
उदार उद्यमी उपेन्द्र महतो
वर्ष २०६६ नेपाली राजनीतिका लागि सुखद रहेन । अरू क्षेत्रमा पनि खासै उत्साह देखिएन । तर, गैरआवासीय नेपाली उद्यमी उपेन्द्र महतो भने धेरै उत्साही देखिए, जसले सामाजिक कार्यका लागि मात्रै नेपालमा करिब १७ करोड रुपियाँ खर्च गरे । र, त्यो सहयोग थियो- आफ्नी आमाको नाममा रहेको फूलकुमारी महतो मेमोरियल ट्रस्ट र व्यक्तिगत हैसियतको । सिराहाको कर्जन्हामा सात करोडको अस्पताल, समता शिक्षा निकेतनका देशभरि नौवटा स्कुल निर्माणका लागि ३ करोड ६० लाख, पशुपतिमा किरियापुत्री भवन निर्माणका लागि तीन करोड र धुलिखेलमा पतञ्जलि योगपीठको योग भवन निर्माणका लागि दुई करोड रुपियाँ दिएर महतो कल्याणकारी कार्यका लागि एक वर्षमै सबैभन्दा धेरै रकम दिने नेपालीमा दरिन पुगेका छन् । व्यावसायिक रूपमा नेपालमा काम थालेयता २१ करोड रुपियाँ सामाजिक क्षेत्रमा लगाइसकेका छन् उनले । सम्भवतः यो पनि एउटा कीर्तिमान हो ।
हो, व्यवसायीको सामाजिक उत्तरदायित्व हुन्छ र व्यक्तिको पनि । उपेन्द्र महतो पनि त्यसको अपवाद हुन सकेनन् । त्यसैले समाजसेवामा सहयोग गरेर त्यही दायित्वलाई पूरा गरिरहेको ठान्छन् । भन्छन्, “समाजले दिएको छ भने समाजलाई पनि दिनुपर्छ । त्यसैले, कुनै न कुनै रूपमा समाजले लगाएको ऋण चुक्ता गर्ने प्रयत्नमा छु र यसबाट मलाई खुसी, आत्मविश्वास र आत्मसम्मान प्राप्त हुन्छ ।”
सामाजिक कार्यको पाटो त छँदैछ, आफू र आफ्नो समूहको करिब २० करोड अमेरिकी डलर -करिब १४ अर्ब रुपियाँ) नेपालमा लगानी रहेको बताउने उनी तरल राजनीतिक अवस्थामा पनि मुलुकमा लगानी गर्न हौसिएका छन्, विदेशी लगानीकर्ताहरूलाई पनि आकषिर्त गराउँदै। ‘मेरो मोबाइल’बाट भर्खरै ‘एनसेल’मा परिणत भएको उनको लगानी रहेको मोबाइल सेवा प्रदायक स्पाइस नेपालमा यस वर्ष करिब १ अर्ब ४० करोड रुपियाँ थप लगानी हुँदैछ। खासगरी खराब राजनीतिक अवस्था र अन्योलका बाबजुद पनि उनी नेपालमा लगानी गर्न र गराउने ध्याउन्नमै देखिन्छन्। अहिले काठमाडौँ-वीरगन्ज विद्युतीय रेलमार्ग र दुईदेखि पाँच हजार मेगावाटसम्मका जलविद्युत् उत्पादन गर्ने योजनामा उनको आँखा गढेको छ। भन्छन्, “यी आयोजनाहरू अबको पाँच वर्षभित्र कार्यान्वयनमा गइसक्नुपर्छ।” शिक्षा र स्वास्थ्यका क्षेत्रमा पैसा विदेशिइरहेको पनि उनलाई चित्त बुझेको छैन। र, जुनसुकै बेला पनि यसमा हात हाल्न सक्छन् उनी।
गएकै वर्ष गैरआवासीय नेपाली संघको अध्यक्षबाट स-सम्मान बिदा भएका महतो संसारभरि छरिएर रहेका नेपालीहरूलाई एकै सूत्रमा बाँध्ने त्यस अभियानका नेतृत्वकर्ता पनि हुन्। आठ वर्षअघि उनको नेतृत्वमा सुरु भएको यो अभियान अहिले विश्वका ५५ मुलुकमा फैलिएको छ, जसमा जात-जाति, भाषा-भाषीको विभाजन छैन। सबै नेपालीका रूपमा एकताबद्ध छन्। यस अर्थमा नेपालीहरूलाई एकताको सूत्रमा बाँध्न उनको कसैभन्दा कम योगदान र समर्पण छैन।
यिनै कारणले गर्दा उपेन्द्र महतो नेपाल वर्षव्यक्ति ०६६ चुनिएका हुन् ।
