भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि आउने क्यान्सरका बिरामी बढेका छन् । क्यान्सर रोगीको वृद्धिसँगै बिरामीको चाप पनि बढ्दै गएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुदीप श्रेष्ठले बताउनुभयो । अस्पतालमा ओपिडी सेवा लिनमात्र दैनिक एकसयभन्दा बढी बिरामी तथा रेडियोथेरापीका लागि दैनिक ६० भन्दा बढी बिरामी आउने गरेका छन् । गत वर्ष पाँच हजार ४४४ जना नयाँ बिरामीलाई सेवा दिएको सो अस्पतालले यस वर्ष पाँच हजार ८१२ जना नयाँ बिरामीलाई सेवा दिएको छ ।
तीमध्ये दुई हजार १८९ जना भर्ना भई उपचार भएको, ५४४ ले रेडियोथेरापी सेवा लिएको, आठ हजार ४५ जनाले ल्याबोरेटोरी सेवा र ७९२ जनाले ओटी सेवा लिएका थिए । गत वर्षभन्दा यो वर्ष सङ्ख्या वृद्धि भएको बताउँदै डा श्रेष्ठले क्यान्सरको उपचारमा २८७ जनालाई निःशुल्क उपचार सेवा दिइएको जानकारी दिनुभयो ।
क्यान्सरमा पनि यस वर्ष फोक्सो, स्तन र पाठेघर क्यान्सरका बिरामी बढेको बताइएको छ। यस वर्ष अस्पतालमा १८३ जना फोक्सोको क्यान्सररोगी, १३१ जनाको स्तन क्यान्सररोगी, ११० जना पाठेघरका रोगीलगायत एक हजार ३६२ जना बिरामीको स्वास्थ्य परीक्षण गर्दा ६० प्रकारका क्यान्सरका रोगी फेला परेको अस्पतालले जनाएको छ ।
Sabhar : Dainikee













































