बालकृष्ण भट्टराई, कुवेत
दिन त्यसै त्यसै एक तमासले बगेको छ । यसलाई रोक्न कसैका बाउको बुताले भ्याएन वा सकेन र सायदै सक्ला भनेर विश्वास पनि म गर्न सक्दिन । मात्र यो बाटो पहिल्याउने एउटा स्रोत या बहाना बाजी हो मेरो । सँधै दिनभरिको गन्थनले वाक्क भएर कहिले कहिले त यसो बाहिर जान मन लाग्छ, साथीहरू बनाउन मन लाग्छ, नयाँ ठाउँ हेर्न मन लाग्छ; के गर्ने यो मन हो । भाषाको ज्ञान विना यो सबै कुरा कोराकल्पना मात्र हो । नजिकै कुनै गाडिको सुविधा छैन । फेरि मनलाई गाँठो पारेर आधुनिक अरवी भाषा प्रशिक्षण समात्छु ।
सँधै उठेदेखि सुत्ने बेलासम्मका गहिरा कुरामा म हाम फाल्छु । यो मेरो सामान्य जस्तो लाग्ने दैनिक नित्यकर्म जस्तै हो कुराकानीको । म कहाँ छु सबै बिर्सिएर भागेर आउने दिदीबहिनी सँगै नेपालका कुना-कुनामा हराउँछु । यी साना झिनामसिना कुराको पोको बिसाउने, दुःख, पीडा, साटासाट गर्ने काममा म सरिक हुन्छु । सम्वाद यसरी सुरु हुन्छ —
पहिलो पीडित :
प्रश्न : घर कहाँ हो दिदी या बहिनी ?
प्रतिप्रश्न : कहाँ नेपालमा कि कुवेतमा ?
प्रश्न : नेपालमा भन्नुहोस् न ?
उत्तर : सिन्धुपाल्चोक, रसुवा, झापा, दाङ, नवलपरासी यस्तै कुनै एक ।
प्रश्न : कुवेत आएको कति समय भयो ?
उत्तर : त्यस्तै १ महिना जति, ४ महिना १५ दिन, ६ महिना यस्तै यस्तै ।
प्रश्न : किन भाग्नु भएको त ?
उत्तर : मलाई साहुनीले कुट्पिट गर्छ, खाना खान दिँदैन । आज १ हप्ता भयो मैले खबुज (गहुँ, मैदाको रोटी) खाएको । त्यसमा पनि एकपल्ट मात्र दिन्छ । हिजोदेखि त त्यही पनि दिन छोड्यो अनि भागेर आएको ।
प्रश्न : तपाईंको कुवेतमा अफिस छैन, त्यहाँ फोन गर्नु भएन, किन त्यहाँ नजानु भएको त ?
उत्तर : त्यहाँ त फिलिपिनी आइमाई छे बंगालीसँग विवाह गरेर बसेकी । त्यसले पहिलो पल्ट जाँदा पनि अस्याध्यै पिटेर फेरि त्यही घरको साहुनीलाई बोलाएर पठाई । अब फेरि भागेर आइस भने तँलाई मैले जानेको छु भन्छे । त्यो त राक्षसनी हो दाइ/भाइ मलाई त्यहाँ नपठाउनुहोस् बरु म यहीं मर्छु बिन्ती छ मलाई त्यहाँ चाहिँ नपठाउनुहोस् । त्यसपछि आँखाबाट बलिन्द्र आँशुका धारा निकालेर डाँको छोडेर रुवाइ सुरु हुन्छ ।
प्रश्न : अफिसले अर्को राम्रो घरमा काम लगाइदियो भनें काम गर्ने कि नेपाल जाने त ?
उत्तर : म अब घर नै जान्छु दाइ म काम गर्न सक्दिन मेरो शरीर कुटाइले गर्दा काम गर्न नसक्ने भइसक्यो । बिन्ती दाइ मलाई काममा नपठाउनु होस म घर जान चाहन्छु ।
दोस्रो पीडित :
प्रश्न : नाम, नेपालको ठेगाना र आएको समय भन्नुहोस त ?
उत्तर : मेरो नाम कान्छी या कुमारी (प्राय: घरमा काम गर्ने सबैलाई बोलाउने नाम
यिनै हुन्) भनेर बोलाउँछन् । मेरो नागरिकतामा चाहिँ हुर्वु छुमु लामा छ । घर रसुवा हो । आएको चार वर्ष भयो ।
प्रश्न : अफिसको नाम र टेलिफोन नं. थाहा छ त ?
उत्तर : थाहा छैन त ।
प्रश्न : तिमीले काम गरेको घरको बाबाको नाम र टेलिफोन नं. थाहा छ त ?
उत्तर : त्यो पनि थाहा छैन । साहुनीले सबै मसँग भएको कागजहरू च्यातेर फालिदियो । मेरो लाउने लुगा पनि छैन । म यही लुगामा आएको ।
प्रश्न : तिमीलाई आफुले काम गरेको घरको ठेगाना थाहा छ त ?
उत्तर : त्यति चाहिँ थाहा रहेछ । त्यही पनि अरविक भाषामा सरर भन्न थाली मैले नबुझेर साथीलाई सहयोग मागेर टिपेर राखेँ ।
प्रश्न : तिमी कति वर्षकी भयौ ?
उत्तर : थाहा छैन । मेरो नागरिकतामा वा पासपोर्टमा छ । त्यहीँ हेरन ल ।
प्रश्न : पासपोर्ट कसले बनाइदिएको ?