राजनीतिका केन्द्र
सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षभरि नै नेपाली राजनीतिको मूलधारलाई जसरी आफ्नो वृत्तमा परिक्रमा गराइरहे, त्यसबाट यिनको राजनीतिक तीक्ष्णता र चनाखोपनको प्रकटीकरण भयो। यिनी सत्तासीन हुँदा होस् या सत्ताहीन हुँदा, एकनास चर्चामा रहिरहे। यिनलाई बिर्सेर नेपाली राजनीति एक निमेष पनि घुमेन, त्यसैले।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
क्रमभंगताका पर्याय
रामचन्द्र पौडेल
कहलिएका र कुनै समय बेग्लै दल खोलेर पनि राजनीतिमा आफ्नो पृथक् भूमिका प्रमाणित गरेका शेरबहादुर देउवालाई नेपाली कांग्रेस संसदीय दलको नेतामा हराएर रामचन्द्र पौडेलले कांग्रेसभित्र आफू लोकपि्रय रहेको पुस्ट्याइँ गरे। सधँै सन्तुलित रूपमा प्रस्तुत हुने पौडेल त्यस चुनावमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको इच्छाविपरीत प्रस्तुत भएका थिए। नेता चुनिएपछि यिनले संसदीय दललाई छलफल र बहस गर्न क्रियाशील बनाए, त्यसैले।
समीकरणका सारथि
खरो र स्पष्ट अभिव्यक्तिका कारण नेकपा एमालेका नेता केपी शर्मा ओली माधव नेपाल नेतृत्वको सत्ता-समीकरण निर्माण र त्यसको निरन्तरताका लागि बलियो खम्बाका रूपमा देखिए। नेपाली राजनीतिको समग्र फाँटमा वर्षभरि यिनको छवि यथावत् स्थापित भई नै रह्यो, त्यसैले।
केपी ओली
सतर्क सहयोगी
छत्रमानसिंह गुरुङ
नेपाली सेनाको नेतृत्वमा निश्चित समुदायका व्यक्ति मात्र पुग्ने परम्परा तोड्दै पहिलोपटक पृथक् समुदायका छत्रमानसिंह गुरुङ प्रधानसेनापति भए। सादा व्यक्तित्व र स्पष्ट विचारका सेनापति गुरुङ नेपाली सेनाको व्यावसायिकताप्रति सतर्क देखिन्छन् र शान्ति प्रक्रियामा अवरोध पनि बन्न चाहँदैनन्, त्यसैले।
राष्ट्रका गौरव
दीपक विष्ट
नेपाली खेलकुदका नाम चलेका खेलाडीहरूले पराजयको तीतो अनुभूति गरिरहेका बेला तेक्वान्दो खेलाडी दीपक विष्टले चामत्कारिक उपलब्धि दिएर आफ्नो र खेलकुद क्षेत्रको मात्र होइन, देशकै नाम राखे। पछिल्लोपटक यिनले बंगलादेशुमा आयोजित ११औँ दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोमा स्वर्ण पदक जिते। योसहित यिनले लगातारका चारवटा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेर कीर्तिमान राख्दै मुलुकको शान उँचो पारे, त्यसैले।
सुधारका सहजकर्ता
दीनबन्धु पोखरेल
परम्परागत धार्मिक अनुष्ठानहरूलाई सामाजिक कार्यमा प्रयोग गर्न सिपालु दीनबन्धु पोखरेलले धर्मका माध्यमबाट सामुदायिक विकासका लागि उदाहरणयोग्य काम गरेका छन्। पुराणवाचनमार्फत यिनले विद्यालय, अस्पताल र सडक निर्माणजस्ता विकासका कार्यमा सहयोग पुर्याएका छन्। पछिल्लो समय त यिनले धर्म नमान्ने दाबा गर्ने एकीकृत नेकपा माओवादीको स्वामित्वमा रहेको जनमैत्री अस्पतालका लागि पनि पुराण लगाएर रकम जुटाइदिए, त्यसैले।
उदाहरणीय कर्मशील
उत्तम सञ्जेल
