मध्यरातमा थपियो संविधान सभाको एक वर्षे म्याद


प्रधानमन्त्रीको ५ दिनभित्र राजीनामा -

माधव ढुङ्गेल, काठमाडौं, जेठ १५ – संविधानसभाको म्याद एक वर्ष थपिएको छ। संविधानसभाको कार्यकाल पहिलो बैठक बसेको तीन वर्ष हुनेगरी अन्तरिम संविधानको धारा ६४ संशोधनपछि २०६८ जेठ १४ सम्म म्याद थपिएको हो। प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिएसम्म संविधानसभाको म्याद नथप्ने अडान एकीकृत माओवादीले राखेका कारण यसको भविष्य अन्योलपूर्ण थियो।

माओवादी, कांग्रेस र एमाले नेताबीच शुक्रबार अबेर तीन बुँदे सहमतिपछि संविधानसभाको म्याद थप भएको हो। प्रधानमन्त्री नेपाललाई पाँच दिनभित्र राजीनामा गराउने विश्वास एमाले-कांग्रेसले माओवादीलाई दिलाएको स्रोतले जानकारी दियो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरेको सहमतिपत्रमा ‘नयाँ संविधान निर्माणको प्रक्रियामा उल्लेखनीय काम भए पनि सबै कार्य पूरा नभएकाले संविधानसभाको कार्यवधि एक वर्ष थप्न’ सहमत भएको उल्लेख छ।

सम्झौताको तेस्रो बुँदामा प्रधानमन्त्री पदबाट नेपालले यथाशीघ्र राजीनामा गर्ने र राष्ट्रिय सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। ‘उपयुक्त जिम्मेवारी एवं कार्य यथाशीघ्र सम्पन्न गर्ने सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न हामी तत्पर छौं,’ सहमतिपत्रको तेस्रो बुँदामा छ, ‘यसका लागि वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजीनामा गर्न तत्पर रहने कुरा स्पष्ट गर्दछौं।’

संविधान संशोधन प्रस्ताव पारित गर्न शुक्रबार बिहान ८ बजेका लागि बोलाइएको बैठक मध्यरात पौने १२ बजेमात्र बसेको थियो। राति साढे १ बजेतिर संविधान संशोधन गरियो। संविधानसभामा भएको मतदानमा विधेयकको पक्ष अर्थात् समयावधि थप्न ५८० र विपक्षमा ५ मत परेका थिए। राप्रपा नेपाल र अर्को एक सभासदको मत विपक्षमा परेको थियो। ६०१ सदस्यीय संविधानसभा कायम ५९९ सदस्यमध्ये ५८५ जना मात्र उपस्थित थिए।

दिनभर संविधानसभा भवन, नयाँ बानेश्वरमा माओवादी, कांग्रेस र एमालेका सबै वरिष्ठ नेताबीच द्विपक्षीय र बहुपक्षीय वार्ता भए पनि सत्तापक्ष राजीनामा भन्ने शब्द राख्न नमान्ने र माओवादीले राजीनामाबेगर म्याद नथप्ने अडान छाडेका थिएनन्। एमाले सभासद्हरूले समेत सहमतिका लागि आफ्नै दलको नेतृत्वको सरकारलाई दबाब दिएका थिए।

तीनै दलका नेता आ-आफ्नो कोठामा गएर बसेपछि माओवादीका कृष्णबहादुर महरा र एमाले नेता केपी ओलीमात्र सहमति निकाल्न सक्रिय देखिएका थिए। ‘ओली गएर माओवादी अध्यक्ष दाहालसँग एक्लै वार्ता गरे, ५ दिनभित्र राजीनामा गराउँछु, ढुक्क हुनुस् भने, त्यसपछि सहमति भयो भन्दै ओली निस्केर हिँडे,’ स्रोतले नागरिकसँग भन्यो। ओली निस्केर हिँडिसक्दा पनि एमाले महासचिव ईश्वर पोखरेल, भरतमोहन अधिकारीलगायत नेताहरू भने बेखबर थिए।

