनको अभाव हुन नदिन उपभोक्ताले मागेअनुसार आयात गर्न दिनुपर्ने बताए । देशमा लगानीको वातावरण नभएकाले सेयर कारोबार र घरजग्गा व्यवसायमा लगानी गर्दै आएकाहरूले सुनमा लगानी गर्दै आएका छन् । बैंकिङ प्रणालीप्रति विश्वास नभएकाले घरमै नगद राख्नुको सट्टा सुन किनेर राख्ने क्रम बढ्दै गएको छ ।
पछिल्लो १० वर्षमा सुन आयात
२०६६-६७ … ३७ अर्ब
२०६५-६६…१६ अर्ब ५८ करोड
२०६४-६५ … ३ अर्ब ७५ करोड
२०६३-६४ … ३ अर्ब ५२ करोड
२०६२-६३ … २९ लाख
२०६१-६२ … ४९ लाख
२०६०-६१ … ५ करोड
२०५९-६० … ७ करोड ५० लाख
२०५८-५९ … ६१ करोड ८७ लाख
२०५७-५८ … ५ अर्ब ७६ करोड















