सरकारी र निजी विद्यालयहरूको गुणस्तरमा वर्षौंदेखि खिचिँदै आएको सीमारेखालाई नामेट पार्ने काम गरेका छन्, शिक्षासेवी उत्तम सञ्जेलले। नौ वर्षअघि ८ सय ५० विद्यार्थीसहित समता शिक्षा निकेतनको स्थापना भए पनि अहिले देशभरमा विद्यालय संख्या ११ पुगेको छ भने विद्यार्थीहरू १८ हजार। गएको वर्ष मात्रै थप नौवटा विद्यालयको शिलान्यास भएको छ र स्नातक तहसम्मको कलेज स्थापना अन्तिम चरणमा छ। शिक्षाको उज्यालोबाट वञ्चित परिवारका बालबालिकालाई नाम चलेका निजी विद्यालयहरूकै स्तरमा शिक्षा प्रदान गरिरहेका छन् यिनी, प्रतिविद्यार्थी प्रतिमहिना एक सय रुपियाँमा। शिक्षाप्रतिको यो सेवाभाव आफैँमा एउटा उदाहरण पनि हो र यस्तो खालको अपूर्व योगदान पनि, त्यसैले।
सम्पदाका साथी
रवीन्द्र पुरी
नेपाली वास्तुकला संरक्षण गर्ने अभियानमा लागेका रवीन्द्र पुरीलाई सम्पदाप्रति यति चिन्ता छ कि भनिसाध्य छैन। गएको वर्ष यिनले भक्तपुर र पनौतीका गरी तीनवटा जीर्ण घरलाई पूरै नयाँ स्वरूप मात्रै दिएनन्, सम्पदा संरक्षणका अरू थुप्रै गतिविधिमा पनि यिनको क्रियाशीलता रह्यो। त्यतिले नपुगेर यिनले आफ्नो कुल सम्पत्तिको आधा सम्पदा संरक्षणमै लगाउने सार्वजनिक प्रतिबद्धता नै व्यक्त गरे, त्यसैले।
अब्बल नायिका
रेखा थापा
नेपाली चलचित्रले कोरेको अघोषित सीमाभित्र सीमित छैनन् नायिका रेखा थापा। मिहिनेत, आत्मविश्वास र उदार व्यवहारका कारण यिनलाई चलचित्र क्षेत्रले त नजिक राखेर सम्भिmयो नै, सँगसँगै उनी आन्दोलन र राजनीतिज्ञसँग पनि जोडिइन्। वर्षको अन्त्यतिर आउँदा उनले निर्माण र अभिनय गरेको चलचित्र हिफाजतले हिन्दुवादीहरूको ध्यान खिच्यो। सुन्दरता, महँगो पारिश्रमिक, नयाँ-नयाँ चर्चाको खेती गर्न सक्ने खुबीका कारण रेखा चलचित्र वृत्तमा अब्बल मानिन्छिन्। पछिल्लो समय सबैभन्दा बढी विदेशी मञ्चमा देखिने नायिकाका रूपमा पनि उनै गनिन्छन्, त्यसैले।
उदीयमान नेपाली
प्रवल गुरुङ
नेपाली युवामा निहित आकांक्षा, क्षमता र समर्पणका वैश्विक प्रतिविम्ब बनेका छन् प्रवल गुरुङ। अमेरिकामा बस्ने फेसनका यी व्यावसायिक डिजाइनरका पहिरनहरूलाई अमेरिकी राष्ट्रपतिकी पत्नी मिसेल ओबामा मात्रै होइन, हलिउड कलाकार र मोडलहरूले पनि रूचाएका छन्। परिणाम, यिनी विस्तारै अन्तरर्ष्ट्रिय ग्ल्यामरको क्षितिजमा चम्कन थालेका छन्, त्यसैले।
गैरराजनीतिज्ञहरूको बाहुल्य
सम्भावनाको नयाँ क्षितिजतर्फको संकेत
रमण घिमिरे
देश अस्थिर राजनीतिको चरम अधोगतितिर लागिरहेको थियो। शान्ति, संविधान र स्िथरताको नाराले राजनीतिक वृत्तमा बेलाबेला उथलपुथल ल्याए पनि वास्तविकता निराशाजनक थियो। वर्ष ०६६ राजनीतिका लागि सर्वाधिक अलोकपि्रय र उपलब्धिहीन भएर बित्यो। यस वर्षको अन्त्यताका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाको देहावसानले यस पक्षलाई अझ निराश र उदासीन अवस्थातिर धकेल्यो।