आफूलाई राजीनामा गराएर राष्ट्रिय सहमतिको सरकार गठन गर्न मुख्य तीन दलबीच सहमति भएपछि प्रधानमन्त्री नेपालले संविधानसभा भवन नयाँ बानेश्वरबाट बाहिर निस्कँदै गर्दा संवाददाताहरूसँग भने, ‘अबको समयलाई सहकार्यको राजनीतिक यात्राका रूपमा प्रयोग गर्नुपर्छ।’

एमाले अध्यक्ष खनालले आइतबार बिहान शीर्षनेताको बैठक बसी आगामी मार्गचित्र तय गर्ने जानकारी दिए। ‘अब बहुमतीय प्रक्रिया हैन, सहमतीय प्रक्रियाबाट अघि बढ्नेछौं, जुन दलको नेताले विश्वास आर्जन गर्छ, उही प्रधानमन्त्री हुन्छ,’ उनले भने।

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रियालाई तत्काल टुंगोमा पुर्‍याउन वार्ता थाल्ने बताउँदै भने, ‘शान्ति प्रक्रिया चाँडो टुंग्याएर सरकार निर्माणमा अघि बढ्छौं।’ माओवादी लडाकु समायोजन, वाइसिएलको अर्धसैन्य संरचनालगायत शान्ति प्रक्रियासँग सम्बन्धित एजेन्डा कार्यान्वयनमा माओवादी सहमत भएपछि राष्ट्रिय सहमतिको सरकार गठन हुनेछ। कांग्रेस-एमालेले अघि सार्दै आएका छ बुँदाको कार्यान्वयनपछि मात्र सरकार परिवर्तन हुने ती दलका नेताको दाबी छ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले २ वर्षभित्र इमानदारीसाथ संविधानसभाले काम गरे पनि दलहरूबीचको राजनीतिक विवादका कारण संविधान निर्माणलाई पूर्णता दिन नसकेकोमा जनताप्रति क्षमाप्रार्थी हुनुपर्ने बताए। ‘७५-८० प्रतिशत काम गरिसकेका छौं, बाँकी कामलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भने। उनले संविधानसभाको चाँडै बैठक बसी कुन समयमा कति काम गर्ने भनेर कार्यतालिका बनाउने पनि जानकारी दिए।

दलहरूबीच सहमति भएपछि माओवादीका तर्फबाट दर्ता गराएको विरोधको सूचनालाई माओवादी नेता देव गुरूङले फिर्ता लिए। त्यस्तै नेपाल सद्भावना पार्टी (आनन्ददेवी) की सभासद् सरिता गिरीले पनि आफूले दर्ता गराएको विरोधको सूचना फिर्ता लिइन्। विधेयकमाथिको छलफलमा राप्रपा नेपालका चन्द्रबहादुर गुरूङले मात्र बोलेका थिए। उनले संविधानसभाको म्याद थप्न नहुने र ताजा जनादेशमा जानुपर्ने बताएका थिए।

त्यसअघि शुक्रबार साँझ आठ बजे प्रधानमन्त्री नेपालले राष्ट्रपति डा. रामवरण यादवसँग परामर्श गरेका थिए। भेटका अवसरमा प्रधानमन्त्री नेपालले पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराएका थिए। नेपालले सरकारले संविधानसभाभित्रैबाट नयाँ संविधान बनाउन चाहेको जानकारी दिएका थिए।
प्रधानमन्त्री नेपालले सहमतिका आधारमा आफू अघि बढ्न तयार रहेको बताउँदै सरकार संवैधानिक रूपमा अघि बढ्ने स्पष्ट पारेका थिए। प्रधानमन्त्री नेपालले आफू सधैं लोकतान्त्रिक मूल्य, मान्यता र विधिको पक्षपाति रहेको र अरूले पनि त्यही अनुसरण गरेको हेर्न चाहेको बताएका थिए। भेटमा राष्ट्रपति यादवले सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जनाएका थिए।

Source : Nagarik

One Response to मध्यरातमा थपियो संविधान सभाको एक वर्षे म्याद

  1. Wyo very well thanks you so much for every one do best for Nepalese people any party Maoist, NCP and UML , God bless.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s