काठमाडौं, हालै चार कम्पनीलाई अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालन अनुमति दिएको सरकारले थप नयाँ एयरलाइन्स कम्पनीलाई प्रस्ताव आह्वान गरेको छ । पर्यटन मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट ‘क’ वर्गको अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनका लागि आह्वान गरेको हो ।
अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनी हुनुपर्नेछ । त्यस्तो कम्पनी स्वदेशी वा संयुक्त लगानीको पनि हुनसक्ने आह्वानमा उल्लेख छ । आन्तरिक उडान सञ्चालन गरिरहेका एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न चाहे चुक्ता पुँजी ५० करोड हुनुपर्नेछ । त्यस्तै, कम्पनीले पाँच वर्ष सेवा सञ्चालन गरेको र पाँच जहाज भएको हुनुपर्नेछ । नयाँ कम्पनीको हकमा भने २ वटा यात्रु ओसारपसार गर्ने र एउटा मालवाहक विमान हुनुपर्नेछ ।
आवेदनका लागि ५० हजार तिरेर कार्यगत सर्त -टिओआर) लिनुपर्ने प्रावधान छ । त्यस्तै, अनुमतिका लागि ५० लाख धरौटी राख्नुपर्नेछ । मन्त्रालयले ४५ दिनको म्याद तोकेर प्रस्ताव आह्वान गरेको छ । ‘क’ वर्गको सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी आउन सक्ने सम्भावना रहेको पर्यटन मन्त्रालयका सहसचिव वीरेन्द्रबहादुर सिंहले बताए । ‘अहिलेको आह्वान अन्तर्राष्ट्रिय एयरलाइन्स सेवा सञ्चालन गरिरहेका कम्पनीका लागि हो,’ सिंहले भने ।
यसअघि ‘क’ वर्गका लागि प्रस्ताव नआएकाले पुनः आह्वान गरिएको मन्त्रालयले जनाएको छ । साढे तीन घन्टाभन्दा बढी लगातार उडान गर्न सक्ने कम्तीमा दुई वाइड बडी जहाज भएको कम्पनीलाई ‘क’ वर्गको अनुमति दिन सकिने प्रावधान छ । मन्त्रालयले गत मंसिरमा अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनका लागि प्रस्ताव आह्वान गरेकोमा चार एयरलाइन्स कम्पनीले आवेदन दिएका थिए । आवेदन दिने सबै कम्पनीले मन्त्रालयबाट अनुमति पाइसकेका छन् । आन्तरिक सेवा सञ्चालन गरिरहेका दुई र नयाँ दुई स्वदेशी एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका हुन् ।
बुद्ध एयर, युनिटी एयरलाइन्स र श्री एयरलाइन्सले ‘ख’ वर्गको र डाइनामिक एयरले ‘ग’ वर्गको अनुमति पाएका छन् । त्यस्तै नेपालमा उडान गरिरहेका विदेशी एयरलाइन्सले पनि क्षमता वृद्धिका साथ सेवा विस्तार गरिरहेका छन् । न्यारो बडीबाट सेवा सञ्चालन गरिरहेका विमान कम्पनीले वाइड बडी ल्याएका छन् । पि|mक्वेन्सी पनि बढेको छ । हाल २५ वटा एयरलाइन्सले नेपालबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् । आगामी वर्षसम्म यो संख्या ३२ पुग्ने अनुमान सरकारको छ ।
अन्तर्राष्ट्रिय एयरलाइन्सको बढ्दो नेपाल आगमनले राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धा गर्न अप्ठेरो परिरहेका वेला सरकारको यो आह्वानले निगमले थप चुनौती सामना गर्नुपर्ने देखिएको छ ।















































