-राधिका ढकाल
पछिल्लो सातादेखि विश्वकै सञ्चारमाध्यम फुटबलमय भएका छन् । दक्षिण अफ्रिकामा विश्वकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका बेला बहुराष्ट्रिय कम्पनीका स्थानीय प्रतिनिधिहरु व्यापारमा छलाङ मार्न तीव्र प्रतिस्पर्धामा उत्रिएका छन् । उनाइसौं फिफा विश्वकप फुटबल प्रतियोगिता कुरेर बसेका उपभोक्तालाई हरेक दृष्टिकोणले रमाइलो, स्मरणीय र आनन्ददायक बनाउन व्यवसायीहरु कम्मर कसेर लागेका छन् । नयाँ टेलिभिजन, मादक पेयपदार्थ र सुस्वादु खानाको छनोट दिलाउन यतिबेला संसारभरका बहुराष्ट्रिय कम्पनीले नयाँ उत्पादन र बिक्री योजना ल्याएका छन् । फुटबलप्रेमी उपभोक्ता दक्षिणअफ्रिका जान सहज नभएको अवस्थामा आफ्नै घरपरिसरमा यसलाई अझ नजिक र रमाइलो बनाउन व्यापारीहरु प्रतिस्पर्धामा छन् । विश्वकपलाई टेलिभिजनमा हरेक दिन २ अर्बभन्दा बढी दर्शकले हेर्ने अनुमान गरिएको छ । यो अवसरमा आफूलाई विश्वव्यापी बनाउन हरेक कम्पनीले प्रतिस्पर्धा गर्छन् ।
विशेषगरी नरम तथा कडा पेयपदार्थ एवं स्न्याक्स उत्पादक र टेलिभिजन कम्पनीलाई विश्वकप फुटबलको रन्कोले रन्थनाएको छ । हरेक बहुराष्ट्रिय कम्पनीले यो अवधिमा व्यापार गर्ने लक्ष्य निर्धारण गरेका छन् । त्यसलाई पूरा गर्न संसारभरका विक्रेताले रातदिन एक गरेर काम गरेका छन्, जसको झलक नेपालको सञ्चारमाध्यम र स्थानीय बजारमा पनि देख्न सकिन्छ । कतिपय बहुमूल्य वस्तुको भाउ घटेको छ अथवा एउटा सामान किन्दा अर्को उपहार पाइन्छ । अझ भाग्यशाली विजेताका लागि त ठूला–ठूला उपहार नै राखिएको छ ।
यसपटक फिफाले आफ्नो साझेदारको रुपमा एडिडास, कोकोकाला, इमिरेट्स, हुन्डाई, सोनीलाई छनोट गरेको छ भने वद्भाइजर, म्याकडोनाल्ड र एमएनटीले प्रायोजक गर्ने अवसर पाएका छन् । विश्वकप सञ्चालनका लागि आवश्यक ठूलो रकम जुटाउन सहभागी यी कम्पनीले व्यापारिक लक्ष्य पूरा गर्ने हेतुले संसारभरका साझेदारहरूलाई स्थानीय बजारमा आक्रामकरुपमा उत्रन आह्वान गरेका छन् ।
बहुराष्ट्रिय कम्पनीहरूले यो अवसरलाई आफ्नो व्यापारिक साख विस्तारको महत्वपूर्ण समयको रुपमा लिन्छन् । माउ कम्पनीले नै बृहत कार्यक्रम ल्याएपछि संसारभर छरिएका स्थानीय विक्रेतासँगै नेपालका आधिकारिक विक्रेताले पनि बजार तताउन थालेका छन् ।
नेपालमा पनि विश्वकप फुटबलको क्रेज र आकर्षणसँगै बजार पनि त्यही अनुपातमा बढ्ने गरेको छ । समयको फाइदा उठाउन यतिबेला बजारमा विभिन्न टेलिभिजन कम्पनीले तीव्र प्रतिस्पर्धा गरिरहेका छन् ।
‘फुटबलको बहार, उपहारै उपहार’ शीर्षकको विज्ञापन राखेर टिभी बेच्ने प्रतिस्पर्धा सुरु भएको छ । बहुराष्ट्रियदेखि स्वदेशी टेलिभिजनका ब्रान्डले पनि विभिन्न आकर्षक प्रस्ताव ल्याएर बजार तताएका छन् ।
