
नेपालका लागि भारतीय पूर्वराजदूत केभी राजनले नेपालमा भारतीय हस्तक्षेप नभएको बताउनुभएको छ । उहाँले आफ्नो बिषयमा सोच्न र निर्णय गर्न नेपाली जनता र दलहरु सक्षम रहेको बताउनुभयो । उहाँले १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य गरी दिगो शान्तिका लागि प्रयासरत नेपालको पहललाई विश्वले उदाहरणका रुपमा हेरिरहेकाले विवेकपूर्ण रुपले काम गर्न नेपालका सबै नेतालाई सुझाव समेत दिनुभयो ।
नेपाल भ्रमणमा रहेकाका पूर्व राजदूत राजनले बुधबार सञ्चारकर्मीसँग ’द्वन्द्वको अन्त्य र संविधानसभाको निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरणका लागि नेपालले अघि बढाएको पहल सामान्य प्रगतिका रुपमा हेर्न मिल्दैन, शान्ति प्रक्रियाको यो एउटा विश्वकै उदाहरण हो’ भन्नुभयो । भारत सधैँ शान्त र समृद्ध नेपालको पक्षमा रहेको स्पष्ट गर्दै निर्धारित समयमै नयाँ संविधान र दिगो शान्तिको स्थापनका लागि भारत सरकार नेपाललाई जस्तोसुकै सहयोग गर्न पछि नपर्ने धारणा उहाँले राख्नुभयो ।
पूर्वराजदूत राजनले नेपालको राजनीति यतिखेर सङ्क्रमणकालीन एवम् अति संवेदनशील अवस्थाबाट गुजि्ररहेकाले यसको सकुशल अवतरणका लागि नेपाली जनताको आकाङ्क्षाबमोजिम नेपालकै राजनीतिक दलका नेताले गम्भीररुपले सहकार्य गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । नेपालको राजनीतिमा भारतीय पक्षको हस्तक्षेपका विषयमा संवाददाताको प्रश्नमा उहाँले यो आरोपमात्र हो भनी अस्वीकार गर्दै नेपालको राजनीतिमा भारतको कुनै हस्तक्षेप नरहेको स्पष्ट पारे ।
उहाँले भन्नुभयो, ‘नेपालमा कुन राजनीतिक दल सरकारमा जाने या को प्रधानमन्त्री हुने भन्ने विषयलाई भारतले कहिल्यै महत्व दिँदैन र यस्ता काममा भारतको चासो पनि रहँदैन, किनभने भारतका आफ्नै पनि कैयौँ समस्या रहेका छन् ।’ पूर्वराजदूत राजनले माओवादीले बहुदलीय प्रतिस्पर्धा र शान्तिपूर्ण राजनीतिको बाटो रोजेकाले यही राजनीतिक सिद्धान्तका आधारमा शान्ति स्थापनाका लागि इमान्दार रुपले लागेमा नै नेपाल र नेपालीको भविष्य राम्रो हुने बताउनु्भयो ।
Source : Solidarity













