उत्तर : त्यो नेपालको एजेन्टले बनाइदिएको ?
प्रश्न : कति पैसा तिरेर आएको ?
उत्तर : पैसा त लागेन दाइ । कुवेतमा काम गरेर तीन महिनाको पैसा दिनु भनेर पठाएको छ । हामीलाई त पैसा नै दिएन कसरी तिर्ने होला । नेपालमा बुबालाई एजेन्टले पैसा माग्दै छ रे ।
प्रश्न : कति वर्षको भयौ थाहा छ ?
उत्तर : थाहा छैन ।
प्रश्न : पासपोर्टमा कति वर्षको बनाएर आएको त ?
उत्तर : खोइ २० हो कि २१ वर्ष बनाइदियो त्यो नेपालको एजेन्टले मलाई थाहा छैन ।
प्रश्न : कतिमा पढ्दै थियो नेपालमा बैनी ?
उत्तर : मैले पढिन दाइ ।
तेस्रो पीडित :
प्रश्न : नाम के हो बहिनी ?
उत्तर : कान्छी हो ।
प्रश्न : तपाईंको पासपोर्टमा पनि कान्छि नै छ त ?
उत्तर : होइन, पासपोर्टमा त लालमाया दमाई छ ।
प्रश्न : तपाईंको आफ्नै पासपोर्ट हो कि अर्कैको मा आएको त ?
उत्तर : म गाउँको अर्कै साथीको पासपोर्टमा आएको ।
प्रश्न : नेपालमा घर कहाँ हो ?
उत्तर : सिन्धुपाल्चोक ।
प्रश्न : कुवेत आएको कति समय भयो ?
उत्तर : ४ वर्ष भयो ।
प्रश्न : घरमा फोन गर्दै छौ त ?
उत्तर : छैन, अहिले सम्म एक पल्ट पनि गरेको छैन । साहुनीलाई नेपालमा फोन गर्न जान्छु भनेको जानै दिँदैन ।
प्रश्न : कति वटा घरमा काम गर्यौ त ?
उत्तर : दुईटा घरमा काम गरेँ । पहिलो घरमा १ वर्ष गरेँ । त्यो घरको साहुले १ वर्षको पैसा पनि दिएन । दोस्रो साहुलाई बेचिदियो । अहिले दोस्रो घरमा बेचिदिएको पनि ३ वर्ष भयो । पैसा दिएन अनि भागेर आएको । मलाई साहुको घर यहाँ हो भनेर ठेगाना मात्र थाहा छ अरू केही थाहा छैन । टेलिफोन नम्बर पनि थाहा छैन । मेरो अफिस पनि कहाँ हो नम्बर कति थाहा छैन ।
प्रश्न : कति वर्षको भयो त ?
उत्तर : म अहिले १८ वर्षकी भएँ । म कुवेत आउँदा १४ वर्षको थिएँ ।
प्रश्न : पासपोर्ट कसले बनाइदिएको तिम्रो ?
उत्तर : मेरो त पासपोर्ट बनाएको छैन । म त अर्कै दिदीको पासपोर्टमा आएको ।
यी सबै गुनासाहरू भागेर आउने प्राय:जसो सबैमा लागु हुन्छ । कोही कोही चलाखीपूर्ण तवरले भागेर बाहिर बस्नेको पनि जगजगी छ । कोही कसैको मायाजालमा परेर भाग्नेको कथा छुट्टै छ । यी सबै बुझेर बुझ्नै नसकिने कुरा छन् आएर समस्या एकातिरको सुनाउँछन् तर उनीहरूको काम गराई दोस्रो खालको हुन्छ ।
एजेन्सीले कुटेर आएका मान्छेको पनि कमी छैन । जबकि दुईजना कुटिएका दिदीहरू शरीरमा लागेका घाउका दागहरू लिएर दूतावासमा आएका थिए । कति क्रुर र निर्दयी मान्छे होलान् ती दु:ख गरेर केही पैसा कमाउन आएका मानिसलाई मरणासन्न पारेर काममा पठाउने ।
विशेष गरेर श्रीलंकन र बंगालीदेशी एजेन्टहरूबाट नेपाली दिदीबहिनीहरूले पाएका दुःखका गुनासा धेरै नै बढ्दै गएका छन् । कुटाइ खाएका कुरा त झन के भन्नु र दूतावासमा आएका सबैका मुखबाट सुन्न पाइन्छ । आउने दिनमा कुवेतबाट फर्केका दिदीबहिनीले भोगेका समस्याको बारेमा जे-जति देखेको छ, भोगेको छ, नेपालमा गएर विदेश जान चाहने (महिला) गाउँले दिदीबहिनीलाई जानकारी गराइदिए भने पक्कै पनि मान्छे आँखा चिम्लेर हाल्फाल्ने थिएनन् होला जस्तो लाग्छ मलाई !
समस्या एक खालको मात्र होइन धेरै खालका छन् । जुन तत्कालै निराकरण गर्न मुश्किल छ तै पनि झुटा विवरणले अल्झाएर सत्य कुरा भन्ने मान्छेलाई अप्ठायारोमा पारेका छन् । यी कुरा समस्यामा परेका मान्छेले बुझ्नु पर्यो ।
balkrishnachaju@hotmail.com
१३ मे २०१० (अल जहरा)















































