सरकारलाई भारतको समर्थन

भुटान (थिम्पु), प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारलाई पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता भारतीय पक्षबाट व्यक्त गरिएको बताउनुभएको छ ।दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १६औँ शिखर सम्मेलनमा भाग लिन यहाँ आउनुभएका प्रधानमन्त्री नेपालले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग बिहीबार बिहानको भेटपछि पत्रकारहरूलाई सो कुरा बताउनुभएको हो । उहाँले नेपालमा पनि केही राजनीतिक पार्टीबाहेक सबै पार्टीको समर्थनप्राप्त आˆनो नेतृत्वमा गठित वर्तमान सरकारलाई भारत र अन्तर्राष्ट्रियजगत्को समेत सहयोग र समर्थन जारी रहने भारतीय प्रधानमन्त्री डा. सिंहले विश्वास दिलाउनुभएको स्पष्ट गर्नुभयो । भेटमा आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका समयमा भएका सहमति र सम्झौताको कार्यान्वयन प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने विषयमा समीक्षा भएको बताउँदै प्रधानमन्त्री नेपालले भन्नुभयो, “सौहार्दपूर्ण वातावरणमा भएको छलफलबाट दुई मुलुकको सम्बन्ध अझ सुमधुर बनाउन मद्दत पुगेको विश्वास मैले लिएको छु ।”

द्विपक्षीय व्यापार सम्झौता, वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचपोस्ट, विराटनगरको सीमा सुरक्षा जाँचपोस्टसम्बन्धी टेन्डरप्रक्रिया, बाग्मती नदी एकीकृत सुधार निर्माण अभियान र नेपालमा निर्माण गरिने सङ्ग्रहालयसम्बन्धी विषयमा समेत भारतीय प्रधानमन्त्रीसँग सकारात्मक रूपमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र घनिष्ठ तुल्याउन नेताहरूबीचको सम्बन्धलाई पनि आपसी विश्वासको वातावरणका आधारमा अझ दह्रो बनाउने सहमति कायम भएको प्रधानमन्त्री नेपालले बताउनुभयो ।

छलफलका क्रममा नेपालमा जारी शान्ति र संविधान लेखनप्रक्रिया कुन बिन्दुमा पुगेको छ भन्ने विषयमा आफूले भारतीय प्रधानमन्त्रीलाई जानकारी गराएको बताउँदै प्रधानमन्त्री नेपालले भन्नुभयो, “शान्ति, स्थायित्व र समृद्धिका साथ विद्यमान समस्या समाधानका लागि नेपालका राजनीतिक पार्टीहरूबीच सहमति र सहकार्य हुनुपर्ने सुझाव प्राप्त भएको छ ।”

प्रजातान्त्रिक पद्धतिलाई आत्मसात् गरी राजनीतिक समस्या हल गर्नुपर्छ भन्नेमा भारतीय प्रधानमन्त्रीले जोड दिनुभएको पनि उहाँले बताउनुभयो । एक प्रश्नको जवाफमा प्रधानमन्त्री नेपालले सत्तालाई केन्द्रमा राखेर गरिएको एकीकृत नेकपा -माओवादी) को अहिलेको आन्दोलनले अधिनायकवादलाई बढावा दिने बताउँदै भन्नुभयो, “जनभावनाविपरीत गरिएको यस किसिमको आन्दोलनले मुलुकलाई जटिलतातर्फ धकेल्नेछ, यसरी सत्ता प्राप्त गर्न र टिकाउन पनि सकिँदैन ।”

सार्कग्रामस्थित इन्डिया हाउसमा करिब आधा घन्टा भएको सो भेटवार्तामा नेपालका उपप्रधानमन्त्री सुजाता कोइरालासहित उच्च कूटनीतिक पदाधिकारी र भारतीय विदेशमन्त्री एसएम कृष्णालगायत उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

सार्क सम्मेलन सम्पन्न

थिम्पु,  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क) को दुईदिने १६औँ शिखर सम्मेलन भव्यताका साथ बिहीबार यहाँ सम्पन्न भएको छ ।
सम्मेलनको अन्त्यमा यहाँस्थित ग्रान्ड नेसलन एसम्बली भवनमा बिहीबार सार्क राष्ट्रका राष्ट्र तथा सरकारप्रमुखहरूले जलवायु परिवर्तनबारे थिम्पु वक्तव्य र थिम्पु रजत महोत्सव नामक घोषणापत्र जारी गर्नुभयो । आगामी १७औँ सार्क शिखर सम्मेलन माल्दिभ्सको राजधानी मालेमा सन् २०११ मा हुने भएको छ ।
सम्मेलनको समापन गर्दै सार्कका नवअध्यक्ष एवं भुटानका प्रधानमन्त्री जिग्मे वाई थिन्लेले सार्कलाई दक्षिण एसियाको आर्थिक विकासलगायतका विषयमा केन्दि्रत बनाउनुपर्नेमा जोड दिनुभयो ।
सार्क नेताहरूका तर्फबाट धन्यवाद ज्ञापन गर्दै माल्दिभ्सका राष्ट्रपति मोहम्मद नसिदले अर्को वर्ष माल्दिभ्समा हुने सार्कको १७औँ शिखर सम्मेलनमा सार्क नेताहरूलाई स्वागत गर्न आफू तत्पर रहेको बताउनुभयो । सार्क स्थापनाको २५ वर्षको इतिहासमा भुटानले पहिलोपटक आयोजना गरेको यो शिखर सम्मेलनले नेपालले उठाउँदै आएको जलवायु परिवर्तनको मुद्दालाई लिएर छुट्टै विशेष वक्तव्य जारी हुनु नेपालका लागि गौरवको विषय बनेको छ ।
सम्मेलनका अवसरमा यस क्षेत्रका ठूला राष्ट्र भारत र पाकिस्तानका नेताहरूबीच विगत नौ महिनादेखि हुन नसकेको वार्ताको प्रारम्भ हुनुले सम्मेलनलाई थप उपलब्धिमूलक तुल्याएको छ ।
सम्मेलनको उद्घाटन सत्रमा माल्दिभ्सका राष्ट्रपति मोहम्मद नसिदले भारत र पाकिस्तानबीचको सम्बन्धले सार्कको गति निर्धारण गर्ने हुनाले दुवै पक्षलाई वार्ताका लागि आग्रह गर्नुभएको थियो । सार्क शिखर सम्मेलन भव्यताका साथ सम्पन्न गरेर पहिलो पटक भुटानले आˆनो आतिथ्य क्षमता कुशलतापूर्वक प्रदर्शित गरेको छ ।
 

One Response to सरकारलाई भारतको समर्थन

  1. D'apc Thapa

    Ha ha ha…. feri 2-4 mantri haru ko kholti bharine bho…..

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s