विश्लकपको साझेदार सोनी कर्पोरेसनले यो पर्वलाई लक्षित गरी नयाँ टेलिभिजन नै बजारमा उतारेको छ । थ्रीडी अनुभूति गर्न सकिने टेलिभिजन बजारमा ल्याएको सोनीको नेपालस्थित आधिकारिक विक्रेत्ता नेपा हिम ट्रेड लिंकले शुक्रबारदेखि लागू हुनेगरी उपहार योजनासमेत ल्याएको छ । यसअन्तर्गत सोनी ब्राभियाका विभिन्न एलसीडी टेलिभिजन खरिदमा पाउने कुपन स्क्राच गरेर तत्कालै उपहार पाउन सकिनेछ ।
“नेपालमा पनि फुटबल लोकप्रिय भएको र ब्राभिया टेलिभिजन प्रयोग गर्न चाहनेको संख्या बढ्दै गएकाले दुवैलाई एकै बिन्दुमा ल्याउन यो योजना ल्याइएको हो”, कम्पनीका मुरारी गौतमले भने ।
कम्पनीले ब्राभिया किन्नेलाई वायरलेस होमथियटर, डेक, साइबरसट क्यामेरा, वाकमेनलगायतका उपहार दिने कार्यक्रम ल्याएको छ ।
यतिबेला बजारमा सबैभन्दा बढी टेलिभिजन कम्पनीले विभिन्न अफर ल्याएर बिक्रीलाई तीव्र बनाउन थालेका छन् । एलजी, सीजी, भिडियोकोन, सामसुङलगायतका कम्पनीमात्र होइनन्, हिम इलेक्ट्रोनिक्स पनि प्रतिस्पर्धी बनेर उत्रिएको छ ।
विश्वकपका लागि सामसुङले ‘मेड फर फुटबल’ योजना भनेर नयाँ टेलिभिजन बजारमा ल्याएको छ । सामसुङको नेपालस्थित आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले विश्वकपलाई लक्षित गरी ‘फुटबलप्रेमीलाई नयाँ उपहार’ भन्दै नयाँ टिभी बजारमा ल्याएको छ । यो योजनाअन्तर्गत दैनिक १ भाग्यशाली विजेताले ३२ इन्चको सामसुङ एलसीडी टेलिभिजन पाउनेछन् ।
भिडियोकोन टेलिभिजनले ‘फुटबलको बहार, भिडियोकोनको टिसर्ट उपहार’ योजना ल्याएको छ । “नेपालमा फुटबलको क्रेज बढेकाले अरु समयभन्दा विश्वकपमा व्यापार उच्च हुनेमा आशावादी छौं”, भिडियोकोनका तेजेन्द्र महराले भने । उनका अनुसार यो योजना आइतबारदेखि सुरु भइसकेको छ ।
चौधरी गुप्रले स्वदेशमै उत्पादन गरेको सीजी टेलिभिजनलाई यही माहोलमा घर–घर भित्र्याउने योजना बनाएको छ । सीजी टेलिभिजन किन्नेलाई सीजी टिममा पार्ने र ती ग्राहकले एलजी टेलिभिजनको खरिदमा लेदरबेल्ट, एलजी नाडीघडी, सीजी टिसर्ट पाउने कम्पनीका सञ्जय राजभण्डारीले जानकारी दिए । उनका अनुसार हरेक साता १ जना भाग्यशाली विजेता छनोट गरी ११ जनालाई बम्पर उपहारस्वरुप १ सय ९० लिटरको सीजी रेफ्रिजेरेटर दिइनेछ ।
