काठमाडौं- सोमबार सेयर मूल्यसूचकमा देखिएको सामान्य वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । सोमबार नेप्से परिसूचक ५.७५ अंक वृद्धि भई ४१८.७७ बिन्दु कायम भएको छ । एक साताको हडतालपछि खुलेको पहिलो दिन आइतबार नेप्से सूचक ४१३ अंकमा झरेको थियो भने कारोबार रकम ९६ लाख रुपैयाँमा सीमित भएको थियो । सोमबार ६ सय ५२ कारोबारमा १ करोड ३९ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भए ।
बैंकिङ समूहको सूचकमा ९.०६ अंकले वृद्धि भएपछि नेप्से सूचक उकालो लागेको हो । बिमा र जलविद्युत्बाहेक सबै समूहका सूचकमा वृद्धि भएको छ । ३५ रुपैयाँले मूल्य बढेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३४ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भयो । अघिल्लो दिन चार्टर्ड बैंकको सेयर मूल्य ७५ रुपैयाँ घटेको थियो ।
अघिल्लो दिन ५१ रुपैयाँले घटेको एभरेष्ट बैंकको मूल्य ७३ रुपैयाँले बढेको छ । यस्तै, हिमालयन बैंकको ७८ र नबिल बैंकको ८७ रुपैयाँ मूल्य बढेको छ । बैंक अफ एसियाको भने ८६ रुपैयाँले घटेर मूल्य २३१ रुपैयाँमा झरेको छ । यसैबीच नेपा सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीको १ करोड ५६ लाख ७७ हजार कित्ता हकप्रद र ३ लाख ४५ हजार ६ सय कित्ता बोनस सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।













































