वैशाख २६- विवाहको सिजन सुरु हुनै लाग्दा स्थानीय बजारमा आइतबार सुनको मुल्य तोलामा ३४ हजार नाघ्ने भएको छ । स्थानीय बजारमा अघिल्लो आइतबारभन्दा प्रतितोला सुनको मूल्य करिब १ हजार ३ सय रुपैयाँ बढेर आइतबार कारोबार हुने भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा यस साता सुनको मुल्यमा उच्च वृद्धि भएकाले स्थानीय मूल्य उकालो लागेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । बिहीबारभन्दा शुक्रबार उच्च दरले पहेंलो धातुको मूल्य बढेको र घट्ने सम्भावना कम भएको भन्दै संघले आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ३४ हजार रुपैयाँभन्दा बढी कायम हुने जनाएको छ ।
माओवादी हडतालको कारण यस साता भने सुनको मूल्य निर्धारण भए पनि कारोबार भएन । शुक्रबारबाट बन्द फिर्ता लिएपछि बजार खुला हुँदा धेरै भाउ अन्तर उपभोक्ताले बेहोर्नुपर्ने भएको छ ।
‘आइतबार सुनको मूल्य तोलामा ३४ हजारमाथि -दस ग्राममा २९ हजार २ सय देखि २ सय ६०) रुपैयाँ कायम हुने भएको छ,’ शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य पछ्याउँदै स्थानीय बजारमा भाउ बढेको हो ।’
अर्कोतिर सुनको स्थानीय मूल्य निर्धारण गर्ने जिम्मा पाएको संघले शान्ति र्यालीका कारण शुक्रबार मूल्य निर्धारण गरेको थिएन । मूल्य निर्धारण भएको भए शुक्रबार नै सुनको स्थानीय भाउ तोलामा ३४ हजार बढी निर्धारण हुने शाक्यले बताए ।
अन्तर्राष्ट्रिय बजारमा साताको पहिलो दिन आइतबार प्रतिआउन्स सुनको मूल्य १ हजार १ सय ७९ डलर कायम भएको थियो । शुक्रबार बढेर प्रतिआउन्ससुनको मूल्य १ हजार २सय रुपैयाँ पुग्यो ।
अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यका साथै अमेरिकी डलर नेपाली रुपैयाँको दाँजोमा मजबुद भएकाले स्थानीय बजारमा भाउ उच्च दरले बढ्ने भएको हो,’ उनले थपे, ‘स्थानीय मूल्यमा उच्च वृद्धि हुनुको पछाडि अन्तर्राष्ट्रिय भाउ र डलरको भूमिका छ ।’













































