न्याय खोज्दै पीडित महिला सदरमुकाममा
रुकुम, ८ वैशाख, अज्ञात समूहले रुकुमकी एक महिलालाई सामूहिक बलात्कार गरी सात लाख रुपैयाँ लुटेको छ । पीडित महिला न्याय खोज्दै सदरमुकाम खलंगा आएकी छिन् । काडा-२ की २९ वर्षीया सपना बुढा गत ३० चैत राति घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएकी हुन् ।
राति सुतिरहेका वेला ढोका फोरेर भित्र छिरेको हतियारधारी समूहले खुकुरी देखाएर सामूहिक बलात्कार गर्यो, सपनाले भनिन्, म बेहोस भएपछि ६ लाख ५० हजार नगद, डेढ तोला सुन र एकथान डिजिटल क्यामरा लुटेर लगेछन् । घटनापछि बेहोस अवस्थामा रहेकी सपनालाई छिमेकीको सहयोगमा इलाका प्रहरीचौकी रुकुमकोटले उद्धार गरेको थियो । आफूलाई छरछिमेकी र आफन्तले घटना सार्वजनिक नगर्न सल्लाह दिएकाले आजसम्म गुपचुप राखेको र पीडा सहन नसकेर घटना सार्वजनिक गर्न बाध्य भएको उनले बताइन् ।
उनले आफूलाई न्याए दिलाइदिन सञ्चारकर्मीसमक्ष अनुरोधसमेत गरेकी छिन् । आफू युनिटी लाइफ नामको संस्थामा कार्यरत रहेको र नयाँ सदस्यहरूबाट जम्मा गरेको शुल्क ६ लाख ५० हजार रुपैयाँ लुटेर लगेको उनले बताइन् । उनको घर खलंगाबाट दुई दिनको पैदल दूरीमा पर्छ । उनले जिल्लास्थित मानवअधिकारवादी संघसंस्था र पत्रकारसँग न्यायको अपिल गरिरहेकी छिन् । उनले आफ्नो नाम र तस्बिरसमेत प्रकाशित गरिदिन अनुरोध गरेकी छिन् । दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासी पनि सदरमुकाम आएका छन् । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
घटनास्थलबाट प्रहरीले सपनालाई गाली गरेर लेखेको एउटा पत्र फेला परेको जनाएको छ । पत्रमा लेखिएको छ, ‘सपना तँलाई हामी ठीक पारेरै छाड्छौँ, तैँले हामीलाई चिन्ने कुरै आउँदैन, तँ बाँच्ने सम्भावना पनि छैन । तँलाई यस्तो गर्ने युनिटी लाइफको स्टाफ भक्तबहादुर खड्का पनि हो ।’ सोही पत्रका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अझै राम्रोसँग बोलचाल गर्न नसक्ने सपनाको स्वास्थ्यस्थिति बिग्रेको छ । तर, उपचार पाएकी छैनन् । उनका शरीरभरि बाँधेका नीलडाम छन् । प्रहरीले उनलाई बलात्कार गरी हत्या गर्ने प्रयास भएको जनाएको छ ।
Source : Naya Patrika















































