आमहड्तालमा ५१ करोड खर्च

काठमाडौं २५ वैशाख

एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीले मे दिवस र आमहड्तालमा ५१ करोड रुपैयाँ खर्च गरेको थाहा भएको छ । पार्टीनिकट स्रोतका अनुसार मजदुर दिवसमा गरिएको जनप्रदर्शन, ६ दिने आमहड्ताल र शनिबारसम्ममा यो रकम खर्च भएको पार्टी वृत्तमा चर्चा छ । यो हिसाबमा देशभरका जिल्लाहरूमा भएको खर्च गणना गरिएको छैन । यो खर्चमा माओवादीका राजधानीमा रहेका कार्यकर्ताको खर्च पनि हिसाब गरिएको छैन । माओवादी आफैंले दाबी गरेको करिब १ लाख कार्यकर्ता काठमाडौं आएको अनुमानका आधारमा यो हिसाब गरिएको हो ।
यसपटक देशभरका क्याटरिङ व्यवसायीलाई अत्यन्तै सहुलियत मूल्यमा खानाको व्यवस्थापन गर्न अनुरोध र दबाब दिइएको थियो । देशभर कार्यकर्ताको खानपानको व्यवस्था गर्दै आएका कमान्डरहरूले पार्टीसँग मागेको खर्चका आधारमा राजधानीमा मात्रै अहिलेसम्म ५१ करोड १० लाख रुपैयाँ खर्च भएको देखिन्छ ।
काठमाडांैको चक्रपथ क्षेत्रका कोटेश्वर, कलंकी, सातदोबाटो, ग्वार्को, बालाजु, चाबहिल, गाेंगबु, सीतापाइला, चक्रपथभित्रका बागबजार, नयाँबानेश्वर, मैतीदेवी, सुन्धारा, भोटाहिटी, माइतीघर, भद्रकाली, पाटनलगायत १८ स्थानमा माओवादीले गत शनिबार विरोध प्रदर्शन गरेको थियो ।
जुलुस निकालिने स्थान वरपरका निजी विद्यालय, सार्वजनिक स्थान, मन्दिर परिसर, निर्माणधीन हाउजिङ कोलोनी र अर्पाटमेन्टहरू, क्याटरिङ र व्यावसायिक भवनलगायतका ठाउँहरूमा पार्टीले कार्यकर्ताको खानपानको प्रबन्ध मिलाएको थियो ।
एनेकपा माओवादी स्रोतले राजधानी भित्र्याएका करिब १ लाख कार्यकर्तालाई खाना खुवाउनमात्र २८ करोड ५० लाख रुपैयाँका हाराहारीमा खर्च गरेको जनाएको छ । आन्दोलनमा सहभागी हुन आएका कार्यकर्तालाई बिहान चिया, नास्ता र खाना, दिउँसो खाजा र बेलुकी खानाको व्यवस्थापन गर्दा प्रतिव्यक्ति दैनिक २ सय ८५ रुपैयाँ खर्च गरेको छ । यो रकम विभिन्न क्याटरिङ कम्पनीले माओवादीसँग लिएको रकमका आधारमा तय गरिएको हो ।
स्रोतका अनुसार एक कार्यकर्ताका लागि चिया १०, खाजा २५, दिउँसोको खाना ७५, दिउँसो खाजा २५, बेलुकाको खाना ७५, फलफूल २५, मासु ५० रुपैयाँ औसतमा खर्च भएको छ । कतिपय क्याटरिङले प्रतिव्यक्ति १ छाक खानाको ५० रुपैयाँ लिएका थिए । माओवादी र क्याटरिङबीच कम्तीमा ५० रुपैयाँमा खाना खुवाउने सहमति भएको थियो । सामान्यतया क्याटरिङ कम्पनीले अन्य समयमा प्रतिव्यक्ति खाना खुवाएवापत ३ सय रुपैयाँ लिने गर्दथे ।
अधिकांश कार्यकर्तालाई पहेंलो दाल, एकथरी तरकारी र भातमात्र टपरीमा खुवाउने गरिएको थियो । सडकछेउका क्याटरिङमा कार्यकर्ताहरू दिउँसो र बेलुका लाइन लागेर पार्टीले उपलब्ध गराएको मेस पास दिँदै खाना लिने गरेका थिए । दिउँसोको खाजा सडकमा नै पत्रिका ओच्छाएर खाने गरेका थिए । माओवादीले तेस्रो दिनदेखि कार्यकर्ताको खानामा स्याउ र कतैकतै केराको पनि व्यवस्था गरेको थियो ।
पार्टीले राजधानी आसपास र देशका विभिन्न भागबाट भित्र्याएका कार्यकर्ताको आवत–जावतका लागि मात्रै करिब १० करोड रुपैयाँ खर्च गरेको बताएको छ । यात्राका लागि एक कार्यकर्ताले औसतमा १ हजार रुपैयाँको दरले खर्च भएको जनाएको छ ।
आमहड्तालमा सहभागीमध्ये करिब ३० हजारको संख्यामा रहेका पार्टीको युवा संगठन वाईसीएलका लागि व्यवस्था गरिएका विभिन्न प्रकारका पोसाकका लागि माओवादीले करिब ३ करोड रुपैयाँ खर्च गरेको जानकारी पनि सम्बद्ध स्रोतले कारोबारलाई दिएको छ । त्यसबाहेका विभिन्न तहका कार्यकर्तालाई वितरण गरिएका पोसाकहरू सहयोगबापत पार्टीनिकट विभिन्न व्यक्ति, संघसंस्थाले उपलब्ध गराएको स्रोतले बतायो ।
कार्यकर्तालाई राति सुत्नका लागि आवश्यक ओड्ने र ओछ्याउने कपडाको लागि करिब १० करोड रुपैयाँ खर्च भएको बताइएको छ । माओवादीले स्कुल, निर्माणाधीन भवन र जीर्ण अवस्थाका सरकारी कार्यालयलगायत केही पनि सुविधा नभएका स्थानमा कार्यकर्ता राखेकाले ओच्छ्याउने म्याट र ओढ्नका लागि ठूलो मात्रामा सस्ता ब्ल्यांकेट किनेको थियो । सडकमा कार्यकर्ता बस्नुपर्ने भएकाले चिसोबाट जोगाउन म्याटसमेत किनेको थियो ।
एनेकपा माओवादीले प्रदर्शनका क्रममा प्रयोग गरिएका झन्डा तथा ब्यानरका लागि करिब १० लाख रुपैयाँ खर्च गरेको बताएको छ । माओवादीले १ सय २१ औं श्रमिक दिवसलाई आधार मानेर गत मे १ बाट सुरु गरेको आमहड्तालको विभिन्न संघ, पेसागत संघसंस्था, कूटनीतिक नियोग र देशका विभिन्न भागमा जनताहरूको प्रतिकारात्मक जनसहभागिता बढ्न थालेपछि शनिबारबाट स्थगित गरिसकेको छ । हड्ताल स्थगित गरेको भए पनि एनेकपा माओवादीले शनिबार राजधानीमा विशाल आमसभा र आइतबार सिंहदरबार घेराउको कार्यक्रमलाई भने जारी राखेको छ । प्रधानमन्त्रीको राजीनामा नआएसम्म माओवादीले आन्दोलनलाई जारी राख्ने बताएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s