इस्लामावाद/ पाकिस्तानी तालिवानप्रमुख हकिमुल्लाह महसुदले अमेरिकामा ठूलो आक्रमण गर्ने धम्की दिएका छन् । गत जनवरीमा गरिएको हवाई आक्रमणमा मारिएको आशंका गरिएको पाकिस्तानी तालिवानप्रमुख हकिमुल्लाह महसुदको एक भिडियो दृश्य सोमबार सार्वजनिक भएको छ ।
गत महिना खिचिएको अनुमान गरिएको उक्त भिडियो दृश्यमा देखापरेका हकिमुल्लाहले इस्लामी सशस्त्र लडाकु हत्याको बदला लिन अलकायदाले महिना दिनभित्र अमेरिकामा ठूलो आक्रमण गर्ने बताएको छ ।
नौ मिनेटको सो भिडियोमा हकिमुल्लाहले भनेका छन्, ‘हाम्रा बहादुर योद्धाले आफूलाई बलिदान दिएर प्रमुख अमेरिकी सहरमा आक्रमण गरी ध्वस्त पार्नेछन् ।’
यसैगरी, न्युयोर्कको टाइम्स स्क्वायरमा आपनो संगठन तेहरिक-ए-तालिवानले कार बम राखेको दाबी उनले गरे ।
भिडियोमार्फत हकिमुल्लाहले अमेरिकालाई तथानाम गाली गरे । संयुक्त आक्रमणमा परी मरेका आप\mना दाजु बाइतुल्लाह महसुदलगायत धेरै समर्थकको स्मरण गर्दै हकिमुल्लाहले बदला लिई अमेरिकालाई तहसनहस पारिछाड्ने प्रतिबद्धता उनले भिडियोमा दोहोर्याए ।
‘तालिवानको दाबी झुटो’
न्युयोर्कको टाइम्स स्क्वायरमा फेलापारिएको कार बमकाण्डमा अलकायदाको हात नरहेको जनाइएको छ । न्युयोर्क प्रहरीप्रमुखका अनुसार बमकाण्डमा तालिवानी अलकायदाको हात छैन ।
विस्फोट कुनै श्वेत पुरुषले गराएको हुन सक्ने आशंका गरिएको छ । बमकाण्डमा पाकिस्तानी आतंककारी समूह तेहरिक-ए-तालिवानले गराएको भनेर इन्टरनेटमार्फत दाबी गरेको छ ।
अनुसन्धानका क्रममा तेहरिक-ए-तालिवानको दाबी झुटो भएको न्युयोर्क प्रहरीप्रमुखले बताएका हुन् । शनिबार कार बम फेला पारिएको थियो ।















































