रमेश खरेल, कान्तिपुर संवाददाता, काठमाडौं
जेष्ठ ३, हामी पनि चाहन्छौं सम्पूर्ण पेसाको मर्यादित व्यवस्थापन होस् । तर रात्रिकालीन व्यवसायीले आफ्नो धरातल बिर्सनु हुँदैन । अरू क्षेत्रले जस्तै यस क्षेत्रले पनि आफ्ना कार्यनीति बनाउनुपर्छ । यस व्यवसायमा आबद्ध सबै राम्रा छैनन् । केहीले यस व्यवसायलाई धमिलो बनाएका छन् । नेपाल प्रहरीमा पनि पोसाक लगाउने सबै राम्रा छैनन् । हाम्रो संगठनभित्र बसेका सबैले दिएको जिम्मेवारी इमान्दारिपूर्वक बहन गर्दैनन् । त्यसैले हामी सबै दोषी छौं । किन दोषी छौं ? किनकि प्रहरीले अनुचित फाइदा लिँदा तपाईंहरूले होस्टेमा हैंसे गर्नुभा’छ । त्यसैले तपाईंहरू पनि दोषी हुनुहुन्छ । किन आफ्नो पेसागत अधिकारका लागि तपाईंहरूमा आँट आउँदैन ।
‘म तपाईंलाई महिनावारी दिन्न ! हप्ता दिन्न !’ भनेर किन भन्नसक्नु हुन्न । तपाईंहरूले आँट निकाल्नु पर्यो । पृथ्वीनारायण शाहाको दिव्योपदेश म सधैं सम्झन्छु । उनले ‘घूस खान्या र दिन्या दुवै मुलुकका सत्रु हुन्’ भनेका छन् । रात्रिकालीन रेस्टुरेन्ट ११ बजे बन्द हुँदा तपाईंहरूलाई मर्का परेकै हो । यस व्यवसायबारे हामीसँग कानुन छैन । यसलाई व्यवस्थित बनाउन सरोकारवाला सबै मिलेर ‘अन्डरस्ट्याडिङ’ मा जानुपर्ने हुन्छ । त्यसै अनुसार कार्यान्वयन गर्नुपर्छ । तर त्यसका लागि हामी -प्रहरी र व्यवसायी) ले इमान्दारिपूर्वक काम गर्नुपर्ने हुन्छ ।
इमान्दारिपूर्वक काम नगर्नेलाई मेरो पुलिसले कारबाही गर्दैन भने म विभागीय प्रमुखका हिसाबले कारबाही गर्छु । व्यवसायीले पनि इमान्दारिपूर्वक व्यवसाय गर्दैन भने मलाई सूचना दिनुहोस् म कारबाही गर्छु । हेर्नुहोस् त हामीले अस्ति ठमेलमा रेड गर्दाको दृश्यले तपाईं हाम्रा आँखाबाट आँशु आउँछन् । तल बार छ । माथि गेस्टहाउस छ । त्यसमाथि ब्रोथेल्स -वेश्यालय) बनाइएको छ । त्यहाँ १३/१४/१५ वर्षका हाम्रा छोरीहरू, बैनीहरू शरीर बेचिरहेका छन् । त्यो हामीलाई बिल्कुल सह्य हुँदैन ।
अन्तक्रिर्याका क्रममा अघि एक व्यवसायी भाइले भने झैं म अब त्यस्तामा लगाइएका कामदारलाई होइन मालिकलाई कारबाही गर्छु । जसले सञ्चालन गरेको छ त्यसलाई कारबाही हुन्छ । मैले अस्ति पनि प्रेसलाई यो कुरा भनिसेको छु । अब हामी मानव बेचबिखन ऐन २०६४ अन्तर्गत त्यस्ता सञ्चालकलाई सख्त कारबाही गर्छौं । समय सीमा र मर्यादाभित्र महिला दिदीबहिनीका साथ संस्कृति झल्काउने नाच हुन सक्छन् । तर पैसाका लागि जे पनि गर्ने ? पैसा पाइन्छ भनेर म पुलिसले जे पनि गर्ने ? पैसा आउँछ भनेर तपाईंहरूले जे पनि गर्ने ? हाम्रा छोराछोरी, दिदीबहिनीलाई नाङ्गै नचाउने ? त्यो सह्य हुँदैन ।
म तपाईंहरूलाई के आह्वान गर्छु भने समाजले स्विकार नगर्ने यस्ता क्रियाकलाप हुने स्थानबारे कृपया मेरो मोबाइलमा फोन गरिदिनुहोस् । मेरो फोन चौबीसै घन्टा खुला रहन्छ । त्यस्तो गर्ने कामदारलाई होइन मेनेजर र साहुलाई म सख्त कारबाही गर्ने छु । यति मात्र होइन मेरो प्रहरी तपाईंहरूको रेस्टुरेन्टमा पसेर बियर र मासु खाऊँ ? भन्छ भने मलाई भन्नुहोस् म त्यसलाई तत्काल कारबाही गर्ने छु । उसको काम त्यहाँ बसेर बियर र मासु खाने होइन । तपाईंहरूको व्यवसाय मर्यादित भए समय बढाउन मिल्छ । त्यसका लागि तपाईंहरू तयार हुनुपर्छ हाम्रो संयन्त्र पनि तयार हुनुपर्छ ।
साथी हो, पुलिस तपाईंको रक्षक हो भक्षक होइन । तपाईंहरूको रेस्टुरेन्टमा आउँछन् भने मलाई खबर गर्नुहोस् । अपराधीलाई तपाईंहरूले संरक्षण गरेको देखिन्छ, त्यसैले भविष्यमा हुन सक्ने अप्ठ्यारोबाट जोगिन पनि मलाई भन्नुहोस् । हाम्रो १०० नम्बरमा फोन गर्नुहोस् होइन भने मलाई मेरो ९८५१०७८१०० मोबाइलमा फोन गर्नुहोस् । हामी मिलेर समाजलाई अपराधबाट मुक्त गरौं । पैसाका लागि चेलीबेटी बिक्री गर्न पाइँदैन । सुनधाराको एक्स बारमा अस्ति मान्छे जाँदा आत्तिए । काठमाडौं खाल्डोमा पनि यस्तो पनि छ भनी मलाई सोधे । आत्तिने वातावरण हामीले बनाउनु हुँदैन । यो पेसालाई सुव्यवस्थित गर्न म हनुमानढोका रहुन्जेल लागिरहने छु ।
(काठमाडौंका रात्रिकालीन डान्सरेस्टुरेन्ट व्यवसायीलाई हनुमान ढोकाका एसपी खरेलले शुक्रबार राजधानीमा दिएको मन्तव्यको सम्पादित अंश)















































