
गढिमाई मन्दिरका नाममा भएको खर्चबारे सोधपुछ गर्दा मन्त्री र उनका पिएले आमाको नाममा हिन्दीमा गाली गरे, ममाथि हातपात गरेः सांसद् प्रमोदप्रसाद गुप्ता एक्कासि मेरो कोठाभित्र छिरेर मलाई आमाको नाममा हिन्दीमा गाली गर्यो, म र सागै बसेका महिलालाई हातपात गर्यो, पिएलाई पछार्योः सहायकमन्त्री कलावती पासवान
नयाँ पत्रिका, बारा, १ असार, एउटै जिल्ला र एउटै पार्टीका एक मन्त्री र एक सभासद्ले एकअर्कालाई गाली गर्न यस्तो शब्दसमेत प्रयोग गरे, जुन शब्द पत्रिकामा लेख्न मिल्दैन ।
आमाको नाममा दिइने हिन्दी गाली यो देशका मन्त्रीका मुखबाट सार्वजनिक रूपमै निस्कियो, सभासद्का मुखबाट पनि निस्कियो । फोरम लोकतान्त्रिकबाट प्रतिनिधित्व गर्ने मन्त्री र सभासद्ले मच्चीमच्ची एकअर्कालाई गाली गरे, सुन्ने सर्वसाधारण लाजले रातोपिरो भएर भागे ।
बाराको प्रसिद्ध गढिमाई मन्दिरका नाममा नेपाल सरकारले छुट्याएको २० लाख रुपैयाँका लागि भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवान र सभासद् प्रमोदप्रसाद गुप्ताबीच गालीबेइज्जती र हात हालाहालसमेत भयो । पासवान फोरम लोकतान्त्रिकका तर्फबाट समानुपातिककी सभासद् हुन् भने गुप्ता सोही पार्टीको प्रतिनिधित्व गर्ने बारा-३ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन् ।
गढिमाई मन्दिर विकास समितिका नाममा नेपाल सरकारले छुट्याएको बजेट सहायकमन्त्री पासवानले आफूखुसी खर्च गराएको सभासद् गुप्ताको आरोप छ । सहायकमन्त्री पासवानले मन्दिर क्षेत्रभन्दा दुई किलोमिटर टाढाको निर्माणमा बजेट दिएको र त्यो पनि अनियमित रूपमा खर्च गराएको आरोप सभासद्ले लगाउँदै आएका थिए । यही विषयमा उनीहरूबीच लामो समयदेखि विवाद चल्दै आएको थियो ।
यसैबीच सहायकमन्त्री पासवान सोमबार काठमाडौंबाट कलैया पुगेर होटल एभरेस्टको १०२ नम्बर कोठामा बसेकी थिइन् । उनीसामु आक्रोश पोख्न सभासद् गुप्ता मंगलबार बिहानै होटल पुगेका थिए । सभासद् गुप्ता होटलमा पुग्नुअघि सहायकमन्त्री पासवान आफ्ना केही महिला कार्यकर्तासँग गफ गर्दै थिइन् । तर, गुप्ता कोठामा प्रवेश गरेपछि वादविवाद भयो, एकअर्काबीच गालीबेइज्जती भयो र हात हालाहालसमेत भयो । कार्यकर्ताले लाज माने, नेताले मानेनन् ।
‘गाउँबाट मलाई भेट्न केही केटी आएका थिए, म उनीहरूसँग गफ गर्दै थिएँ, सभासद् एक्कासि मेरो कोठाभित्र छिरेर हल्ला गर्न थाले,’ सहायकमन्त्री पासवानले नयाँ पत्रिकासित भनिन् । सहायकमन्त्री पासवानका अनुसार सभासद् गुप्ताले आमाको नाममा हिन्दीमा गाली दिएर आफू र आफ्ना कार्यकर्तालाई थर्काएका थिए । ‘मा..चो. भन्दै मलाई गाली गर्यो, ती सोझी केटीलाई लछारपछार गर्यो,’ उनले भनिन् ।
उनले सभासद् गुप्ताले आफ्नो कोठाभित्र छिरेर आफूमाथि नै दुव्र्यवहार गरेको बताइन् । ‘हामी सबैलाई हात हाले, मेरो पिए सुरेश गुप्तालाई त उनीहरूले उचालेर भुइँमा पछारे,’ मन्त्री पासवानले भनिन् । सहायकमन्त्रीका अनुसार पिए सुरेश गुप्ता घाइते भएका छन् भने मन्त्रीसँगै रहेका चार महिलालाई पनि सामान्य चोट लागेको छ ।
उता सभासद् गुप्ताले भने आफूलाई नै मा..चो. भन्दै सहायकमन्त्रीले हातपात गरेको बताए । ‘उनले जथाभाबी बोलिन्, जथाभाबी गरिन्,’ गुप्ताले भने, ‘एउटी दलित महिला हो, मन्त्री पनि हो भनेर मैले सहेको हुँ, तर सम्मान गर्दागर्दै जथाभाबी गरेपछि मैले पनि गाली गरेको हुँ,’ गुप्ताले नयाँ पत्रिकासित भने । गाली खाएको र आफूले पनि गरेको स्विकार्दै उनले हात कसले कसलाई हाल्यो भन्न नसक्ने बताए ।
उता सहायकमन्त्री पासवानले पनि सभासद् गुप्तालाई आफूले सम्झाउन खोजेको र नमानेपछि घचेटिदिएको स्विकारिन् । ‘तपाईं माननीयजस्तो मान्छे, यस्तो बोल्न र महिलामाथि हातपात गर्न सुहाउँदैन भन्दा झन् उग्र भएर आयो, हामीमाथि झन् आइलाग्यो, त्यसैले मैले घचेटेकी हुँ,’ पासवानले बताइन् ।
तराईका महिलालाई सभासद्ले पिटेपछि अरू कसले मान गर्छ, कसले अधिकार दिन्छ भन्ने प्रश्न पनि उनले गरिन् । ‘प्रमोद गुप्तालाई जिताउन भोट दिने यिनै महिला हुन्, तर आज यिनीहरूलाई पिटियो, मैले सहन सकिनँ त्यसैले घचेटिदिएँ,’ उनले भनिन्, ‘मन्त्रीकै अगाडि महिला पिट्नेलाई कारबाही हुनुपर्छ । अन्यथा विश्वकै महिलाको अपमान हुनेछ ।’ आफूहरूमाथि हातपात गर्ने सभासद्माथि कारबाही गर्न ‘माथिल्लो निकाय’ मा सम्पर्क गरिरहेको उनले बताइन् ।
यता सभासद् गुप्ताले महिला र दलितको नाममा कलावतीले भ्रष्टाचार गरेकाले उनीमाथि कारबाही गर्नुपर्ने बताए । ‘गढिमाईमा भ्रष्टाचार भयो, हिसाबकिताब के छ भनेर मैले सोधेको हुँ, तर सहायकमन्त्री र पिए सुरेशले दुव्र्यवहार गर्न थालेपछि रिसको झोकमा मैले पनि गाली गरेको हुँ,’ उनले भने, ‘भ्रष्टाचारको छानबिन हुनुपर्छ, दोषीलाई कारबाही हुनुपर्छ ।’













