चौधरी गुप्र मुख्य आधिकारिक विक्रेता रहेको एलजी टेलिभिजनमा पनि विश्वकपको बम्पर उपहार छ । एलजीको यो वर्षको नारा ‘एलजीको साथमा वल्र्डकप हातमा’ छ । यसअन्तर्गत एलजी टेलिभिजको खरिदमा हात खाली नजाने पक्का उपहारहरू राखिएको राजभण्डारीले बताए । उनका अनुसार यो योजनाअन्तर्गत १४ र १५ इन्चको एलजी टेलिभिजन खरिदमा नाडी घडी, २१, २२ र २९ इन्चमा एलजी टिसर्ट वा फुटबल र २६ भन्दा माथिमा एलजी डीभीडी प्लेयर राखिएको छ । विभिन्न लक्की ड्रमा एलसीडी टिभीदेखि ५ तोला सुनसम्मका उपहार पनि राखिएको उनले जानकारी दिए ।
टेलिभिजन कम्पनीमात्र होइन, विभिन्न उपभोग्य सामग्री उत्पादकहरूले समेत आफ्ना उत्पादन प्रवद्र्धन गर्न ग्राहकमुखी योजना ल्याएका छन् । विश्लकपलाई ध्यानमा राख्दै डाबर नेपालले रियल जुसको प्रायोजनमा ‘रियल गोल’ उपहार योजना ल्याएको छ । यो योजनाअन्तर्गत विज्ञापनमा दिइएका ११ बलमध्ये सही बल छानेर एसएमएस गर्ने ग्राहकले विभिन्न उपहार जित्नसक्ने कम्पनीका ब्रान्ड म्यानेजर अभय गोर्खालीले जानकारी दिए ।
उनका अनुसार रियल गोल गर्नेले कियाको कार, महिनाभरि सर्वाधिक सही एसएमएस गर्नेले एमपी–फोर प्लेयर र साप्ताहिक सर्वाधिक सही एसएमएस गर्नेले २२ इन्चको एलसीडी टीभीलगायत थुप्रै उपहार पाउनेछन् । यो कम्पनीले केही भाग्यशाली विजेतालाई उपहारको रुपमा सोनी टिभी दिइसकेको छ । १९ औं विश्वकप फुटबल विशेषमा व्यापार प्रवद्र्धनका लागि योजना ल्याउने डाबर नेपाल पहिलो भएको दावी गोर्खालीले गरे ।
वरुण वेभरेजले गर्मीमा पेप्सीको प्रवद्र्धनका लागि ‘फुटबल मेनिया’ कार्यक्रम ल्याएको छ । यसअन्तर्गत उपभोक्ताहरूले विश्वविख्यात फुटबल खेलाडी ड्रोग्बा, मेस्सी र हेनरीका चित्रअंकित ३ वटा बिर्कोका साथै एउटा ‘गोल’ लेखिएको बिर्को संकलन गरेर एसएमएसमार्फत गोलाप्रथामा आफ्नो नाम दर्ता गराउन सक्नेछन् । योजनाको अन्त्यमा विजेताले हिरो होन्डा करिज्मा जेडएमआर मोटरसाइकल जित्न सक्नेछन् ।
यस्तै पेप्सीका उपभोक्ताले हरेक साता ३२ इन्चको सामसुङ एलसीडी टिभी, नोकिया मोबाइल फोन, टाइमेक्स नाडी घडी, टिसर्ट, किरिङ र फुटबल खेलाडीका पोस्टर जित्नसक्ने कम्पनीका प्रमुख कार्यकारी सुरञ्जन डेले जानकारी दिए ।
विश्वकपकै अवसरमा युरोपको चर्चित कार कम्पनी हुन्डाईले पनि बम्पर उपहार योजना ल्याएको छ । मे १७ देखि जुन १० सम्म गोलाप्रथामार्फत ४ जना विजेता छनोट गरी दक्षिण अफ्रिकाको दुईतर्फी टिकटको व्यवस्था गरिएको कम्पनीका रुपेश भट्टले बताए ।
मिहो चाउचाउले पनि विश्वकपका लागि विशेष अफर ल्याएको छ । मिहो चाउचाउको उपहार कुपनबाट ११ जनाले दक्षिण अफ्रिकाको निःशुल्क टिकट पाउनसक्ने कम्पनीका हर्ष गर्गले जानकारी दिए । “हालसम्म ३ जना विजेता छनोट भइसकेका छन्”, उनले भने ।














































Biswa kap le south africa tataunu parne ko news writer ji ki kaso