तर, राजनीतिको मूलप्रवाहबाट पृथक् रहेर पनि केही नामहरू आफ्नो योगदानमार्फत राष्ट्रलाई समृद्धि र उपलब्धिको मोडतिर डोर्याइरहेका थिए। “राजनीतिले निराश पारेका बेला पनि उपेन्द्र महतो आफ्नो उद्यमशीलतामा निरन्तर लागिरहे,” मोरङका लीला भण्डारी लेख्छन्, “उनी कमाउने व्यवसायमा मात्र होइन, शिक्षा, स्वास्थ्य र अन्य परोपकारी कार्यमा यस वर्षभर िनै क्रियाशील रहे।”
सत्ता र कुर्सीमोहको भिडन्तमा रातदिन भिडन्त गररिहेका नेताहरूको चरत्रिसँग उपेन्द्र महतोजस्ता अन्य समाजसेवीहरूको योगदानको मूल्यांकन गर्ने हो भने यस देशको समृद्धि र विकासका लागि निराश भइहाल्नुपर्ने स्थिति छैन। हामीमाझ आज पनि त्यस्ता नामहरू छन्, जसका कारण यो देशले अझै गौरव गर्छ।
हामीले आफ्नो योगदान र उपलब्धिका आधारमा ०६६ साललाई सबैभन्दा बढी प्रभाव पार्ने व्यक्ति छनोट गर्न आमपाठकमाझ आह्वान गरेका थियौँ । त्यसैका आधारमा एक जना वर्षव्यक्ति र १० उल्लेख्य अनुहार छानेका छौँ। पाठकको अभिमत र नेपालको सम्पादकीय समूहको निर्णयबाट छानिएका यी व्यक्तिहरू राजनीति र सामाजिक जनजीवनका विभिन्न क्षेत्रसँग सम्बद्ध छन्।
यस अभिमतमा उद्यमी उपेन्द्र महतो सर्वाधिक पाठकको छनोटमा परेका छन्। जनकपुरका रामजनम साह लेख्छन्, “उपेन्द्र महतोजस्ता समाजसेवीकै कारण यो देशको छवि अझै उज्ज्वल छ।” अधिकांश पाठकले महतोको नाम समाजसेवी र उद्यमीका रूपमा छनोट गरेका छन्। 
समता शिक्षा निकेतनका सञ्चालक उत्तम सञ्जेललाई पनि धेरै पाठकले स्मरण गरेका छन्। उनले सञ्चालन गरेको निकेतनले प्राथमिक कक्षादेखि माध्यमिक तहसम्म कम शुल्कमा आधुनिक शिक्षा प्रदान गररिहेको छ। युवराज न्यौपाने ईमेलमा लेख्छन्, “उनको तुलना कुनै राजनीतिज्ञसँग हुन सक्तैन।” उनले यस कोटिको योगदान पुर्याइरहेका छन्।
राजनीतिको गति जहाँ र जतासुकै मोडियोस्, केही व्यक्तिका लागि यो अनर्थ लेख थियो। किनभने, उनीहरू सिर्जनशील थिए, कर्मवीर थिए र योगदानहरूको समुद्रमा उपलब्धिको मोती टिपिरहेका थिए। उनीहरूलाई न विचलनको हावाले छोयो, न त अव्यवस्थाको आँधीले नै रोक्यो। उनीहरू आफ्नो कर्म क्षेत्रमा भिडिरहे, भिडिरहे र राष्ट्रलाई पहिचानयुक्त उपलब्धिको मोडमा उभ्याए। त्यसैले आशिष जोशी भन्छन्, “दीपक विष्ट यो देशको हीरो हो।” जोशीका पछाडि यसो भन्नुका प्रशस्त आधारहरू पनि छन्। देशको खेलकुद गतिविधिले बदनामीको माला भिररिहेको अवस्थामा विष्ट एक्लैले ‘साग’ खेलकुदमा लगातार चौथोपटक तेक्वान्दोमा स्वर्णपदक जितेर देशको इज्जत र वर्चस्वलाई जीवन्त राखे।
यस जनमतमा विश्वसाइकल-यात्री पुष्कर शाह, सबैभन्दा होचा खगेन्द्र थापा मगर, युवा राजनीतिज्ञ गगन थापा, प्रकाशमान सिंह, पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, प्रधानमन्त्री माधवकुमार नेपाल, धावक राजेन्द्र भण्डारी, पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, महावीर पुन, रंगकर्मी सुनील पोखरेल आदिका नाम उल्लेख गरेका छन्।
यसमध्ये पनि एक दर्जनजति पाठकले स्व गिरजिाप्रसाद कोइरालाको नाम उल्लेख गरेका छन्, उनको परपिक्व अभिभावकत्व र निर्भीक स्वभावका लागि। काठमाडौँका बलराम मायालुले उनलाई ‘नेपाली राजनीतिको मियो’ भन्दै ‘दृढ इच्छाशक्ति’ भएको राजनीतिज्ञका रूपमा अभिमत प्रकट गरेका छन्।
