भारतमा माओवादीले रेल्वेलिक विस्फोट गराउँदा ७१ को मृत्यु


एजेन्सी, १४ जेठ, भारतीय माओवादीले रेल्वेलिक विस्फोट गराएपछि कोलकाताबाट मुर्म्बई हिँडेको एक रेल दुर्घटना हुँदा कम्तीमा ७१ यात्रुले ज्यान गुमाएका छन् । बिहीबार मध्यरातमा भएको सो दुर्घटनामा कम्तीमा डेढ सयजना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ । पश्चिम मिदानपुरको सरडिहा स्टेसननजिक भत्काइएको रेल्वेलिकबाट ज्ञानेश्वरी एक्सप्रेस नामको सो रेलका केही बोगी उछिटिएपछि विपरीत दिशाबाट आइरहेको अर्को मालवाहक रेलसँग ठक्कर खाएका थिए । घटनास्थल पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब एक सय ५० किलोमिटर दूरीमा पर्छ । सो स्थान माओवादी प्रभावित मानिएको झारखण्ड राज्यको सीमामा छ ।

त्यस स्थानमा डेढ फिट लिक गायव छ । रातको समय भएकाले गायव लिक देख्न नपाएको रेलका ड्राइभरले बताएको एजेन्सीहरूले उल्लेख गरेका छन् । घटनास्थलमा माओवादी छापामारले छरेको पर्चा फेला परेको पश्चिम बंगालका प्रहरी महानिर्देशक भूपेन्द्र सिंहको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ । सिंहका अनुसार प्राप्त दुई पर्चामार्फत माओवादीनिकट मानिने लडाकू समूह पीसीपीएले घटनाको जिम्मेवारी लिएको छ । माओवादीले पश्चिम बंगालसहित आफ्नो प्रभाव रहेका पाँच राज्यमा शुक्रबारदेखि ‘कालो साता’ कार्यक्रम घोषणा गरी शक्ति प्रदर्शन गर्ने निर्णय लिएको छ ।

बीबीसीका अनुसार प्रहरीसहित अन्य उद्धारकर्मीले दुर्घटनाग्रस्त रेलका बोगीलाई ग्यास कटर र हथौडाको सहायता लिएर फसेका यात्रुहरूलाई बाहिर निकालेका थिए । घाइतेहरूलाई उपचार्रार्थ हेलिकोप्टरबाट नजिकका अस्पतालहरूमा पुर्‍याइएको थियो । रेल स्टेसनको ११ र १३ नम्बरको पोलबाट अघि बढ्नासाथ अचानक विस्फोट भयो, रेलका ड्राइभरको भनाइ उद्धृत गर्दै रेल्वे प्रवक्ता सुमित्रा मजुम्दारले बीबीसीसँग भनिन्, त्यसलगत्तै कम्पन भयो र लिकबाट बोगी उछिट्टिएर अर्कोतर्फबाट आइरहेको मालवाहक रेलसँग ठोक्किए ।

१३ बोगीको सो रेलमा १० स्लिपर पनि छन् । तीन बोगी पूर्ण रूपमा क्षतिग्रस्त छन् ।
घाइतेहरूलाई घटनास्थलमै उपचार गर्न एक दर्जन बढी चिकित्सकको टोली खटिएको छ भने २० अन्य स्वास्थ्यकर्मीलाई खड्गपुर र कलाइकुन्डाबाट झिकाइएको छ ।
रेलमन्त्री ममता बेनर्जीले घटनास्थलको स्थलगत भ्रमण गरिसकेकी छन् । उनले घाइतहरूको अवस्थाबारे पनि जानकारी लिएकी छन् । भारतीय वायु सेनाको हेलिकोप्टरमा चढेर पुगेकी बेनर्जीले सुरक्षा दिन नसकेको भन्दै पश्चिम बंगाल सरकारको कटु आलोचना गरिन् । उनले मृतकको प्रतिपरिवारलाई पाँच लाख र घाइतेहरूलाई एक-एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरिन् ।

केही महिनायता जंगलबाट माओवादीलाई धपाउने भारतीय सरकारको निर्णयबिरुद्ध प्रतिआक्रमण गर्दै आएका माओवादी छापामारले मई महिनाको प्रारम्भमा छतिसगढमा एक बसमा विस्फोट गराउँदा ३५ जनाको ज्यान लिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s