अब नेपालमै गाडी उत्पादन

नेपाली बजारमा टाटा ब्रान्डका भारतीय गाडीहरूको बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ प्रालिले अब नेपालमै गाडी उत्पादन गर्ने भएको छ । सिप्रदीले पहिलो चरणमा विदेशबाट गाडीका पार्टसहरू आयात गरी एसेम्बल्ड गाडी निर्माण गर्ने र त्यसको एक वर्षपछि गाडी निर्माण कारखाना स्थापना गर्ने जनाएको छ ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शम्भु दाहालका अनुसार कम्पनीले यसका लागि विज्ञहरूसँग परामर्श सुरु गरेको छ । वि. सं. २०३७ सालदेखि नेपालमा गाडीलगायतका आयातीत वस्तुहरूको बिक्री गर्दै आएको सिप्रदीले पश्चिम नेपालमा प्लान्ट स्थापना गरी हलुका सवारी साधन निर्माणको योजना बनाएको हो ।
सिप्रदीले कम्पनी स्थापनाको ‘इच्छापत्र’ आगामी ६ महिनाभित्रै सरकारलाई प्रस्तुत गर्ने भएको छ । नयाँ कम्पनीमा सिप्रदी र भारतको टाटा कम्पनीको लगानी रहन सक्ने जनाइएको छ । टाटाले यसअघि बंगलादेशमा स्थानीय अधिकृत विक्रेतासँगको साझेदारीमा गाडी उत्पादन गरिरहेको छ ।
बंगलादेशी कम्पनीमा टाटाको ४० प्रतिशत सेयर छ भने बाँकी स्थानीय प्रबद्र्धकहरूले लगानी गरेका छन् । नेपालमा लगानी गर्ने संकेत टाटाले दिएपछि यसका लागि सिप्रदीले अग्रसरता लिएको हो । नेपालमा प्लान्ट स्थापना गर्न करिब ४ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो कम्पनी स्थापना भए ५० हजार जनाले रोजगारी पाउन सक्ने प्रमुख कार्यकारी अधिकृत दाहालले बताए । कम्पनीमा १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र सहायक कम्पनीबाट थप ४० हजारले रोजगारी प्राप्त गर्नेछन् ।
कम्पनीले नेपालको आन्तरिक बजारका साथै दक्षिणी भारतीय क्षेत्रमा समेत गाडी निर्यातको लक्ष्य राखेको छ । “हाम्रो लक्ष्य ७५० सीसीसम्मका हलुका सवारी निर्माण गर्नु हो”, उनले भने, “नेपाली बजारमा ससाना प्यासेन्जर कार र सामान बोक्ने गाडीको माग अझै उच्च रहेकाले यी गाडीहरू निर्माण गर्ने मनस्थितिमा पुगेका हौं ।”
उनका अनुसार सिप्रदीले निर्माण गर्ने कारहरू बजारमा हाल उपलब्ध भारतीय कारभन्दा सस्तो मूल्यमा उपलब्ध हुनेछ । भारतीय प्रविधिमा निर्माण हुने यी गाडी नेपाली सडक सुहाउँदो रूपमा निर्माण हुने जनाइएको छ ।
सरकारले कम्पनी स्थापनाका लागि सहयोग पु¥याउने दाहालको विश्वास छ । मुलुकको औद्योगीकरणका लागि सरकारलाई यस कम्पनी स्थापनामा सुरुवातदेखि नै साझेदारका रूपमा समावेश गराउने कम्पनीको लक्ष्य छ । सरकारले कर छुट, कम्पनीका लागि आवश्यक जग्गा अधिग्रहण र ऊर्जाको व्यवस्थामा प्रत्यक्ष सहभागिता जनाउने दाहालले विश्वास व्यक्त गरे ।
गाडी प्लान्टका लागि ३० मेगावाट ऊर्जा आवश्यक पर्ने अनुमान गरिएको छ । प्लान्टनजिकै विद्युतगृह निर्माणको विकल्प पनि खोजिने कम्पनीले जनाएको छ । सिप्रदीको भगिनी समूहले यसअघि भोटेकोसी पावरमा समेत लगानी गरिसकेको छ ।
गाडीको प्लान्ट स्थापनाका लागि २ सय बिघासम्म जग्गा आवश्यक पर्छ । यसका लागि कम्पनीले सुदूर पश्चिमको महेन्द्रनगर आसपासलाई उपयुक्त क्षेत्र ठानेको छ । जग्गा अधिग्रहणदेखि कम्पनी स्थापनासम्ममा सरकार र स्थानीयवासीलाई साथमा लिएर पारदर्शी ढंगले प्रक्रिया अघि बढाउने लक्ष्य राखिएको दाहालले जानकारी दिए ।
सिप्रदीले कम्पनीका लागि आवश्यक दक्ष तथा अर्धदक्ष जनशक्ति उत्पादनका लागि प्रशिक्षणसमेत सुरु गरेको छ । सन् २०१४ सम्ममा प्रशिक्षण विद्यालय नै सञ्चालन गर्ने उनले बताए । हाल सिप्रदीले वार्षिक १ हजार जनशक्तिलाई प्रशिक्षण दिइरहेको छ ।
गाडी उत्पादनका लागि थप जनशक्तिलाई भारतलगायतका मुलुकमा पठाई तालिम दिइने कम्पनीको योजना छ । यसैगरी, विदेशी विज्ञलाई नेपालमै झिकाएर पनि तालिम सञ्चालन गर्ने योजना बनाइएको छ ।
सिप्रदीले गाडी उत्पादनसँगै विदेशी गाडी बिक्रीलाई पनि निरन्तरता दिने भएको छ । टाटा कम्पनीले सिप्रदीलाई विश्वभरका अधिकृत विक्रेतामध्ये सन् २००९ को उत्कृष्ठ विक्रेताको प्रमाणपत्र प्रदान गरेको छ । विश्वकै सस्तो कार भनिने ‘नानो’ निर्माणले संसारभर ख्याति कमाएको टाटा मोटर्ससँगको सहकार्यले नेपालमा पनि कम मूल्यमा गुणस्तरीय कार उत्पादन गर्न सकिने सिप्रदीको लक्ष्य छ ।

लगानीको वातावरण अनुकूल छ
मुलुकमा लगानीको वातावरण नै नरहेको भन्ने उद्यमी व्यवसायीको भनाइलाई प्रमुख कार्यकारी अधिकृत दाहालले ठाडै अस्वीकार गरे । “उद्योग व्यवसायका लागि पहिलेको तुलनामा अहिले राम्रो वातावरण बन्दै गएको छ,” उनले भने, “थप वातावरणको सिर्जना लगानीले आफै गर्छ ।”
आपूmहरू इमानदारीपूर्वक कम्पनी स्थापनामा लागिपरेको उल्लेख गर्दै व्यवसायीले आफ्नो धर्म निर्वाह गरे लगानी डुब्न नसक्ने उनले तर्क गरे । सरकारले औद्योगीकरणलाई सधैं प्राथमिकतामा राखेको स्मरण गर्दै उनले भने, “सरकारले अब आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्ने अग्निपरीक्षाको घडी आएको छ ।” कम्पनीले यसै वर्ष अन्य क्षेत्रमा समेत लगानी बढाउने भएको छ ।

- विपेन्द्र कार्की, काठमाडौं

One Response to अब नेपालमै गाडी उत्पादन

  1. car kati samma parne sambhawana chha

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s