टोकियो/ जापानी प्रधानमन्त्री युकिओ हातोयामाले राजीनामा दिएका छन् । उनले आफ्नो डेमोक्रेटिक पार्टी अफ जापान -डिपिजे को साधारणसभामा आफूले राजीनामा दिएको घोषणा गरेका हुन् । जापानको ओकिनामा द्वीपमा वर्षौंदेखि रहँदै आएको अमेरिकी नौसैनिक अखडा हटाउने आफ्नो चुनावी प्रतिबद्धताबाट हात झिकेपछि हातोयामाको लोकपि्रयता घटेको थियो । उनले अमेरिकी दबाबमा अमेरिकी सैन्य अखडा हटाउने आफ्नो प्रतिबद्धताबाट पछि हटेको आरोप लगाइएको छ ।
अमेरिकी सैन्य अखडा नहटाउने हातोयामाको निर्णयपछि गठबन्धन सरकारका अर्को प्रमुख घटक सोसियल डेमोक्रेटिक पार्टीले कडा विरोध गरेको थियो । ओकिनावा नौ सैनिक अखडालाई सँगैको अर्को द्वीप फुतेन्मामा सार्ने विषयमा डिपिजेले गरेको निर्णय विवादमा परेको थियो ।
‘फुतेन्मा मामिलामा मेरा समर्थकको विश्वास गुमाउनुपरेकाले मैले राजीनामा दिएँ, यद्यपि अमेरिकी सैनिक प्रतिष्ठानलाई ओकिनावाबाट हटाउन म सदा प्रयासरत रहनेछु,’ प्रधानमन्त्रीले भने ।
जापानी राजनीतिक विश्लेषकका अनुसार अर्थ तथा उपप्रधानमन्त्री नाओतो कानले हातोयामाको साटो प्रधानमन्त्री पदभार हासिल गर्ने प्रवल सम्भावना छ ।विगतका चार वर्षभित्र जापानमा राजीनामा दिने हातोयामा चौथो प्रधानमन्त्री हुन् । सत्तारुढ डिपिजेका महासचिवपछिको दोस्रो बरियतामा समेत रहेका हातोयामासँग पार्टीका नीति अनुसन्धान समितिका अध्यक्ष मसायुकी नाओसिमा र महासचिव इचिरो ओजावासमेतले राजीनामा दिएकाले पार्टीको उच्च पद खाली हुन पुगेको छ ।
nayapartika













































