मेंग्लोर विमान दुर्घटनामा बाँचेकाको बयान


मेंग्लोर/एजेन्सी- गत शनिबार दक्षिण भारतको मेंग्लोरमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानभित्रका एक सय ६६ मध्ये एक सय ५८ यात्रुको निधन भयो । बाँचेका यात्रुको भौतिक चोट औषधि उपचारले निको हुन सक्ने अवस्था रहे पनि उनीहरूले सहेको मानसिक चोट कहालीलाग्दो छ, जुन उनीहरूसँगको कुराकानीमा प्रस्टै देखियो । विमानका भाग्यमानी यात्रीमध्येका एक हुन्, मायान कुट्टी । उनको मनमा यति गहिरो चोट परेको छ कि उनी ‘अब कहिल्यै विमान चढ्दिनँ’ भन्छन् । विमान चढेर जानुपर्ने कारणले नै उनले सारजाहाको जागिरमा नर्फकने कसम खाइसके । त्यहाँ उनी सेल्सम्यानको रूपमा काम गर्थे ।

म मेरै जन्मस्थल कान्नुरमा घरजम गरेर बस्छु, उनले भने । अरूलाई सुनाउनका लागि उनीसँग अर्को रोचक कथा पनि छ । यमराजलाई समेत छक्याएर घटनास्थलबाट सग्लो पासपोर्टसहित जीवितै उम्कन सफल कुट्टीलाई यस्तो विपत्तिको घडीमा पनि आफ्नै देशका भनाउँदाहरूले लुटे । मन्त्रीहरूसँगै विरामी भेट्न आएका व्यक्तिले आफ्नो मोबाइल फोन चोरेको उनी बताउँछन् । ‘मन्त्रीसँगै आएको एकजनाले मेरो मोबाइल चोर्‍यो,’ उनले भने । बाँचेकामध्ये सबैभन्दा पहिले अस्पतालबाट डिस्चार्ज हुने कुट्टी नै हुन् ।

विमान दुई टुक्रा भएपछि तानेर जीवितै निकालिएका अर्का यात्रु अब्लुल्लाह पुथुर इस्माइलसँग अर्कै खाले कथा छ । उनी कुट्टीजस्तो हरेस खाएको कुरा गर्दैनन् । मनमा गहिरो चोट लागे पनि काम गर्न दुबई र्फकने इस्माइलको योजना छ । स्वदेशमा बसेर गुजारा नचल्ने भएकोले उतै र्फकने उनले बताए । ‘यदि म मर्नै थियो भने शनिबारै मर्नु पथ्र्यो । दुबई फर्किन भनें यहाँ मुखमा माड लाग्दैन’ उनले भने । इस्माइलको हकमा त अर्को रोचक संयोग पनि परेछ । उनले दुर्घटनामा घाइते भएपछि जुन अस्पतालमा उपचार गराए त्यो अस्पतालको एउटा बेड उनका लागि भनेर परिवारका सदस्यले पहिल्यै बुक गराइसकेका थिए । तर, दुर्घटनाको लागि उपचार होइन, स्नायु समस्याको नियमित उपचारका लागि ।

बंगलादेशी मेडिकल विद्यार्थी सब्रिना हकको खुट्टा र हातमा चोट लागेको छ । सिनेमामा कहिलेकाहीँ देखिएको जस्तो घटनाबाट स्तब्ध बनेकी उनी आफूलाई केही विशेष काम दिनकै लागि इश्वरले बचाएको ठान्छिन् । ढाकामा बसोबास गर्ने सब्रिनाले यहाँको एउटा कलेजमा इर्न्र्टनसिप गरिरहेकी छिन् । उनी त्यो पूरा गर्न चाहन्छिन् । 

एउटा निजी अस्पतालमा स्पाइनल कर्डको उपचार गराइरहेका जोयलप्रताप डिसुजासँग पनि वेदनाका कुरा थुप्रै छन् । डिस्चार्जअघि सबै कुरा ठीक छ भन्ने सुनिश्चित गर्न उनको जाँच भइरहेको बताइएको छ । पर्यटक भिसामा दुबई पुगेका जोयलले त्यहीँ काम भेट्टाए । त्यसपछि पर्यटक भिसालाई रोजगार भिसामा बदल्न स्वदेश फर्केका जोयल दुर्घटनाको सिकार बने । दुर्घटनामा बाँचेका अर्का यात्रु प्रदीप जीके २७ मेमा हुने आफ्ना भाइको बिहेमा भाग लिन स्वदेश फर्केका थिए । उनी पनि रोजीरोटीको जोहो गर्न पुनः दुबई र्फकन चाहन्छन् । अर्का यात्रु कृष्णन कोलिकुन्नु के गर्ने भन्नेबारे अझै द्विविधामै छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s