अघिल्ला दुई वर्षहरूको ठीकविपरीत अभिव्यक्त भएको छ, यसपटकको अभिमत। ती दुई वर्षमा पाठकको विशेष रुचि राजनीतिक व्यक्तित्वप्रति थियो भने यसपटक त्यसको विपरीत मत जाहेर भएको छ। यसपटक पाठकको आस्था राजनेताभन्दा अरूप्रति प्रवल देखिएको छ। यसै आधारमा छानिएका नाममध्येका हुन्, आध्यात्मिक भावनाबाट अभिभूत भई समाजसेवाप्रति निष्ठापूर्वक लागेका दीनबन्धु पोखरेल। सायद, राजनेताप्रति पाठकहरूको अभिमत नआएका कारण अन्योलमा रहेको राजनीतिक अवस्था हुन सक्छ।
तर, गत वर्षकै पाठकको रुचिमा परेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड यसपटकका पाठकले पनि छानेका छन्। प्रचण्ड एक जना मात्र अपवाद हुन्, बाँकी यस वर्षका छनोटमा परेका सबै नामहरू नयाँ छन्। पेसाका आधारमा यस कुराको मूल्यांकन गर्ने हो भने गत वर्ष ‘समाचार निर्माता’, जो यसपटकदेखि ‘उल्लेख्य अनुहार’मा परण्ित भएको छ, मा छानिएका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल र यसपालिको अभिमतमा छानिएका वर्तमान प्रधानसेनापति छत्रमानसिंह गुरुङको आधार एउटै लाग्छ। जनताका छोरा दोस्रोपल्ट यति उच्च पदमा पुग्नुको खुसी व्यक्त गरेका हुन सक्छन्, जनताले। अथवा एउटा संयोग मात्र पनि। तर, अभिमतको यथार्थ निरन्तर दुई वर्ष सेनाका प्रमुख व्यक्ति छानिएका छन्, योचाहिँ सत्य हो।
यस जनमतमा व्यक्तिका नामले के पनि अर्थ राख्छ भने अब देशलाई समाजसेवा र उद्यमशीलताका माध्यमले योगदान पुर्याउनेहरू जनतामाझ बढी लोकपि्रय हुँदैछन् र जनताले साँचो अर्थमा उनीहरूको मूल्यांकन गर्न थालेका छन्। दीनबन्धु पोखरेलप्रति मत जाहेर गर्दै रामेछापका श्याम घिमिरे भन्छन्, “आध्यात्मिक भावनाबाट अभिप्रेरति भई समाजसेवामा उल्लेख्य योगदान पुर्याउने दीनबन्धु पोखरेल समाजकै लागि उदाहरणीय व्यक्तित्व हुन्। उनकै पक्षमा नामांकन गर्ने अछामका रवि तिमिल्सिनाका भनाइ पनि उल्लेख्य छन्। उनी लेख्छन्, “धर्मका नाममा ठगी गर्नेहरूको भीड बढिरहेको यस अवस्थामा दीनबन्धुले गरेको समाजसेवा स्तुत्य छ।”
महिलामध्येबाट सिने अभिनेत्री रेखा थापा छानिनुले नेपाली चलचित्रको अवस्था लोकपि्रय भई नसके पनि केही कलाकारहरू आमजनतामाझ पि्रय छन् भन्ने सन्देश दिन्छ। रेखाको कुनै पनि चलचित्र नछुटाई हेर्ने गौशाला, काठमाडौँकी सुनीति शर्मा लेख्छिन्, “उनी प्रचण्डसँग नाचेर मात्र लोकपि्रय भएकी होइनन्, उनी अभिनेत्रीमध्येकै अब्बल स्तरको अभिनय गर्ने कलाकार हुन् ।” रेखाले यसपटक समग्र नेपाली महिलाको पनि प्रतिनिधित्व गरेकी छन्।
समग्रमा, यसपटकको पाठकको अभिमतले राजनीतिकभन्दा गैरराजनीतिक क्षेत्रलाई महत्त्व दिएको छ । यसको अर्थ हो, नेपाली समाज भनिएजस्तो निराश भएको छैन । आशा र सम्भावनाका किरणहरू अझै क्षितिजमा देखिन्छन् ।
साभार : मेरो संसार













































