सार्वजनिक अपिल !!!
साउदी अरब, ओमान तथा बह्राइनमा रहेका UNITY LIFE ASSURANCE का सञ्चालक प्रबर्ध्दक एवं यसको सदस्यता लिएका / नलिएका सम्पूर्ण नेपाली नागरिकहरुमा गरिएको
अपिलः
आदरणीय महिला तथा सज्जनबृन्दः
यूनिटी लाइफ इन्टरनेशनल नामक कम्पनीले साउदी अरब, बहराइन तथा ओमान लगायतका खाडी राष्ट्रहरुमा रहेका नेपाली नागरिकहरु बीच नेटवर्किङ्ग व्यवसायका नाममा निक्षेप संकलन, बीमालेख जारी गर्ने र सेवा प्रवाह गर्ने कारोवार गरिरहेको भन्ने सन्दर्भमा नेपाल सरकार अर्थ मन्त्रालयबाट निम्नानुसार निर्णय भैआएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउदै यस सम्वन्धमा सचेत र सजग गराउनका लागि यो अपिल जारी गरिएको छ ।
जहाँसम्म यूनिटी लाइफ इन्टरनेशनलको नेटवर्किङ्ग व्यवसायको साउदी अरबमा कानूनी वैद्यताको प्रश्न छ यस विषयमा एकहप्ता अघि शुक्रबार ३१ बैशाख २०६७ (मे १४ २०१०) का दिन यस राजदूतावासमा राजदूत श्री हमीद अन्सारीको उपस्थितिमा NRNA ICC MEMBER (साउदी अरब) श्री राम बहादुर वेलवासे, ICC का मध्यपूर्व सह संयोजक श्री राजु सैयद, NRNA साउदी अरब अध्यक्ष श्री धरम के.सी. र यूनिटी लाइफ एसोरेन्सका Country Representative (साउदी अरब) श्री कृष्णप्रसाद शर्मा सुवेदीहरु बीच बृहत छलफल भैसकेको छ । उक्त छलफलमा निर्णय भए अनुसार निज सुवेदीले यूनिटी लाइफ इन्टरनेशनलको व्यवसाय स्वदेश तथा विदेशमा कानूनी मान्यता प्राप्त गरी सञ्चालन भैरहेको भन्ने प्रमाणहरु एकहप्ता भित्रमा राजदूतावासमा उपलब्ध गराउने प्रण गर्नुभएको थियो । सो अनुसारको प्रामाणिक कागजातहरु हालसम्म पनि उपलब्ध हुन नसक्नु, उक्त कम्पनीले साउदी अरबमा आफ्नो व्यापार गर्न स्वीकृति समेत नलिएको अवस्था एवं नेपाल सरकार अर्थ मन्त्रालयद्वारा गरिएको निर्णयको आधारमा यूनिटी लाइफ इन्टरनेशनलको नेटवर्किङ्ग व्यवसायका सम्बन्धमा नेपाल सरकारबाट कानूनी कार्वाही टुङ्गोमा नपुगुञ्जेलसम्मका लागि यो राजदूतावास निम्न अनुसार गर्न गराउन हुन सम्बन्धित सबैलाई सहयोगको लागि हार्दिक आव्हान गर्दछः
- यूनिटी लाइफ इन्टरनेशनलका संचालक, प्रबर्ध्दक एवं President Level मा पुगेका साउदी अरब, बहराइन एवं ओमानमा रहेका व्यक्तिहरुबाट हालसम्म वितरित सदस्यहरुको नामावली एवं संकलित रकमको विवरण अनिवार्य रुपमा “सातदिन”भित्र यस राजदूतावासमा बुझाईदिने ।
- यूनिटी लाइफ इन्टरनेशनलको सदस्यता लिएका नेपाली नागरिकहरुले सो सदस्यता लिएको प्रमाण सहित अविलम्व राजदूतावासमा लिखित जानकारी गराउने ।
(साउदी अरबमा रहेका केही सदस्यहरुको निवेदन रकम फिर्ता पाउँ भनी यस राजदूतावासमा प्राप्त भैसकेको छ ।)
- यूनिटी लाइफ इन्टरनेशनलको नेटवर्किङ्ग व्यवसाय सम्बन्धमा सम्माननिय प्रधानमन्त्रीज्यूले समेतले “अर्थ मन्त्रालय एवं गृह मन्त्रालय मार्फत कडा कानूनी कारवाही अघि बढाउने” निर्देशन भैसकेकोले यस व्यवसाय सम्बन्धमा सबै सचेत र सजग रहने ।
नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय सार:
“नेपालमा नेटवर्किङ्ग व्यवसायीका लागि वस्तुमा आधारित व्यवसाय मात्र गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारी भएको निर्देशिका अन्तर्गत रही कारोवार गर्न सकिने व्यवस्था रहेको छ । नेटवर्किङ्गको माध्यमबाट सेवा व्यवसाय गर्ने बारेमा कुनै कानूनी व्यवस्था भएको अवस्था छैन । साथै नेपाल राष्ट्र बैंकको अनुमति विना निक्षेप संकलन गर्ने वा विप्रेषण कारोवार गर्न पाइदैन । यसैगरी बीमा समितिको अनुमति नलिई बीमालेख जारी गर्ने वा बीमा सम्वन्धी कुनै पनि कारोवार गर्न पाइदैन ।
उल्लेखित कम्पनीले यसरी गरिने कारोवारका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बीमा समिति तथा अन्य सम्वद्ध निकायहरुबाट कुनै स्वीकृति वा अनुमति लिएको नदेखिएको हुंदा यस प्रकारको कारोवार स्वतः गैरकानूनी हुने ठहर्दछ । यस मन्त्रालयबाट सो कम्पनीबाट भए गरेका कार्यहरुका बारेमा छानविन भइरहेको छ । यस अवस्थामा विदेशमा रहेका नेपालीहरुले कडा परिश्रम गरी बचत गरेको रकमबाट निक्षेप संकलन बीमा लेख वा सेवा प्रवाह जस्ता कार्यमा गरिएको लगानीको सुरक्षा एकिन गर्न सकिने अवस्था नरहने हुन्छ ।”















































